कला दस्तावेजको अभाव



कला विज्ञहरूले नेपालमा कला दस्तावेजको अभाव रहेको औंल्याएका छन्। उनीहरूले कलाको दस्तावेजीकरणमा राज्य तथा सरोकारवाला संस्थाले गहन ढंगले काम गर्नुपर्ने जाएका छन्।

बौद्धस्थित तारागाउँ म्युजियमले गरेको कला पत्रकारिता, लेखन तथा समीक्षा विषयक बहसमा वक्ताहरूले कलाको संस्थागत विकासविना अगाडि बढ्न नसकिने बताएका हुन्। कोरोना जोखिमलाई मध्यनजर राख्दै अनलाइन माध्यमबाट गरिएको बहसमा कलाकार तथा लेखक सरोज वज्राचार्य, कलाकार, लेखक तथा सञ्चारकर्मी देवेन्द्र थुम्केली र सञ्चारकर्मी संगीता श्रेष्ठ सहभागी भएका थिए।

बहसमा लेखक तथा कलाकार वज्राचार्यले पहिले कलाकार सबल हुनुपर्ने जनाउँदै यसको व्यावसायिक विकासमा जोड दिए। ‘नेपालको प्राचीनकालदेखि अहिलेसम्मका कलाकृतिको सहज दस्तावेजीकरण हुन सकेको छैन। पहिला यसमा काम हुनुपर्दछ, तब कलालेखन तथा समीक्षाको विकासले गति लिन्छ।’ –उनले भने। त्यस्तै, थुम्केलीले संस्कृति नीतिको आवश्यकता रहेको जनाउँदै नेपालमा कलाको शैक्षिक विकाससँगै खोज अनुसन्धानमा जोड दिनुपर्ने बताए। ‘कलाको विषयलाई विद्यालयस्तरका पाठ्यक्रममा समेटिनुपर्दछ।

विश्वविद्यालय, प्रतिष्ठानहरू, गैरसरकारी संस्था, व्यक्ति तथा व्यापारिक प्रतिष्ठानले खोज अनुसन्धान एवं प्रवद्र्धन, विकास र संरक्षणमा ध्यान दिनुपर्दछ।’ –उनको जोड थियो। नेपाली सञ्चार जगत्ले कलालेखन तथा पत्रकारितामा विशेष स्थान दिएको सञ्चारकर्मी श्रेष्ठले बताइन्।

उनले नेपालमा खासगरी सञ्चार माध्यमले कलालाई प्रशंसायोग्य बनाउन महत्वपूर्ण सहयोग गरेको चर्चा गरिन्। कार्यक्रम तारागाउँ म्युजियमका निर्देशक तथा कलाकार रोशन मिश्रले सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्