के महिला मागिने वस्तु हुन् ?



  • रोशनीदेबी कार्की

यो विषयमा बोल्न मलाई धेरै अगाडिदेखि मन लागेको थियो । फाट्टफुट्ट कलम चलाउने हुँदा मनमा लागेका कतिपय विषयहरु पानीका फोकाझै हराएर जाँदा रहेछन् । भनिन्छ आजसम्म विश्वमा सबैभन्दा बढी छलफल-वकालत गरिएको विषय महिलासंग सम्बन्धित छन् । प्रष्टै तपाई हामी एउटा धारणा तुरुन्तै बनाउन सक्छौ किन उक्त विषयमा वहस र छलफल हुन्छ ? पक्कै त्यो विषय महत्वपूर्ण छ, अन्यायमा पारिएको छ र संबोधन गर्न जरुरी छ ।

उठान गरिएको विषयको धरातल/पृष्ठभूमि यहि समाज हो र यसलाई निरन्तरता दिने उच्च सामाजिक प्राणि हामी नै हौ । समाजमा प्रचलनमा रहेका कतिपय असामाजिक प्रचलन, प्रथा, रीतिरिवाजलाई आजसम्म हामीले सामाजिक बनाईरहेका रहेछौ । यद्यपी कतिपय कानुन भने प्रगतिशील भएर नआएका भने होईनन् ।

हामीले वास्तबमै महिला मैत्री वातावरण चाहेको हो, समाजमा हानिकारक प्रथा/प्रचलनलाई अन्त्य गरी समान मूल्यमान्यता खोजेको हो , उन्नति प्रगति , सामाजिक न्याय र समावेशी विकास रोजेको हो भने आजैदेखि महिलालाई निर्जिव वस्तुझै गरिने व्यवहारको अन्त्य गरिनु पर्दछ

तर सामाजिक मूल्य मान्यता,सतीले सरापेको र पतिले सामाजिक वर्चस्व बोकेको हाम्रो जस्तो पुरुष समाजमा कानुन लेख्ने र कार्यान्वयनमा अग्रपंड्तीमा उभिएका पुरुषपात्रहरु अझैपनि महिलालाई मागिने वस्तुकै रुपमा प्रयोग गरिनै रहेका छन् । यसको जवलन्त उदाहरण बैबाहिक सम्बन्धको सुरुआत केटी माग्न जाने, हेर्न जाने, हात थाम्न जाने, हात माग्न जाने आदि ।

सामाजिक मान्यतामा अहिले पनि मागी बिबाहलाई स्वीकार गर्ने र सर्वमान्य मानिन्छ भने माग्ने वस्तु महिला नै हुन्छिन । यदाकदा हिजोआज प्रेम विवाहमा युवायुवती रुची राखेपनि मागि विवाह नै सामाजिक मानिन्छ । यहाँ निर्दृष्ट गर्न खोजिएको कुरा के हो भने बिबाहको उठान केटा केटी हेर्न जाने अर्थात् केटी कुनै निर्जिव वस्तु हो उसलाई हेरिन्छ ।

हेर्न जानेलाई छनौटको अधिकार रहन्छ । उसले छान्न पाउँछ, मलाई मन परेन भन्न मजाले पाउँछ, त्यसलाई छोडेर अर्को हेर्न पाउँछ । अझै सोचनीय कुरो त के भने त्यो केटी मनपराईदिन अन्य महत्वपूर्ण आर्थिक उपार्जन गर्न सकिने सामग्रीहरु थप गरेको खण्डमा मन पराईदिन सक्छु भन्ने सम्मको अधिकार केटामा हुन्छ ।

यथार्थमा निर्जिव तर समाजमा मूल्यवान ठनिएका वस्तु भन्दा तुच्छ मूल्यहिन वस्तु केटी/महिला हुन्छिन । समान अधिकार भएका केटी/महिलालाई केटा हेर्न जाने माग्न जाने समाजले कहाँ स्वीकार्छ ? स्वीकार्ने मात्र नभएर समाजमा यदि केटीले म केटा हेर्न जाने भन्ने आवाज निश्किनासाथ अपशव्द मानिएका आरोपहरु लगाएर अपहेलना समेत गरिने गरिन्छ ।

जस्तै कूलखान्दान नभएका, इज्जत नभएका, आफूलाई खूब आधुनिक ठान्ने , उत्ताउली आदि आदी । हामीले वास्तबमै महिला मैत्री वातावरण चाहेको हो, समाजमा हानिकारक प्रथा\ प्रचलनलाई अन्त्य गरी समान मूल्यमान्यता खोजेको हो , उन्नति प्रगति , सामाजिक न्याय र समावेशी विकास रोजेको हो भने आजैदेखि महिलालाई निर्जिव वस्तुझै गरिने व्यवहारको अन्त्य गरिनु पर्दछ ।

