कोरोना पोजिटिभ हुँदा यतिसम्म भोगेँ



– रञ्जना कार्की ।

पालमा पहिलो कोरोना संक्रमित नर्स भनिएकी रञ्जना कार्की, ३ वर्षदेखि आरोग्य प्रतिष्ठानमा कार्यरत लेखा शाखाको कर्मचारी हुनुहुन्छ । कोरोना पोजिटिभ भनेर सार्वजनिक हुँदाको तनाव, उपचारका क्रममा भोग्नुपरेको पीडा, उपचारको विश्वसनीयता आदिका बारेमा उहाँका अनुभूति र विचार :

म काठमाडौंबाट सुनसरी घर पुगेको दोस्रो दिनबाट लकडाउन शुरु भयो । लकडाउन खुल्ला र फर्किउँला भन्दाभन्दै ५० दिन बित्यो, सम्भावना देखिएन । अस्पतालमा कर्मचारीहरु डबल ड्युटी गरिरहेका थिए । समयमा तलब नखुवाउँदा सबैलाई गाह्रो हुन्छ, म लेखामा काम गर्ने भएकाले चिन्ता भयो । विकल्प थिएन, अंकललाई बाइकमै पुर्‍याइदिनुस् भनेँ । जिल्ला प्रशासन कार्यालय, सुनसरीमा पास बनाएपछि अंकलसँग मोटरसाइकालमा काठमाडौंमा फर्किएँ ।

काठमाडौं आएपछि १५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने कुरा भयो । म आफैँले सोचेँ– अफिसको लागि अर्जेन्ट परेर आएको । घरमा हुँदा पास बनाउन एक दिन मोटरसाइकलमा सदरमुकामबाहेक अन्यत्र कतै गएको थिइन । कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण पनि देखिएको थिएन । तर कोरोना फैलिएको क्षेत्र तराईबाट आएको थिएँ । त्यसैले आफूसँगै काम गर्ने टिम र बिरामी सबैलाई ढुक्क हुन्छ भनेर टेकु गई थ्रोट स्वाब परीक्षणका लागि दिएँ । रिपोर्ट नेगेटिभ आउँछ भन्ने ढुक्क थियो ।

एक नर्स साथीले घरबाट आएपछि सोझै आफ्नो कोठामा आउनू भनेकी थिइन् । सीधै मेरो कोठामा जाँदा बाहिरबाट आएको भनेर नराम्रो सोच्लान् भन्ने लाग्यो । त्यसैले स्वाब परीक्षणको रिपोर्ट लिएर मात्र जाने विचार आयो । म आउँदा तिमीलाई अप्ठ्यारो हुन्छ कि भनेर साथीलाई सोधेँ । मेरो घरबेटी राम्रो छन्, त्यस्तो समस्या हुन्न भनिन् उनले । त्यसपछि नमुना दिएको दिन र दोस्रो दिन पनि म साथीकोमा नै बसेँ ।

रिपोर्ट आउने दिन बिहानैदेखि फलोअप गरिरहेकी थिएँ । त्यो दिन पोजिटिभ रिपोर्ट आउने बिरामी धेरै भएको सुनेर मनमा डर पनि लाग्यो । २४ घण्टामा आउनुपर्ने रिपोर्ट किन आएन भनी फोन गरेर सोधेँ । २४ देखि ४८ घण्टा लाग्छ भने । पछि राति १० बजे ‘तपाईं कहाँ हुनुहुन्छ रु रिपोर्ट पोजिटिभ आयो, अस्पताल आउनुपर्छ’ भनी फोन आयो । कल्पना नै नगरेको कुरा सुन्दा म छक्क परेँ । मनमा अनेक कुरा खेल्न थाले । कोरोनाका कारण विश्वमा धेरै मान्छेको मृत्यु भैसकेको सम्झेँ । आफू त युवा छु जित्न सक्छु, तर घरमा आमा दमको रोगी, हजुरआमा मुटुको रोगी सम्झेर रातभरि सुत्नै सकिन ।

