को हुन मेक्सिकन मेसी ? जसले ८१ वर्षको ला लिगाको रेकर्ड तोडे



न्युज अफ नेपाल, काठमाडौं ।

स्पेनी ला लिगामा एउटा खेलाडीले इतिहासको पानामा आफ्नो नाम लेखाउन सफल भएका छन् । ला लिगाअन्तर्गत् रियाल मेड्रिडविरुद्धको खेलमा उनले डेब्यु गर्दा ८१ वर्षको पुरानो कीर्तिमान तोडेका हुन् । मेक्सिकन मेसी को उपनामले चर्चित् लुका रोमेरोले ला लिगामा सबैभन्दा कान्छो उमेरका खेलाडीको रुपमा खेल्ने इतिहास बनाएका हुन् ।

उनी आफ्नो टोली मालोर्का २–१ ले पराजित भएको खेलमा ८३औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । मेक्सिकन मेसीले १५ वर्ष २ सय १९ दिनमा खेलेर ला लिगाको इतिहासमा सबैभन्दा कान्छो खेलाडी बन्ने श्रेय प्राप्त गरेका छन् ।

उनी अघि सन् १९३९ मा फ्रान्सिस्को बाओ रोड्रिग्वेज १५ बर्ष २ सय ५५ दिनको उमेरमा खेलेर ला लिगामा सबैभन्दा कान्छो खेलाडी बनेका थिए । तर यो कीर्तिमान आखिर मेक्सिकोका मेसीले लामो समयपछि तोडे ।

को हुन् त रोमेरो ?

अर्जेन्टिनी बुबाआमाबाट सन् २००४ मा मेक्सिकोमा जन्मेका लुका रोमेरो ३ वर्ष हुँदा परिवार नै स्पेनमा बसाई सरेको थियो । उनी ७ वर्षको उमेरमा स्पेनको स्पोर्टिभा सान जोर्डी क्लबमा आबद्ध भएका थिए । उनले बार्सिलोनामा सन् २०११ मा ट्रायल पनि दिएका थिए । त्यहाँ उनलाई उमेरले प्रवेश गर्न बाधा तुल्यायो ।

उनको उमेर १० वर्ष भन्दा कम भएकाले उनी बार्सिलोनामा आबद्ध हुन सकेनन् । सन् २०१५ मा उनी ला लिगा क्लब मालोर्कामा आबद्ध भएका थिए । रोमेरोले स्पेनमा आएर खेले पनि अर्जेन्टिनाको युवा टोलीबाट खेलेका छन् । उनले १५ वर्ष मुनिको अर्जेन्टिनी टोलीबाट ६ खेल खेलेका छन् र २ गोल गरेका छन् ।

लियोनेल मेसीसँग तुलना

रोमेरोको खेल शैली आजको सुपरस्टार खेलाडी लियोनेल मेसीसँग मिल्दो जुल्दो छ । बार्सिलोनामा ७ वर्षको उमेरमा ट्रायल दिँदा उनले लियोनेल मेसीकै शैलीमा खेल देखाएका थिए । त्यतिबेला नै उनलाई मेक्सिकन मेसी भनेर उपनाम दिइएको हो ।

रोमेरोले बल नियन्त्रण गर्ने, ड्रिब्लिङ गर्ने र प्रतिद्वन्द्वी टोलीका खेलाडीविरुद्ध छल्याउने शैली निकै उत्कृष्ट भएको विश्लेषकको ठम्याइ छ । बार्सिलोनाका पूर्व डिफेन्डर डानी अल्भेजले समेत रोमेरोलाई नयाँ मेसी भनेर परिचित गराएका थिए ।

३ वर्ष अघि प्रशंसकहरुले अल्भेजलाई घेरेर सेल्फी लिन खोजेका थिए । त्यतिबेला उनले भनेका थिए–म सँग खिँच्ने होइन, उनीसँग खिँच , उनी हुन नयाँ मेसी ।

प्रतिक्रिया दिनुहोस्