समान सम्बन्धको खोजी

समाजमा वैबाहिक जीवनलाई समबन्ध जोडने\बढाउने आधारको रुपमा समेत लिईन्छ । जस्ले दुई परिवारलाई अर्थात् केटा र केटीको परिवारलाई अत्यन्तै घनिष्ठ नजिकको बनाईदिन्छ । भनिन्छ सम्बन्धलाई प्रगाढ बनाउदै निरन्तरता दिन दुवै पक्षको समान जिम्मेवारी रहन्छ , समान त्याग र समर्पण रहन्छ ।

तर समाजमा सिद्धान्त र सत्य एकातिर असमानता अर्कोतिर हुँदा महिलामाथि अन्याय , असमावेशी सोंच र चिन्तनको विकास भैरहेको छ । जसलाई परिवर्तन गरी सामाजिक रुपान्तरण गर्न ढिला भैसकेको छ । परिवर्तनका संवाहक परिवार, समाज र राष्ट्र हुन । रुपान्तरित गरिनुपर्ने महत्वपूर्ण विषयहरु निम्नानुसार छन् ;

(क)बिबाहपूर्व गरिनुपर्ने सुधार

  • कानुनले तोकेको समयपूर्व विबाह गर्नु हुदैन गरेमा सामाजिक दण्डको व्यवस्था गरिनुपर्दछ ।
  • महत्वपूर्ण कुरा बैबाहिक सोंचमै परिवर्तन हुनुपर्दछ । केटी माग्न जाने होईन सम्बन्ध राख्न जाने हो दुबैले स्वत्रन्त्र रुपमा आफ्ना भनाईहरु सबैका सामू खुलस्त राख्ने अधिकार दुवैमा हुनुपर्दछ ।
  • सम्बन्ध बढाउन चाहने दुवै पक्षले कुनै पनि वस्तु दाईजो, तिलक, पेवाको रुपमा माग्ने र लिन बन्द गरिनुपर्दछ। यदि कसैले माग्छ भने समाजले दण्डित गर्नुपर्दछ ।
  • सदियौ देखि बिबाह प्रथा र परम्परामा धानिदै आएको छ । जसले कुनैपनि वलियो कानुनी हैसियत कायम गर्न सकेको छैन । जसको प्रभाव प्रत्यक्ष रुपमा महिलालाई परेको छ । यसैले परम्परालाई कानुनी मान्यतासंग जोडनुपर्दछ । हाम्रो समाजमा कानुनले दण्डनीय बनाएको विषयहरुमा त उम्कने प्वाल खोजिन्छ भने कानुनमा प्रावधान नै नभएको कुरा कार्यान्वयनमा आउन्न यसैले बिबाहलाई वैद्य बनाउन जरुरी छ ।
  • सम्बन्ध विस्तारका लागि केवल आफ्नो रगतको नातागोता मात्र ख्याल गरेपुग्छ । जातभात , धनीगरिब, कूलखान्दान यी सब समाजलाई अमर्यादित बनाउने हानीकारक तत्वमात्र हुन् । सोंच, धारणा र मान्यतामै परिवर्तनको खाचो देखिन्छ ।