दुई दिन सँगै बसेको साथी पनि आत्तिइन् । हाम्रो बुझाइ नै छुनेबित्तिकै सरिहाल्छ, सर्नेबित्तिकै मरिहाल्छ भन्ने छ । मलाई घरपरिवार र साथीको निकै चिन्ता लाग्यो । साथीको घरबेटी, ओल्लोपल्लो कोठाका मान्छेले उनलाई के भन्ने हुन् भन्ने निकै तनाव भयो । साथीलाई मैले तुरुन्तै आफ्नो बारे बताएँ तर उनी ढुक्क देखिन्थिन्, बाटोसम्म एम्बुलेन्समा छोड्न आइन् ।

मलाई टेकु अस्पतालमा राखियो । सो रात निकै छटपटी भयो । दोस्रो दिन आमालगायत सबै परिवार र मलाई काठमाडौंसम्म पुर्‍याउन आउनुहुने अंकलको नमुना संकलन गरियो । ३ दिनपछि घरपरिवार, छरछिमेक सबैको नेगेटिभ रिपोर्ट आयो । ५० दिनसम्म त म त्यही परिवारमा बसेकी थिएँ तर कसैको पोजिटिभ आएन ।

आरोेग्य अस्पतालको एम्बुलेन्स चालक, त्यहाँका कर्मचारी, बिरामी, बिरामी कुरुवाहरु सबैको रिपोर्ट नेगेटिभ आएपछि मलाई कोरोना भएको छ भन्ने विश्वास नै लागेन । मैले डाक्टर, नर्ससँग पुनः परीक्षणका लागि अनुरोध गरेँ । अस्पतालको सेडुअलअनुसार एक–एक हप्तामा मात्र गर्नुपर्ने रहेछ । मैले ६ दिनमा नै पुनः परीक्षणका लागि आग्रह गरेँ ।

शारीरिकरुपमा म तन्दुरुस्त थिएँ तर साइकोलोजिकल स्ट्रेस त भनेर साध्य नै थिएन । अस्पतालभित्र प्रवेश गरेपछि न कसैलाई भेट्न पाइन्छ, न कसैलाई देख्न र बोल्न नै पाइन्छ । यस्तो अवस्थामा मानसिक तनाव हुनु त स्वाभाविकै हो । अस्पतालको आइसोलेसनमा बस्दा म फ्री भएर बसिन । हरेक दिन योग–व्यायाम गर्थें, परिवार र साथीहरुसँग फोनमा कुराकानी गर्थें । अस्पतालमा वाइफाई फ्री थियो । सकारात्मक विचारका बुकहरु डाउनलोड गरेर पढ्थेँ ।

स्वास्थ्यकर्मीहरुले पनि मलाई पहिलाको बिरामी कति दिनमा रिकभर भयो भन्ने जानकारी गराउनुका साथै एक महिना अस्पताल बस्छु भन्ने मानसिकता बनाएर बस्नोस्, नआत्तिनुस् भन्नुभएको थियो ।

धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको खबर सुनेपछि भने म सुत्नै सकिन । न्युज त मैले एकपटक पनि हेरिन । किनकि म आफैँ पीडित थिएँ । यति बिरामी थपियो, यस्तो भयो भन्ने नै बढी हुन्थ्यो । त्यसैले फेसबुक पनि बन्द गरेकी थिएँ । तर म्यासेन्जर ग्रुपमा साथीहरुले लिंक पठाए । त्यसपछि मलाई डर लाग्न थाल्यो ।

त्यहाँ बिहान ७ बजे नास्ता, १० बजे खाना, २ बजे चिया–बिस्कुट र बेलुका ६ बजे खाना दिइन्थ्यो । यी खानेकुरा ल्याएर बाहिर टेबुलमा राखिएको हुन्थ्यो र फोनबाट तपाईंको खाना आयो लैजानुस् भनिन्थ्यो । खाना, नास्ता प्रायः ननभेज हुँदो रहेछ । भेज लिने कि ननभेज भनेर सोधिएन । भेज खानेका लागि निकै गाह्रो थियो । म भिजिटेरियन भएकाले ३ दिनपछि मात्र मेरो इच्छा सम्बोधन भएको थियो ।

