बुहारी हत्या: आर्थिक प्रलोभन र यौन दुर्व्यबहार कारक



हेटौंडा, (नेस)
हेटौंडा–४ सूर्यचोककी करिब २६ वर्षीया सुस्मिता केसी (थापा) को हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार अभियुक्तलाई मकवानपुर प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

हत्यामा उनकै परिवारका सदस्यको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको होे । सुस्मितालाई ससुरा ५८ वर्षीय प्रकाश थापा, कान्छी नन्द २३ वर्षकी सीता थापा, जेठी नन्द २७ वर्षकी दुर्गा थापा र सासू ५० वर्षकी तुलसा थापा मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आर्थिक प्रलोभनका कारण परिवारकै सदस्यले सुस्मिताको हत्या गरेको अनुसन्धानबाट खुलेको हो । ‘घटना घटेको दिन जेठी नन्द दुर्गा काठमाडौं गए पनि घटनामा उनी पनि संलग्न भएको देखिन्छ ।’ –प्रहरी उपरीक्षक राठौरले भन्नुभयो ।

मृतकका ससुरा र नन्द सीतालाई असार ४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसूर मुद्दामा अनुसन्धान प्रक्रिया शुरू गरेको प्रहरीले दुर्गालाई काठमाडौंबाट र सासूलाई केही दिनपछि पक्राउ गरेको थियो ।

प्रहरीले आर्थिक, मानसिक र यौनजन्य हिंसापश्चात् सुनियोजितरूपमा परिवारबाटै हत्या भएको निष्कर्ष निकालेको छ । प्रहरीले १३ दिनको अनुसन्धानपश्चात् घटनाको टुंगो लगाएको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्