(ख) विवाहपश्चात गरिनुपर्ने महत्वपूर्ण सुधार

  • सबै घरका सदस्यले आफ्नो सदस्यको सरह समान हैसियद नयाँ सदस्यलाई दिनुपर्दछ । समाजमा कति ठूलो विभेद छ कि आफ्नो घरबाट छोरीचेली विबाह गरेर जादाँ छोरीचेलीले दुःख नपाओस, परिवारका सदस्य सबैले माया गरुन, एकअर्काले सहयोग गरुन भन्ने चाहना राख्ने तर नयाँ छोरीचेली आफ्नोमा आउँदा कुनै स्थान नै नदिने, माया ममताबाट वन्चित गर्ने परिपाटिको अन्त्य गरिनु पर्दछ । जसका लागि सामाजिक व्यवहार, सोचमै परिवर्तन ल्याउनु पर्दछ ।
  • सम्बन्धको माध्यम बनाउने महिलाले परिवारका सवै सदस्यलाई संबोधन गरिने आदरार्थी शव्दको प्रयोगलाई सरल र सहज बनाईनु पर्दछ। यहाँ सम्मान नगर्नु आदर नगर्नु भनेको हुदैहोइन ।ठूलालाई आदर , सम्मान गर्दा सम्बन्धमा सुधार आउँछ ।तर सम्मानलाई प्रयोग गरिने शव्द र व्यवहारलाई सहज र सरल बनाउनु जरुरी छ । श्रीमानका सानासाना भाई बहिनी सबैलाई उच्च आदरार्थी शव्दले नजिक बनाउने भन्दा अझ औपचारिक बनाएर सम्बन्ध टाँढा बनाउन पृष्ठपोषण गराईरहेका हुन्छन् ।
  • सम्बन्ध स्थापना सुरु गराउने महिलाले आफू जन्मिहुर्केको परिवार र नयाँ बनेको परिवारबीच भिन्न महसूस नगरोस । अर्थात् जन्मघर मैत्री कर्मघर बनोस् ।
  • प्रत्येक बुहारी, श्रीमतीलाई उद्यमशील बनाउने चाहना सासु ससुरा र श्रीमानको होस र त्यही अनुरुपको व्यवस्था गरिओस ।
  • हिसारहित महिलामैत्री घरपरिवार होस हरेक श्रीमानले श्रीमतीलाई जीवनसाथीको व्यवहार गरोस ।
  • परिवारभित्र यस्तो शिक्षा दिन सकिओस एकजना महिलालाई सम्मानजनक व्यवहार गर्न सकियोभने घर शान्त समृद्ध बन्छ, श्रीमान आदरणीय बन्छन्, संन्तान खुशी र सुखी हुन्छन् , परिवार आदर्श र उदाहरणीय कहलिन्छ ।अन्त्यमा हिंसारहित समाजको निर्माण हुन्छ र संविधानले सोंचेको जस्तै समावेशी राष्ट्रको निर्माण भै उन्नत र समृद्ध मुलुकका सुखी नेपाली र समृद्ध नेपालको परिचय मिल्छ ।

(ग) समाजको तर्फबाट गरिनुपर्ने महत्वपूर्ण सुधार

  • समाज व्यक्ति परिवार मिलेर बनेको हुन्छ , यो समय अनुसार परिवर्तन हुन्छ र हुनुपर्दछ ।
  • सदिऔदेखि संस्कारका रुपमा, धर्मका रुपमा, सामाजिक मूल्य-मान्यताका रुपमा महिलालाई विभेद गरिने चालचलनमा रहेका तर असामाजिक प्रथा, परम्परा, रीतिरिवाज, रहनसहन जसलाई कानुनले समेत हानीकारक मानी दण्डनीय मानेको छ त्यसलाई जरादेखी नै समाजले उखेलेर फाल्न सक्नुपर्दछ ।
  • हाम्रो समाज पुरुषप्रधान समाज हो । यस समाजमा महिलालाई दोस्रो दर्जाको रुपमा व्यवहार गरिन्छ । यो समाजमा ५१ प्रतिशत भन्दा बढी जनसंख्या महिलाको छ लैंगिक हिसा, घरायसी हिंसा, बालबिबाह, अनमेल बिबाह, बहुपति प्रथा , राजनैतिक,सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक, न्यायिक लगायत राज्यका हरेक आयाममा पुरुषकै बोलवाला र हैकमबादी चलेको छ । लाग्छ, पुरुष नै समाज हो र समाज नै पुरुष । यसलाई समाजले प्रश्रय दिने होइन की दण्डित गर्न सक्नुपर्दछ ।
  • सामाजिक रुपले पछाडि पारिएका नागरिकहरुका लागि समाजले सामाजिक दायित्व, मानवीय व्यवहार र कल्याणकारी भावनाले एक-अर्कामा सहयोग गर्दै सामाजिक मूल्य र मान्यताको विकास गरिनुपर्दछ ।
  • बैबाहिक जीवनमा नयाँ जीवनसाथीले जीवनलाई सहज, सरल र शक्ति प्रदान गरेको हुन्छ, त्याग र समर्पण गरेको हुन्छ भने अन्य सामग्रीहरुको माग गर्नु समाजले सामाजिक अपराधको रुपमा लिएर विरोध गर्न सक्नुपर्दछ । अर्थात् दहेज, तिलक,पेवा जस्तो असामाजिक परम्पराको विरोध गर्दै अन्त्य गर्नुपर्दछ ।
  • भिन्न समाजबाट भित्रिएका जतिपनि नयाँ बुहारीहरु हुन्छन् उनीहरुसंगै सृजना र प्रतिभा बोकेरै ल्याएका हुन्छन् । त्यसैले समाजले घरभित्रको घरायसी र हेरचाहको काममा मात्र नभएर ग्यान, सीप, क्षमता र दक्षताको उपयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न सामाजिक भूमिका र उद्यमशील बनाउन सहयोगीको वातावरण बनाईदिनु पर्दछ ।
  • महिलाले निर्वाह गरेका जतिपनि घरायसी र हेरचाहको कार्य छन् ती सबैलाई राज्यले आर्थिक मूल्य कायम गरी राष्ट्रिय आयमा गणना गराउनको लागि सरकारलाई समाजले सकारात्मक दवाब दिनुपर्दछ ।

