चेल्सीले जित्दा लिभरपुल इपीएल च्याम्पियन



लन्डन, एजेन्सी ।

चेल्सीले म्याच जित्दा लिभरपुलले तीन दशकपछि पहिलो पटक इंग्लिस प्रिमियर लिग इपीएलको उपाधि जित्न सफल भएको छ । बिहिबार राति भएको खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग २-१ गाेलअन्तरले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हाे ।

उक्त पराजयपछि ६३ अंक सहित सिटी दोस्रो बन्दा ८६ अंक जोडेको लिभरपुल च्याम्पियन बन्यो । सिटीलाई निर्णायक खेलमा हराएको चेल्सी भने ५४ अंकसहित चौथो स्थानमा रहेको छ ।

गत सिजन पनि उत्कृष्ट प्रदर्शन गरेको लिभरपुल म्यानचेस्टर सिटीभन्दा एक अंकले पछि पर्दै उपाधिबाट विमुख भएको थियो । चेल्सीको घरेलु मैदानमा १० खेलाडीमा सिमित भएपछि सिटी पराजित हुन बाध्य भयो ।

चेल्सीका लागि क्रिस्टियन पुलिसिचले ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको सिटीले ५५ औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।

केभिन डी ब्रुइनले गोल गरेपछि सिटी खेलमा फर्केको थियो । तर, खेलको ७७ औं मिनेटमा फर्नान्डो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित भयो ।

खेलको ७८ औं मिनेटमा चेल्सीले पेनाल्टी पाएको थियो । विलियनले सोही पेनाल्टीलाई गोलमा परिणत गरेपछि चेल्सीले जित दर्ता गर्दा लिभरपुल भने इपीएल च्याम्पियन बन्यो ।

कोरोना भाइरसका कारण लिग स्थगित हुनुअघि नै ११ खेल बाँकी रहँदा लिभरपुलले २२ अंकको अग्रता लिइसकेको थियो ।

यदी लिग नै रद्द गरिएको भएपनि लिभरपुल नै च्याम्पियन बन्ने निश्चित थियो। बिहिबारै भएको प्रिमियर लिगको अन्य खेलमा आर्सेनलले साउथ ह्याम्पटन माथि २-० गाेल अन्तरले पराजित गर्दा वर्नलेले वाट्फाेर्डलाई १-० गाेल अन्तरले पराजित गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्