फुटसल सञ्चालन ल्याउन माँग



न्युज अफ नेपाल, काठमाडौं

नेपाल फुटसल व्यवसायी संघले देशभरका फुटसल सञ्चालन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बिहीबार ज्ञापनपत्र बुझाएको छ ।

संघले लकडाउनको अवधिभर सरकारले खेल क्षेत्रलाई उपेक्षा गरेको आरोपसमेत लगाउँदै फुटसल सुरु गर्न माग गरेको हो । लामो समयसम्म पनि खेल सुरु नभएपछि संघमा आवद्ध सबै व्यवसायीलाई आर्थिक नोक्सानी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नेपालभर निजी क्षेत्रबाट संचालनमा रहेका फुटसल मैदान विगत ३ महिनाबाट लगातारको लकडाउनका कारण बन्द रहेको हुँदा चरम आर्थिक संकटमा छ। फुटसल सुरु गर्ने विषयमा राज्यको कुनै पहल नदेखिएको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

कोरोनाको जोखिम कायमै रहेको अवस्थामा आवश्यक सावधानी अपनाएर खेल सञ्चालन गरिने पनि संघले जनाएको छ। ‘विश्वव्यापी रुपमा लकडाउन केही खुकुलो भएसँगै खेल क्षेत्रमा पनि सावधानी अपनाई खेल संचालन कार्यविधि निर्माण गरी संचालन गर्न हामी व्यवसायी पूर्ण प्रतिबद्ध छौं,’ विज्ञप्तिमा उल्लेख छ।

संघले बिजुली, जग्गा, बैंकको व्याज, कर्मचारीको तलबजस्ता कुराको व्यवस्था गर्न नसकेको भन्दै फुटसल सुरु गर्ने माग गरेको छ । साथै कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न सावुन पानी, सेनिटाइजर, तापक्रम जाँच्ने, र व्यवस्थित बाथरुमको व्यवस्थाको प्रबन्ध गर्न प्रतिबद्ध रहेको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्