(घ) राज्यको तर्फबाट गरिनुपर्ने महत्वपूर्ण सुधार

  • राज्यले सामाजिक सुधारका लागि सामाजिक सुधार ऐन तयार पारी कडाईकासाथ कार्यान्वयनमा ल्याउँनु पर्दछ ।
  • राज्य संचालनमा तीन तहका सरकार छन् । सबै संवैधानिक दृष्टिकोणबाट स्वतन्त्र र शक्तिशाली छन् । सबैलाई जनताको हक, अधिकारको संरक्षण , लैंगिक समानता, समावेशी विकास, उन्नति र प्रगति गर्न व्यवस्थापिका, कार्यापालिका र न्यायपालिकाको संवैधानिक शक्ति प्रदान गरिएको छ, सोहीअनुसार सामाजिक न्याय, सामाजिक सुरक्षा, महिलामैत्री व्यवहार सुनिश्चित गर्न कुनै कसरत बाँकी राख्नुहुदैन् ।
  • प्रत्येक नागरिकलाई असल नागरिक बनाउने सोंच र चिन्तन राज्यमा हुनुपर्दछ । सोही अनुरुप शिक्षा, स्वास्थ्य , क्षमता अभिवृद्धि तालिमको सुनिश्चितता गर्नुपर्दछ ।
  • राज्यले आदर्श परिवार निर्माण र असल नागरिक तयार पार्न परिवार संचालन कानुनको तय गरी कार्यान्वयनमा ल्याउनु पर्दछ ।
  • समाजमा विद्यमान हानीकारक प्रथा, प्रचलन र परम्परालाई संस्कारको रुपमा, धर्मको रुपमा,रीतिरिवाजको रुपमा समाजले अंगिकार गर्दछ भने राज्यले कानुन बनाएर र कानुनमा भएको व्यवस्थाहरुको कडाईकासाथ कार्यान्वयन गराउनु पर्दछ ।
  • राज्य संचालन लोकत्रान्त्रिक, प्रजातान्त्रिक परिपाटीबाट गरिनुपर्दछ ।

निचोड 

महिला र पुरुष समाज संचालनका अभिन्न पात्र हुन । यिनीहरु सृजनाकार हुन । सामाजिक परिवर्तन र आर्थिक रुपान्तरणका लागि दुवै उत्तिकै जिम्मेवार त जवाफदेही हुनुपर्दछ । राज्यले महिलाहरुका लागि विशेष सुविधा, सहुलियत तथा अवसरको प्रावधान राखेको अवस्थामा पुरुषहरुले हामी ओझेलमा परेऔ भन्ने मान्यताले विरोध गर्नुहुन्न ।

हामीले बुझाउन नसकेको र समाजले आजसम्म नबुझेको कुरा महिलाको मानव अधिकारको संरक्षण गर्ने आवाज उठाउँदा पुरुषहरु विरोध गर्ने कारण हाम्रो अधिकार हनन हुन्छ, महिलाहरु हामी समान हुन खोजेजस्तो बुझाई छ । महिलाहरुको एउटै माग हामीलाई पुरुषसरह अधिकार चाहियो, समाजमा सोहि बराबर मूल्य र मान्यता अनि हैसियत चाहियो न कि पुरुषको खोसेर देउँ ।

समाजमा लैगिक समानतामूलक सोंच र चिन्तन हुनुपर्दछ । विगतदेखि अभ्यासमा रहेका असामाजिक परिपाटिलाई समाजले तिरस्कार गर्नुपर्दछ । बाल बिबाह अपराध हो , कानुनले तोकेको समयाअवधिपूर्व बिबाह गर्न रोक लगाउनु पर्दछ ।

महिला हिसा, घरायसी हिंसा, यौन हिसा कार्यस्थलमा हुने हिसा तथा दुरव्यवहारमा अधिक मात्रामा पीडक पुरुष छन भने पीडामा पर्ने प्राय महिलाहरु छन यसको अन्त्यको लागि तीनै तहका सरकारले प्रभावकारी संयन्त्र खडा गरी कडाईकासाथ कार्यान्वयनमा ल्याउनु पर्दछ ।

अनत्यमा माथि किटान गरिएका असल सम्बन्ध विस्तारका लागि घरपरिवार, समाज र सरकारले विशेष ध्यान दिनुपर्ने सुझावलाई अवसर र चुनौतीका रुपमा लिएर सुधार गर्ने हो भने शान्ति, सुशासन , समावेशी विकास भै उन्नति र समृद्धि टाढाँ छैन ।

( रोशनीदेबी कार्की महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्