खाना खाएपछि डिस्पोजेबल चीजहरु प्लास्टिकको झोलामा हाली हरेक ३ दिनमा बाँधेर बाहिर राखिदिनुस् भनेको हुन्थ्यो । मैले त्यही अनुसार गरेँ । खानामा त्यति दिनु नै ठूलो कुरा हो । ननभेज खाना ल्याएको बेला भने मैले आफैले विकल्प खोजी बाहिरबाट फ्रुट्स मगाएर खाएँ । पिउने पानी ठूलो जारमा राखिदिनुभन्दा साना बोतलको उपलब्ध गराउँदा राम्रो हुन्छ । सरकारले गरेको व्यवस्थामा मेरो अन्य गुनासो छैन, सुझाव मात्र हो ।

कोरोनाका बिरामीलाई बिहान ग्यास्ट्रिकको एसिलक र बेलुका सुत्नै नसक्ने भयो भने निद्रा लाग्ने औषधि दिइँदो रहेछ । मैले चाहिँ अस्पताल बसुन्जेल एक ट्याब्लेट औषधि पनि खाइन । मुख्य कोरोनाको औषधि भनेकै आफूले आफूलाई बुझाएर रोगसँग लड्ने क्षमताको विकास गर्ने हो । मोबाइललाई साथी बनाएर आइसोलेसनको बसाइ सहज बनाएँ ।

म बसेको एट्याच बाथरुमसहितको उज्यालो कोठा थियो । अन्य कोठा के–कस्तो अवस्थाको थियो भन्ने एक–अर्कालाई जानकारी हुँदैन । म अस्पताल बसेको बेलामा त्यहाँ ५ जना कोरोना संक्रमित हुनुहुन्थ्यो तर कुन पेसेन्ट कस्तो हुनुहन्थ्यो, मैले एकजनालाई पनि देखिन ।

अस्पताल बसेको १० औं दिन मात्र डाक्टर राउन्डमा आउनुभयो तर परैबाट हेरेर जानुभयो । त्यति बेला छैटौँ दिनमा लिएको मेरो नमुनाको नेगेटिभ रिपोर्ट आइसकेको थियो, म डिस्चार्ज हुने पक्का भैसकेको थियो ।

त्यही ठाउँमा पोजिटिभ भन्ने मानसिकता बोकेर बस्दाको डर र म नेगेटिभ छु भन्ने विश्वासका साथ बस्दाको आत्मबल छुट्टै हुँदो रहेछ । मलाई केही भएको थिएन तर पोजिटिभ छु भनेर बस्दा जति डर थियो, नेगेटिभ भयो भन्ने थाहा पाउनासाथ डर हराउँदो रहेछ । त्यसैले सामाजिक दूरी कायम गर्ने र आत्मबल बढाएर घरमै बस्न दिँदा राम्रो हुन्छ । सामान्य अवस्थामा पोजिटिभ देखियो भने आइसोलेसनमा राख्नै पर्दैन भन्ने लाग्छ मलाई ।

आफ्नै परिवारसँग घरकै खाना खाएर आफ्नै वातावरणमा होम क्वारेन्टाइनमा बस्न पायो भने आत्मबल पनि बढ्छ । अस्पतालमा एक्लै बस्नुपर्ने, कोरोना लागेपछि मरिन्छ, सकिन्छ, मरेपछि पनि परिवारले देख्नसम्म पाउँदैन, कहाँ लगेर फालिदिने हो भन्ने ठूलो चिन्ता हुन्छ । विश्वका सञ्चारमाध्यमले त्यस्तै भएका घटना देखाइरहेका हुन्छन् । यो देख्दा झन् बढी आत्तिने र डराउने हुँदो रहेछ ।
आइसोलेसनमा बस्दा दिनमा एकपटक डाक्टर राउन्डमा आएर के छ भनी सोध्ने र अरु मानिसको अनुहार हेर्न मात्र पाए पनि बिरामीले आधा रोग कम भएको महसुस गर्थे होलान् । म स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको मर्म बुझेको मान्छेलाई त यस्तो भयो भने सर्वसाधारणलाई कस्तो होला ? १० दिनमा डाक्टरको मुख देखेँ। त्यसभन्दा अघि टेलिफोनबाट मात्र जानकारी लिने र दिने हो ।

