भारतमा विश्वकै पहिलो हाईटेक क्रिकेट स्टेडियम



न्युज अफ नेपाल, एजेन्सी ।

भारतमा हुने कतिपय महत्वपूर्ण क्रिकेट म्याचहरु वर्षाका कारण प्रभावित हुने गरेका छन् । जसका कारण खेलहरु नै स्थगित पनि भएका छन् । तर, अब त्यस्तो समस्या केही हदसम्म समाधान हुने भएको छ । किनभने, पञ्जाब क्रिकेट संघद्वारा चंडीगढमा निर्माणाधीन विश्वकै पहिलो हाईटेक क्रिकेट स्टेडियम चाँडै तयार हुँदैछ । गुजरातको मोटेरामा रहेको विश्वकै ठूलो क्रिकेट स्टेडियममा समेत वर्षा हुँदा म्याच खेलाउन मिल्ने सुविधा नभएको अवस्थामा यो हाईटेक स्टेडियम पहिलो विकल्प बन्न सक्नेछ ।

मुल्लांपुरस्थित निर्माणाधीन यस अन्तरर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई ग्रीन बिल्डिंग मापदण्ड अनुसार तयार पारिएको छ । १ सय ५० करोड भारतीय रुपियाँको लागतमा आठ लाख वर्ग फीट क्षेत्रफलमा बनाइएको यो स्टेडियम मोहालीस्थित आइएस बिन्द्रा स्टेडियमको तुलनामा तीन गुणा ठूलो छ । विश्वका अन्य हाईटेक स्टेडियमको तुलनामा पनि यो अलि भिन्न छ । विषम परिस्थितिमा पनि यहाँ म्याच खेलाउन सकिने छ ।

समयको माग अनुसार बन्दै गरेको यस रंगशाला विश्वकै सबैभन्दा ठूलो हाईटेक क्रिकेट स्टेडियम हो । यसमा बिजुलीको आपूर्ति सोलार सिस्टमबाट गरिएको छ । रेन वाटर हार्भेस्टिंगबाट पानीको आपूर्ति गरिनेछ । अनि प्रयोग गरिएका पानी पुनः प्रयोग गर्न मिल्ने ब्यवस्था पनि मिलाइएको छ । हरियालीलाई ब्यवस्थित गर्न रुखहरु रोपिएका छन् ।

स्टेडियममा स्पेशल ड्रेनेज सिस्टम पनि स्थापना गरिएको छ । जसले गर्दा जतिसुकै ठूलो वर्षा हुँदा पनि म्याच खेलाउन सहज हुनेछ । वर्षा रोकिएको आधा घन्टाभित्र नै खेल्नका लागि पिच तयार पार्न सकिनेछ । दर्शकदिर्घालाई चर्को घाम र वर्षाबाट जोगाउन अत्याधुनिक पारदर्शी छत निर्माणको काम जारी छ ।

पञ्जाब क्रिकेट संघद्वारा निर्माण गरेको यस रंगशालाको ९० प्रतिशत कार्य पूरा भइसकेको छ । स्टेडियम निर्माण सम्पन्न गर्ने लक्ष्य अगस्त २०२० सम्ममा तय गरिएको थियो । तर, लकडाउनका कारण निर्माणकार्य प्रभावित बन्यो ।

यदि यो स्टेडियम २०२१ को मार्चसम्म तयार भएमा आगामी वर्ष भारतमा हुने टी–२० विश्वकप क्रिकेटका केही म्याचहरु पनि यही रंगशालामा खेलाउन सकिने बताइएको छ । रंगशालाको कुल दर्शक क्षमता ३६ हजार रहेको छ । यहाँको भौतिक पूर्वाधार निर्माणमा पार्किंग र ट्राफिक सम्बन्धित समस्यालाई पनि विशेष ध्यान दिईएको छ । यहाँ एकैसाथ १ हजार ६ सय ४० गाडीहरु पार्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्