काठमाडौंमा पानीको हाहाकार अन्त्य हुने



काठमाडौं, (नेस)

खानेपानी हाहाकारको समस्या समाधान गर्ने काठमाडौं महानगरपालिका– १९ का स्थानीयबासीको वर्षौंदेखिको लक्ष्य पूरा हुने भएको छ ।

दमाईचाघाटमा खानेपानी ट्यांकी (रिजर्भ भ्वाएर) बनाउन शुरू गरिएकाले शुद्ध पानी पिउन अब स्थानीयले धेरै समय पर्खिनु नपर्ने भएको छ । प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत सो स्थानमा खानेपानी ट्ंयाकी र वाटर फिल्टर प्लान्ट बनाउन लागिएको बाग्मती प्रदेशका सांसद राजेश शाक्यले जानकारी दिनुभयो ।

सांसद शाक्यका अनुसार चालू आर्थिक वर्षमा रिर्जभ भ्वाएर ट्याङ्की बन्नेछ । त्यसका लागि ३९ लाख ७८ हजार ५ सय ४३ रुपियाँ खर्च हुने अनुमान गरिएको छ । कुल लागतमध्ये प्रदेशले ३५ लाख ८० हजार ६ सय ८९ रुपियाँ बेहोर्नेछ । बाँकी ३ लाख ९७ हजार ८ सय ५४ रुपियाँ जनसहभागितामार्फत जुटाइने भएको छ ।

फिल्टर प्लान्ट बनाउन प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बजेट विनियोजितको गरिएको सांसद शाक्यले जानकारी दिनुभयो । सांसद शाक्यका अनुसार प्रदेशले १ करोड ७५ लाख बजेट विनियोजित गरेको छ ।

२०६५ सालमा तत्कालीन भौतिक आवास तथा निर्माणमन्त्री हिसिला यमीको पहलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले दमाईचा घाटमा डिप बोरिङ गरेको थियो । ‘बोरिङको पानी प्राविधिक जाँच गर्दा आइरन र एमोनियाको मात्रा बढी देखिएको थियो । यसले गर्दा सो पानी स्वास्थ्यका हिसाबले पिउन योग्य थिएन ।’ –दमाईचाघाट उपभोक्ता समितिका अध्यक्ष मिलन शाहीले भन्नुभयो ।

बोरिङको पानीलाई पिउन योग्य बनाउन स्थानीयले त्यस बेलादेखि फिल्टर प्लान्ट बनाउनुपर्ने माग राखेका थिए । समितिका उपाध्यक्ष तीर्थ महर्जनका अनुसार फिल्टर प्लान्ट बनाउन केयूकेएलका प्राविधिक टोलीले १ करोड २५ लाखको लागत अनुमान गरेको थियो ।

‘बजेटको व्यवस्था गरीदिन केयूकेएलमा धेरैपटक डेलिगेसन गएँ । त्यति धेरै बजेट विनियोजित गर्न नसक्ने जवाफ केयूकेएलबाट आएपछि बोरिङको पानी खाने स्थानीयको इच्छा बीचमै तुहिएको थियो ।’ –समितिका उपाध्यक्ष महर्जनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्