सिटी एफए कपको सेमिफाइनलमा



लन्डन, (एजेन्सी)

गत संस्करणको विजेता म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा पुगेको छ । आइतबार राती सेन्ट जेम्स पार्कको मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई २–० ले हराएको हो । केही गोल गर्ने अवसर गुमाएको सिटीले पेनाल्टी किकबाट गोलको खाता खोलेको थियो ।

केभिन डि ब्रुएनले ३७औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । योसँगै उनको यस सिजनमा व्यक्तिगत १२ गोल भएको छ । न्युक्यासलका फाबिएन स्कारले सिटीका गेब्रियल जिससलाई अनावश्यकपरूमा दुवै हातले घचेटेपछि सिटीलाई पेनाल्टी प्राप्त भएको थियो ।

न्युक्यासलले पहिलो हाफको दाँजोमा दोस्रो हाफमा निकै राम्रो खेलेको थियो । तर गोल भने गर्न सकेन, जसमा ६ यार्डको दूरीमा पाएको अवसरलाई ड्विट गेलले खेर फालेका थिए । उनको प्रहार आकासिएको थियो । यसको दुई मिनेटपछि सिटी अग्रता लिन सफल भयो ।

रहिम स्टर्लिङले ६८औं मिनेटमा करिब २० यार्डबाट हानेको घुमाउरो प्रहार गोलमा परिणत भएको थियो । उनको यो यस सिजनको व्यक्तिगत २२औं गोलसमेत थियो । स्कार र गेलको गल्तीको कारण न्युक्यासलले जित्न सक्ने खेल पनि हार्नुपरेको थियो । यो नतिजापछि सिटीले एफए कपमा लगातार १० खेलमा जितको यात्रा कायम गरेको छ ।

सिटीले यस सिजनमा प्रिमियर लिग उपाधि रक्षा गर्न असफल भएको छ । सो लिग उपाधि लिभरपुलले जितेको छ । तर सिटीले यस सिजनमा पहिल्यै लिग कप जितेको छ । त्यस्तै टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा राम्रो अवस्थामा छ । यदि एफए कप र च्याम्पियन्स लिगमा उपाधि जित्न सकेमा पेप गार्डिओलाका लागि यस सिजन स्मरणीय बन्न सक्नेछ ।

योसँगै एफए कपको सेमिफाइनल समीकरण पूरा भइसकेको छ । म्यानचेस्टरका दुवै टोली म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड, आर्सेनल र चेल्सी अन्तिम चारमा पुगेका हुन् । जुलाईको १८ र १९ मा अन्तिम चारका खेल हुनेछ भने अगस्ट १ मा फाइनल खेल हुनेछ । यी तीनैवटा खेल वेम्बलीमा हुनेछन् ।

सिटीले आर्सेनलसँग र युनाइटेडले चेल्सीसँग खेल्नेछ । यी चारै टोलीमा आर्सेनलले सर्वाधिक १३ पटक एफए कपमा उपाधि जितेको छ । त्यस्तै युनाइटेडले १२ पटक, चेल्सी र सिटीले ८/८ पटक जितेको छ । यदि युनाइटेडले यसपटक जित्न सकेमा आर्सेनलको कीर्तिमानी उपाधि बराबरी गर्नेछ । यसअघि अघिल्ला खेलहरूमा युनाइटेडले नर्भिच सिटीलाई, चेल्सीले लेस्टर सिटीलाई र आर्सेनलले शेफिल्ड युनाइटेडलाई हराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्