काभ्रेका स्थानीय सरकारका प्राथमिकता- ‘स्वास्थ्य, शिक्षा र कृषि’



मोतीराम तिमल्सिना, काभ्रे

आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि स्थानीय सरकारले प्रस्तुत गरेको बजेट कोभिड–१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनसँगै स्थानीय आवश्यकता अनुसारको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छन् ।
१३ वटा स्थानीय तहमध्ये तेमाल गाउँपालिकामा बाहेक अन्य सबै पालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिकाले प्रस्तुत गरेको बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सीपमूलक कार्यक्रममा बजेट विनियोजन गरेका छन् ।

त्यस्तै बेथान्चोक, खानीखोला, भुम्लु, रोशी, महाभारत गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

चौरीदेउराली गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ भने बजेट नीति तथा कार्यक्रमको छलफलपश्चात् प्रस्तुत गर्नेछ । तेमाल गाउँपालिकाको सभाका लागि सदस्यहरू बीच सहमति जुट्न सकेन ।
अधिकांश पालिकाले कोरोनाबाट मुक्त हुन स्थानीय क्षेत्रमा स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन् ।

विद्यालयको पठनपाठन नभएको अवस्थामा बालबालिकाको शिक्षाका लागि स्थानीय सरकारले फरक–फरक खालको कार्यक्रममार्फत अध्ययन सूचारु गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् ।

धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले कोरोना भाइरसले थला पारेको नागरिकको जीवन सहज र सरल बनाउने नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको बताउनुभयो । नगर प्रमुख अशोककुमार ब्याञ्जुले कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, पूर्वाधार र गरिबी निवारणलाई प्राथमिकता दिएको बताउनुभयो ।

आगामी आर्थिक वर्षका लागि नगरपालिकाको १ अर्ब ११ करोड ११ लाख ११ हजारको बजेट प्रस्तुत गरेको नगर प्रमुख ब्याञ्जुले बताउनुभयो ।

बजेट सीमाबाट चालू खर्च ५१ करोड ४ लाख ४० हजार अर्थात् ४५.९४ प्रतिशत र पुँजीगततर्फ ६० करोड ६ लाख ७१ हजार अर्थात् ५४.०६ प्रतिशत हुने गरी बाँडफाँड गरिएको छ ।

त्यस्तै बनेपा नगरपालिकाको छैठौ नगरसभाबाट १ अर्ब १५ करोड ६३ लाख ७१ हजारको बजेट प्रस्तुत गरेको छ ।
नगर प्रमुख लक्ष्मीनरसिं बादेले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख रेखा सापकोटा दाहालले आर्थिक वर्ष २०७७÷०७८ को बजेट, विनियोजन विधेयक, आर्थिक विधेयक प्रस्तुत गर्नुभएको थियो ।

नगर प्रमुख लक्ष्मीनरसिं बादेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख रेखा सापकोटा दाहालले प्रस्तुत गर्नुभएको विधेयक तथा बजेट सर्वसम्मत पास गरेको छ ।

नगरपालिकाले आगामी वर्ष कोभिड–१९ को महामारी नियन्त्रण गर्न नगरको सम्पूर्ण ध्यान केन्द्रित गर्दै आवश्यक बजेट विनियोजन गरेको छ ।

त्यस्तै पनौती नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि १ अर्ब ३२ करोड २८ लाख ७७ हजारको बजेट प्रस्तुत गरेको छ । कोभिड–१९ रोकथामसँगै नगरभित्रका सांस्कृतिक महत्वको १२ वर्षे मकर मेलालाई व्यवस्थित बनाउन, काभ्रे उपत्यका खानेपानी आयोजनाको पानी वितरण गर्न, १५ शैय्याको नगर अस्पताल निर्माण गर्ने लगायतका कार्यक्रम प्राथमिकतामा परेका छन् ।

मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वधारलाई प्राथमिकता दिएको बताउनुभयो । नगरपालिकाले ९९ करोडको बजेट विनियोजन गरेको उपप्रमुख निर्मला शाहीले बताउनुभयो ।
नमोबुद्ध नगरपालिका प्रमुख टंकप्रसाद तिमल्सिना शर्माले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।

रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले विदेशबाट फर्किएकालाई स्वरोजगार, स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिएको बताउनुभयो । ५८ करोड ९९ लाख ५६ हजारको बजेट रोशीको दृष्टि, पर्यटन र कृषि भन्ने नारासहित शुरू भएको अध्यक्ष लामाले बताउनुभयो ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले भौगोलिक विकटता रहेको र यातायात, खानेपानीलगायतका समस्या रहेकाले पूर्वधारसँगै स्वास्थ्य, कृषि र शिक्षालाई प्राथमिकता दिएको बताउनुभयो ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले कोरोना रोगथाम, रोजगारी, शिक्षा, कृषिलगायत क्षेत्रलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । उपाध्यक्ष सरिता लामिछानेले बजेट प्रस्तुत गर्दै नागरिकका समस्यामा स्थानीय सरकारले ध्यान दिने बताउनुभयो ।

चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतमले स्वास्थ्य, कृषि र खानेपानीलाई प्राथमिकता दिएको बताउनुभयो ।

भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले स्वास्थ्य, कृषि, पशुपालन, खानेपानीलाई प्राथमिकता दिएको बताउनुभयो ।

खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण खुलालले कोरोना रोकथाम, सडक, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर बजेट निर्माण भइरहेको जानकारी दिनुभयो । उपाध्यक्ष रुकमणी गुरुङले विकटतालाई सुगमतासँग जोड्न संघीय सरकार, प्रदेश सरकारसँग समन्वय गर्दै अघि बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्