सलह भगाउने उपाय अपनाउँदै किसान



कविराज नेपाल, पाल्पा

शनिबारदेखि पाल्पामा आएको सलह कीरा नियन्त्रणका लागि किसानले विभिन्न उपाय अपनाउन थालेका छन ।
कृषि विज्ञले दिएको सुझावकै आधारमा किसानहरुले थाल, टिन, वाद्ययन्त्र वा त्यस्तै आवाज आउने वस्तु ठटाउने, धूवाँ आउने गरी आगो बाल्ने, होहल्ला गर्ने, बालीनालीलाई झुल कपडा आदिले ढाक्नेलगायतका उपाय अपनाएका हुन् ।
शनिबार दिउँसो छिमेकी जिल्ला रुपेन्देही, नवलपरासी र कपिलवस्तुमा देखा परेको विनाशकारी कीरा सलह पाल्पामा पसेको थियो । आइतबार र सोमबारसम्म जिल्लाका तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, माडीफाँट, बगनासकाली, माथागढी तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकालगायतका स्थानमा सलह देखिएको स्थानीयले बताएका छन् ।
सलह कीरा तिनाउ गाउँपालिका–३ झ्यामरुङमा बढी देखा परेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । ज्ञान केन्द्रका प्रमुख अर्यालले आफूसहितको प्राविधिक टोलीले उक्त स्थानमा धेरै ठूलो संख्यामा सलह देखेको बताउँदै कृषकले लगाएको मकै र तरकारी बालीमा क्षति पु¥याएको बताउनुभयो ।
सलह साल, आँप, दबदबेजस्ता अग्ला र ठूला रुखहरुमा बसिरहेकाले नियन्त्रण गर्ने वा मार्ने उपाय भने नरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सलह कीरा नियन्त्रणका लागि धूवाँ उडाउने, टिन ठटाउने, ठूलो आवाज निकाल्ने जस्ता गतिविधि गर्न कृषकलाई आग्रह गरिएको छ ।’
प्रमुख अर्यालले भनेजस्तै बालीनाली जोगाउनका लागि धूवाँ उडाउने, टिन ठटाउने, ठूलो आवाज निकाल्ने गरिएको तानसेन नगरपालिका काजीपौवाका कृषक गोविन्द घिमिरेले बताउनुभयो । उहाँले उडेर आएको खेतबारीमा बस्न नदिन र सलहलाई भगाउनैका लागि यसो गरिएको जानकारी दिनुभयो ।
विघ्न क्षति नपु¥याए पनि मदनपोखरा, दमकडा, खानीगाउँ, बराङ्गदी, छहरा, अर्गली, पोखराथोक, नायर, बतासेलगायत जिल्लाका विभिन्न स्थानमा सलह पुगेकाले कृषक चिन्तित भएका छन् । तिनाउँको झ्याङ्गलाबाहेक अन्य स्थानमा वनजंगलमा बसेका कीराहरु साना झुन्डको रुपमा मात्रै बसेको, पानी परेका बेला रुखमै बस्ने र घाम लाग्नासाथ उड्ने गरेको स्थानीय कृषकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्