सिमानामा काँडेतार



यति बेला नेपाल–भारत सीमा व्यवस्थापन गर्नुपर्ने विषय जोडतोडले उठेको छ । सयौं वर्षदेखि नेपाल–भारत सीमा खुला रहेको अवस्थामा वारिका व्यक्ति पारि जान र पारिका व्यक्ति वारि आउन सजिलै सक्ने भएकाले हाल आएर नेपालमा यस्तो सीमा अव्यवस्थित हुनुपर्ने विषय उठ्न थालेको हो ।

यस्तो विषय उठ्नुका कारण विशेष गरी नेपालको भू–भाग भारतले अतिक्रमण गर्ने गरेको भन्ने नै हो । यसै गरी नेपाल–भारत सीमामा गैरकानुनी कार्य हुनु सीमालाई व्यवस्थित गर्नुपर्छ भन्ने आवाज उठ्नु अर्को कारण हो । यस विषयले सत्तारूढ दल नेपाल कम्युनिस्ट पाटीको स्थायी कमिटीको बैठकमा पनि उठेको छ । स्थायी कमिटीका केही सदस्यले नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्ने आवाज उठाएका छन् । नेपालको भू–भाग जोगाउनका लागि सीमामा काँडेतार लगाउनु आवश्यक भइसकेको उनीहरूको तर्क छ ।

यो विवाद सर्वोच्च अदालतमा पनि पुगेको छ । सर्वोच्चले नेपाल–भारतको सीमालाई व्यवस्थित नगर्ने हो भने त्यसका कारण पेस गर्न सरकारलाई आदेश दिइसकेको छ । सर्वोच्चले त्यस्तो कारण भए १५ दिनभित्र पेस गर्न भनेको पनि छ । यस अर्थमा नेपाल–भारत सीमालाई व्यवस्थित गर्नुपर्ने विषयमा पहिलेको तुलनामा यसपटक अलि बढी नै उठेको छ ।

नेपालको संविधानले सिमानाको सुरक्षालाई राष्ट्रिय हितको विषय मानेको छ । संविधानको धारा ५ मा राष्ट्रिय हितअन्तर्गत नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, नेपालीको हक–हितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुने भनी उल्लेख गरिएको छ । संविधानमा सिमानाको सुरक्षालाई राष्ट्रिय हितका रूपमा मानेकाले सरकारले यसलाई व्यवस्थित गर्न पहिलो प्राथमिकता दिन अनिवार्य हुने देखिन्छ, तर नेपाल–भारतको सिमाना वर्षौंदेखि लथालिङ्ग छ, भद्रगोल छ ।

यही कारणले सीमानामा बेला–बेलामा गोली चल्ने गरेको छ, व्यक्ति हत्या हुने गरेको छ, नेपालीहरू आतंकित हुनुपरेको छ । आतंकमा रमाउन चाहनेहरू खुला सिमानाको फाइदा उठाएर विभिन्न गैरकानुनी कार्य गरी अर्को देशमा लुक्न जाने गर्दछन् । यसले गर्दा पनि हाल आएर खुला सिमानालाई व्यवस्थित गराउनुपर्ने आवश्यकता भएको उल्लेख गर्ने गरिएको हो ।

सीमालाई व्यवस्थित गर्ने हो भने दुवै देशलाई फाइदा हुन्छ । कोरोना भाइरसको संक्रमण भएको वर्तमान अवस्थामा सीमाबाट एक–अर्का देशमा लुकी–चोरी आवत–जावत गरिरहेका पनि छन् । यस अर्थमा पनि अब नेपाल–भारतबीच सीमालाई केही न केही गरी व्यवस्थित गर्न आवश्यक भइसकेको छ । हाल विशेष गरी काँडेतार लगाउनुपर्ने भनिरहेको अवस्था छ । तराईमा एक वडाले काँडे तार लगाएको उदाहरण पनि आएको छ ।

आवश्यकता हेरी ५०औं ढोका राख्न सकिन्छ, तर सिमानामा काँडेतार लगाउनु भने आवश्यक भएको छ । खुला सिमाना दुवै मुलुकका लागि घनिष्ट सम्बन्धको द्योतक हो, त्यसले निरन्तरता पाउनुपर्छ तर अनियन्त्रित अवस्थामा सुधार हुनैपर्छ । यसो गर्न सकियो भने दुवै देशबीचको मित्रतामा योगदान पुग्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्