त्यहाँ स्याचुरेसन नाप्ने उपकरण, थर्मामिटर र बीपी जाँच्ने सेट राखिएको छ । यो सबै खाले परीक्षण आफैंले गर्ने हो । म मेडिकल पर्सन नभए पनि अस्पताल लाइनकै व्यक्ति भएकाले यसको प्रयोग गर्न सकेँ । तर त्यही ठाउँमा नपढेको, बूढाबूढी, अशक्त मान्छे हुँदो हो भने उनीहरुले बीपी कसरी लिने, ज्वरो कसरी नाप्ने, अक्सिजन कसरी नाप्ने र रिपोर्ट के गर्ने रु उनीहरुलाई कसरी थाहा हुन्छ रु अस्पतालमा यो अत्यन्तै गाह्रो अवस्था देखेँ । त्यो ठाउँमा मेरो हजुरआमा हुनुहुन्थ्यो भने उहाँलाई लगभग माया मारिदिँदा हुन्थ्यो होला ।

अझै पनि सुरुमा मेरो रिपोर्ट पोजिटिभ आएकोमा मलाई शंका छ । घरपरिवारका सदस्य, सँगै सुतेको साथी, सँगै बाइकमा आएको अंकल कसैलाई पोजिटिभ छैन भने मलाई कसरी भयो रु ल्याबको विश्वसनीयता के–कति छ, उहाँहरुले नै जान्नुहोस् । यदि परीक्षणमै विश्वसनीयता थिएन भने राज्यले एउटा पोजिटिभ केसको लागि कति लगानी गर्नुपर्छ भन्ने कुरा सरकारले बुझ्ने कुरा हो ।
एकपटक पोजिटिभ भनेको व्यक्तिलाई समाजको आँखामा नेगेटिभ आइसक्दा पनि पोजिटिभ नै देख्दो रहेछ । अस्पतालबाट त म डिस्चार्ज भएँ, रिपोर्ट पनि ६ दिन र १५ दिनमा परीक्षण

गर्दा नेगेटिभ आइसक्यो । तर अझै पनि घरबेटीले अहिले नआउनुस् भनिरहेको अवस्थामा म मेरो आफन्तकोमा गुमनाम बस्नुपरेको छ ।
अस्पताल बस्दाभन्दा डिस्चार्ज भएपछि धेरै गाह्रो भएको छ । मलाई कहाँबाट सर्‍यो भन्नुभन्दा मैले कस–कसलाई सारेँ भन्ने समाचारले पीडा हुँदो रहेछ । जानाजान कसैले पनि रोग सार्दै हिँड्दैन । कोरोना पोजिटिभ भन्नेबित्तिकै जिन्दगीभरि निको नहुने रोग, हेर्दा, छुँदा, बोल्दा पनि सर्छ जस्तो व्यवहार गरेकाले अत्यन्तै पीडा भएको छ ।

नेपाल सरकारले पोजिटिभ केस आएको व्यक्तिको पुनः परीक्षण गरेर मात्र फाइनल गरोस्, नुवाकोटको अर्को पेसेन्टमा पनि ३ दिनपछि नेगेटिभ आयो । सरकारले सही बिरामीको पहिचान गरेर उपचार गरोस् । दुईपटकसम्म परीक्षण गर्दा पोजिटिभ आए मात्र उपचारमा ल्याउँदा सरकारको खर्च पनि कम हुन्छ र मानसिक तनाव पनि कम हुन्छ । लक्षण नै नदेखिएको व्यक्तिलाई क्वारेन्टाइन र अस्पताल राख्नुभन्दा होम क्वारेन्टाइनमै बसाइयोस् । कोरोनाले मात्र मान्छे मर्दैन, कोरोनाको त्रासले मान्छे मर्छ । त्यसैले कोरोनालाई सही रुपमा बुझ्ने र बुझाउने विधिको खाँचो छ ।

(साधनाका लागि रोहिणी घिमिरे र भगवती तिमल्सिनाले गरेको कुराकानीमा आधारित ।)

(साधना मासिकको २७० औँ अंकबाट साभार)

https://sadhana.newsofnepal.com/

प्रतिक्रिया दिनुहोस्