पाइल्सबारे सामान्य जानकारी



सामान्यतया मलद्वारको नसा र तन्तुहरु सुन्निएर संक्रमण भई मलद्वारमा मासु पलाउनु, पिप बग्नु, रातो हुनु, चिलाउनु आदि अवस्थालाई पाइल्स भनिन्छ । पाइल्स मलद्वारमा हुने एक विशेष प्रकारको रोग हो । यसलाई मेडिकल भाषामा हेमराइड्स पनि भनिन्छ ।

यो यस्तो अवस्था हो जब मलद्वारको भित्र अथवा बाहिर रक्तनलीमा सुजन आउँछ, जसले गर्दा मासु बढेको जस्तो अनुभव हुन्छ । यो फुटेमा रगत जान्छ भने नफुट्दासम्म केही समस्या नदेखिन पनि सक्छ ।

यो रोगलाई रोगोत्पति क्षेत्रका आधारमा आन्तरिक, बाह्य र संयुक्त पाइल्स गरेर तीन समूहमा बाँडिएको छ । मलद्वारमा अवस्थित प्याक्टिनेट लाइनभन्दा तलबाट उब्जिएको पाइल्स भए बाह्य, माथिबाट उब्जिएको भए आन्तरिक र दुवै क्षेत्रबाट उब्जिएको भए संयुक्त पाइल्स भनिन्छ ।

पाइल्सलाई क्रमशः प्रथम, द्वितीय, तृतीय र चर्तुथ गरेर चार श्रेणीमा विभक्त गरिएको छ । प्रथम श्रेणीको पाइल्समा शिराहरू सुन्निएर सानो डल्लो बनी मलाशयमा नै रहने तर बाहिर नआउने हुन्छ । द्वितीय श्रेणीको पाइल्समा सुन्निएका नसाहरू मलत्याग गर्दा मात्र बाहिर आउने गर्दछ तर मलत्याग पछि पुन आफ्नै स्थानमा जाने गर्दछ ।

तृतीय श्रेणीको पाइल्समा शिराहरूको डल्लो बाहिर आउने तर आफैँ यथास्थानमा नजाने, हातको सहाराले भित्र पसाएमा मात्र भित्र जाने गर्दछ । चौथो श्रेणीको पाइल्समा सुन्निएको नसाका डल्लाहरू निरन्तर मलद्वारबाहिर नै रहिरहने गर्दछ ।

यो रोग शुरु हुँदा मलाशय तथा गुदद्वारमा भारीपन बढ्ने, चिलाउने, दिसा खलास नहुने र अलि–अलि दुख्ने जस्ता लक्षण देखा पर्दछन् । रोग बढ्दै गएमा मलाशयका रक्तनलीहरू सुन्निने, फुट्ने भई अकस्मात् रक्तश्राव हुने गर्दछ । सुन्निएका रक्तनली र वरिपरिका तन्तुहरू तल खस्न जाँदा गुजिल्टिएर अंगुरको झुप्पाजस्तो मासुका डल्लाडल्लीहरू गुदद्वारवरिपरि देखिने गर्दछन् ।

बाह्य पाइल्स भएको भए अत्यन्त पीडा हुने, दिसा अड्केको आभास हुने, उठ्न, बस्न, हिँडडुल गर्न गाह्रो हुने, मलत्यागपछि पनि पेट सफा नभएको भान हुने, मासी पर्ने, मलद्वारवरिपरि चिलाउने र दिसा बस्दा दुख्ने जस्ता लक्षणहरु पनि यो रोगमा देखा पर्दछन् ।

पाइल्सको उपचार गर्नुभन्दा पहिला रोगको कारणहरूको विस्तृत जानकारी हुन जरुरी छ । यसका साथै रोगको प्रकार, स्तर, जटिलता र अन्य सन्निहित समस्याका बारेमा पनि जानकारी हुन जरुरी छ । रोगको स्तर थाहा पाइसकेपछि अलग–अलग श्रेणीका लागि उपयुक्त चिकित्सा विधि अपनाउनुपर्ने हुन्छ ।

अधिकांश पाइल्सबाट छुटकरा पाउनको लागि कब्जियतबाट छुटकरा पाउनै पर्छ । अन्य कारणले भएको पाइल्स भए पनि पेटको सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यसका लागि मलत्यागलाई सामान्य तथा नियमित गराउन अत्यन्त आवश्यक छ ।

पाइल्स हुन नदिन र भएकाहरूलाई ठीक गर्न जीवनशैली परिवर्तन एउटा उपयुक्त आयाम हो । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्य–मैत्री हुने गरी ठीक–ठीक समायोजन गर्नु हो ।
– राजेशनाथ, एनपीआई, भरतपुर, चितवन ।

 

 

प्रतिक्रिया दिनुहोस्