जनता कहिलेसम्म चुप ?



नेपालमा संघीयताको शुरुवात भएको धेरै भएको छैन । नेपालको संविधान २०७२ अनुसार नेपालमा संघीयता कार्यान्वयनमा आएको छ । नेपाली जनताको लामो बलिदानी र देशको चुनौतीपूर्ण राजनीतिक परिवर्तनपछि शुरु भएको नयाँ व्यवस्थाप्रति जनता निकै आशावादी थिए ।

गाउँ–गाउँमा सिंहदरबारको नारा दिएर शुरु भएको संघीयताले जनतालाई अझैसम्म प्रत्यक्ष छुन सकेको छैन । न त बेरोजगार युवाहरु विदेशिने क्रम रोकियो, न देश नै समृद्धिको दिशामा अघि बढ्यो । देशभित्र रहेका प्राकृतिक स्रोत–साधनको उपयोग पनि हुन सकेन । न त पर्यटनको राम्रो उदय नै हुन सक्यो ।

देश अझै पनि राजनीतिक खिचातानीमै रुमल्लिरहेको छ । सरकार दिन–प्रतिदिन भ्रष्ट भइरहेका समाचारहरु जनतासम्म पुगिरहेका छन् । स्थानीयस्तरमा सबैतिर कुनै पनि खालको रचनात्मक काम हुन सकेको देखिँदैन । सांसद र जनप्रतिनिधिको मात्रै सुविधा बढाउन लागिपरेको देखिन्छ ।

यतिका धेरै सांसदहरु पाल्न युवा सधैँ विदेशिनुपर्ने युगको अन्त्य कहिले हुने हो ? कुनै अड्कल गर्न सकिन्न । जताततै भ्रष्टाचार र अनियमितताका खबरहरुले अखबारका पानाहरु रंगिनेबाहेक जनताको जीवनमा कुनै परिवर्तन देखिँदैन ।

देश र जनताप्रति उत्तरदायी सरकारहरु जबसम्म हुन्नन् तबसम्म देश बन्छ भन्नु मूर्खता र दिवास्वप्नबाहेक केही हुन सक्दैन । पछिल्लो समय विश्वभर देखिएको कोरोना महामारीका कारण देशको भित्री कथा बाहिर आएको छ ।

करिब ३ महिना देश लकडाउनमा रहँदा जनता जोगाउन सरकारले देखाएको जागरुकताबाट प्रस्टै हुन्छ कि जनताबाट कर उठाएर जनताको आँखामा छारो हाल्न मात्रै प्रयोग गरिने रहेछ । न कतै राहत, न कुनै स्वास्थ्य क्षेत्रमा सुधार, न कुनै जनमुखी योजना । सरकार बेसारे गफ हानेर बस्ने र जनता सामाजिक सञ्जालमा तिनै बेसारे गफलाई फोटोमा प्रयोग गरेर सिर्जनशीलता देखाइरहेका छन् ।

देशमा अनेकौँ सामाजिक विभेद युगौँदेखि उस्तै छन् । परिवर्तनको दृष्टिकोणबाट हेर्ने हो भने सबैभन्दा परिवर्तन नेताको जीवन शैलीमा मात्रै छर्लंगै देख्न सकिन्छ । वर्षौं जेल बसेकाहरु काठमाडौंको मुटुमै महल खडा गरेर बसेका छन् ।

सुकुम्बासी बस्तीबाट चप्पल पट्काउँदै राजधानी छिरेकाहरु अर्बौंका मालिक भएर बालुवाटार खरिद गर्ने हैसियतमा पुगेका छन् । यी र यस्ता हजारौँ उदाहरण छन् देशमा भइरहेका विकृति र विसंगतिका तर पनि हामी जनता चुपचाप सहन्छौैँ ।

प्रश्न हैन, चाकडीमा विश्वास गर्छौं । काम हैन, गफमा विश्वास गर्छौं अनि देश बिग्रियो भयो भनेर नेतालाई सराप्छौं । यसरी जनताको जीवनमा परिवर्तन हैन अझै झन् गरिबी आउनेछ । अब हामी जनता जागरुक हुने बेला आएको छ ।

राजनीति गर्नेहरुले जनताप्रति उत्तरदायी हुनुपर्छ भनेर आवाज उठाउनुपर्दछ । नत्र भने जनता कराउने र नेता एवं भ्रष्टहरु रमाउने लुकामारीमै हाम्रो जीवन समाप्त हुनेछ । त्यसैले अब बोल्ने पालोे हो । सबै बोलौँ, आवाज उठाऔँ, खबरदारी गरौँ ।
– क्रान्ति वज्राचार्य, काभ्रे ।

प्रतिक्रिया दिनुहोस्