माथिल्लो तामाकोशी आयोजनालाई अर्को महत्वपूर्ण सफलता



न्युज अफ नेपाल,काठमाडौँ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अर्को खुड्किलो सम्पन्न भएको छ ।आयोजनाकै सबैभन्दा जोखिमपूर्ण र चुनौतीपूर्ण करिब १,००० फीट (३०५ मिटर) अग्लो माथिल्लो पेनस्टक स्याफ्टको अन्तिम पाइप राख्ने कार्य आज सम्पन्न भएसँगै आयोजनाकै एक अर्को खुड्किलो पार भएको हो । करिब १,२०० फीट (३६७ मिटर) अग्लो तल्लो पेनस्टक स्याफ्टको अन्तिम पाइप जडान यसअघि नै गत जेठ महिनामा सम्पन्न भइसकेको छ ।

ती स्याफ्टहरु २७ टनसम्मका ५ मिटर लम्बाइका पाइपहरू एक एक गर्दै झार्नु आफैंमा अत्यन्त जोखिम रहेको थियो । वेल्डिङ गर्दा धुँवाको मुस्लोहरू हटाउन कठिनाइ हुँदा कामदारहरूलाई काम गर्नु समस्या आउनु, पानी तर्काउने कार्यहरूमा समस्या आउनु अनि ढुँगाहरू माथिबाट झर्ने डर भइरहनु आदि निकै चुनौतीपूर्ण र खतरायुक्त थिए । खन्ने कार्यमा पनि ठुलै जोखिमहरू आएका थिए । दुवै स्याफ्टहरूमा सानातिना बाहेक कुनै पनि प्रकारको दुर्घटना न भएको आयोजनाले जनाएको छ ।

पेनस्टक पाइपको कार्य सम्पन्न गर्ने भारतीय कम्पनी टेक्स्म्याको तथा खन्ने र ब्याक्फिल कंक्रिट गर्ने चिनिया कम्पनी सिनोहाइड्रोले गर्दै आएका छन् । त्यस्तै तल्लो पेनस्टक स्याफ्ट एन्द्रिज हाइड्रो कम्पनीले सम्पन्न गरेको थियो ।अब आयोजनाको काममा स्याफ्टहरू जस्तो जोखिमपूर्ण कार्यहरू नभए पनि केही महत्वपूर्ण कार्यहरू जस्तो तेर्सो सुरुङहरूमा पेनस्टक पाइपहरू जडान, ग्राउटिङ र लाइनिङका कार्यहरू, अन्य फिनिसिङका कार्यहरू तथा त्यसपछि प्रेसर टेस्टिङका कार्यहरू बाँकी छन्, जसलाई लकडाउनले गर्दा केही असर पर्ने अवस्था अझै रहेको छ ।

आयोजनाका अनुसार सहज ढंगले काम अगाडि बढेमा बाँकी काम आगामी ३ महिनाभित्र सम्पन्न गरी आउँदो असोज( कात्तिकभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट बत्ती बाल्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्