आकाशैमा सलह सलल



नेपाली आकाशमा सलहको प्रवेशसँगै यसले चिन्ता बढाएको छ । पूर्वी अफ्रिकाबाट नेपाल भित्रिएको सलहले नेपाली किसानहरुलाई चिन्तामा पारेको छ । पाकिस्तान, भारत हुँदै नेपाल आइपुगेको सलह अर्को समस्या बनेको छ । आकाशै ढाकिने गरी कीरा आउँदा किसनको चिन्ताको पारो बढ्दै गइरहेको छ । सरकार र स्थानीय निकाय अन्यौलतामा छन् ।
लामो समयदेखि लकडाउनबाट प्रभावित भएका किसानहरु हावा–हुरी, असिना–पानीसहितका प्रकोपका कारण केरा खेती, मकैबाली, तरकारी खेती, फलफूल खेतीमा समेत नराम्रो नोक्सानी बेहोरिरहेका छन् । उनीहरुलाई सलह कीराले अनिकाल निम्त्याउने चिन्ता बढेको निजगढका किसान रामप्रसाद खत्री बताउँछन् । सलह कीराले बालीनालीमा आक्रमण गरेको वर्ष अन्नबालीलगायत अन्य बालीनाली भित्र्याउन नसकिने किसानहरुको बुझाइ छ ।
यसले अनिकालसम्मको खतरा बढाएको भन्दै सलहलाई बेलैमा नियन्त्रण गर्न सम्बन्धित निकायले तत्काल कदम उठाउन किसानले गुहारिरहेका छन् । उड्ने प्रजातिका कीराहरुमा सबैभन्दा द्रुत गतिमा टाढा–टाढासम्म उड्ने यस सलहलाई अहिले थोरै संख्यामा भित्रिएकै बेला नियन्त्रण गर्न सकिने भए पनि अझै ठूलो संख्यामा भित्रियो भने नियन्त्रणमा लिन गाह्रो हुने विज्ञहरुको बुझाइ छ । सलह जिल्लाको निजगढ, सिमरा, रतनपुरी, डुमरवाना, मनर्हवालगायतका स्थानमा देखिएको छ ।
अहिले कीराको संख्या, फैलावट र क्षतिबारे यकिन गर्न नसकिए पनि यसको उपस्थिति न्यून रहेको र प्रदेश २ मा मनसुन शुरु भइसकेकाले यसको थप प्रवेश र फैलावट कम हुने विश्वास गरिएको छ । मरुभूमि क्षेत्रमा यसको प्रकोप बढी हुने हुँदा नेपालमा भने यसको वृद्धि त्यतिसारो नहुने विज्ञको धारणा छ ।
सलह एक–दुई घण्टामै एक ठाउँबाट अर्को ठाउँ सरेका छन् । जसले गर्दा क्षतिको यकिन हुन गाह्रो भएको छ । यही आइतबार–सोमबारदेखि केही यकिन गर्न सकिन्छ । सूर्यास्त हुँदा सलहले रूखबिरुवालगायतका स्थानमा आश्रय लिन्छ । यसले बिहान सूर्योदयपछि १–२ घण्टा घाम तापेर सक्रिय भई आहाराका रुपमा हरियो वस्तु खाने गर्छ ।
– रामप्रसाद चौधरी, सिरहा ।

 

प्रतिक्रिया दिनुहोस्