कहीँ नभएको जन्तर नेताको गलामा



विश्वभर कोरोना महामारीको आतंकका कारण सन्नाटा छाएको छ । करोडौं मानिस कोरोना संक्रमित भएका छन् भने लाखौँ मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।नेपालमा पनि कोरोना भाइरसले महामारीको रुप लिइसकेको छ । १२ हजारभन्दा बढी मानिस कोरोना संक्रमित छन् भने दुई दर्जन बढीको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।पछिल्लो समयमा कोरोना संक्रमित हुनेहरुको संख्या दैनिक तीव्र गतिमा बढिरहेको छ । नेपाली अर्थतन्त्र धराशायी बनेको छ ।

यता कोरोना महामारीका कारण नेपालमा जारी गरिएको लकडाउनकै बीच नेपाली राजनीतिमा भने अनेकौँ हास्यास्पद शृङ्खलाहरु चलिरहेका छन् ।यस्तै एउटा शृङ्खला नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा देखियो । उक्त बैठकमा सहभागी नेताहरुले आ–आफ्ना गलामा कोरोना जन्तर झुन्ड्याएका थिए ।

यसले कोरोना रोगलाई रोक्न सक्ने भन्दै उनीहरुले बडो धाकका साथ जन्तर भिरेको दृश्य साँच्चै नै हाँस उठ्दो थियो ।कहीँ नभाको जात्रा हाँडी गाउँमा भनेझैँ कहीँ नभाको कोरोनाको जन्तर नेकपाका नेताहरुको घाँटीमा भेटियो । यसरी एउटा देशको सत्तारुढ दलकै शीर्ष नेताहरुको घाँटीमा देखिएको कोरोना जन्तरले उनीहरुको वैचारिक क्षमता कहाँसम्मको छ भन्ने प्रस्ट हुन्छ ।

नेता भनेको पार्टीको सदस्य मात्रै नभई समाजकै रोलमोडेल हुन् । तर नेपालका यस्तै ढोँगी नेताहरुका कारण देशको हालत यो अवस्थामा आइपुगेको हो ।अझै अर्को रोचक कुरा त के छ भने, ती जन्तरे नेताहरु सबै कट्टर कम्युनिस्ट भई जनता टोपलिरहेका महानुभावहरु हुन्, जसले जनतालाई विभेद, रुढिवाद, अन्याय र जनताको मुक्ति नै प्राथमिकतामा राखेर हिँडिरहेका छौँ भन्दै जनताको आँखामा छारो हालिरहेका छन् ।

यसरी समाजवादको नाममा रुढिवाद र भ्रष्टाचारको पक्षपोषण गरिरहेका जन्तरेहरुलाई जनताले कहिले चिन्ने हो कुन्नि । यस्तैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो कोरोना जन्तरको कुनै अर्थ नरहेको भन्दै चर्को आलोचना गरेको छ ।यो सँगै उसले यस्ता अफवाह फैलाउनेहरुलाई कारबाहीको चेतावनी पनि दिएको छ । प्रधानमन्त्री ओलीको बेसार काण्ड सेलाउन नपाउँदै फेरि एकचोटि जन्तर काण्ड चर्चाको शिखरमा पुगेको छ ।

  • नेशन मगर, प्युठान ।

प्रतिक्रिया दिनुहोस्