रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षा प्राथमिकतामा



दिलकुमार लिम्बु, ताप्लेजुङ

सिरिजघा गाउँपालिकाले नीति तथा कार्यक्रममा रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर बजेट प्रस्तुत गरेको छ ।

पालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि तय गरेको बजेट, नीति तथा कार्यक्रमले पालिकाभित्रका नागरिकको जीवनस्तर उकास्न साथै समग्र विकासमा सहयोग पुग्ने देखिएको गाउँपालिकाका प्रशासकीय अधिकृत सन्तोष घिमिरेको भनाइ छ ।

स्थानीयस्तरमा रोजगारी सिर्जना गरेर गरिबी न्यूनीकरण गर्ने उद्देश्यले ‘अध्यक्ष रोजगार कार्यक्रम’ सञ्चालनमा आउने भएको छ ।

यस कार्यक्रमअन्र्तगत गाउँपालिका क्षेत्रभित्र जनसहभागिता परिचालनमार्फत सञ्चालन गरिने आयोजनाको लागत अनुमान तयारीकै बखत कम्तीमा ५० प्रतिशत स्थानीय श्रम मात्र प्रयोग हुने गरी आयोजनाको लागत अनुमान तयारी गर्ने व्यवस्था मिलाइनेछ ।

जसले रोजगारीको अवसर प्रदान गरी गरिबी न्यूनीकरणमा ठूलो मद्दत पुग्ने गाउँपालिकाको विश्वास छ । यस्तै कृषि उपजमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन र कृषकको आयआर्जनमा वृद्धि गर्न ‘सिरिजंघाको सान, उद्यमशील किसान’ नामक कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ ।

यसका लागि पालिकाभित्रका सबै टोलमा त्यहाँको भूगोल, हावापानी पहिचान गरेर सुहाँउदो कृषिजन्य उत्पादनमा जोड दिइनेछ भने ती उत्पादनको बजारीकरणका लागि पालिकाको केन्द्र तेल्लोकस्थित हेलिप्याडमा प्रत्येक हप्ता कृषि बजारको आयोजना गर्ने वातावरण मिलाइने भएको छ ।

कोभिड–१९ का कारण वैदेशिक रोजगारबाट फर्किएकालाई लक्षित गरी स्थानीयस्तरमा नै उद्यमशील गराउन गाउँमै रोजगार, गर्वको आधार नामक कार्यत्रम बनाई प्रत्येक वडामा ५ लाख रुपियाँका दरले ८ वटै वडामा ४० लाख रुपियाँ बराबरको रकम वडास्तरमै रकम विनियोजन गरिनेछ । यस्तै ‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’ नामक अभियानको थालनीसमेत गरिने गाउँपालिकाले जनाएको छ ।

यस कार्यक्रमअन्तर्गत पालिकाभित्र पर्ने हरेक सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने र पठनपाठनको नाममा शुल्क लिने विद्यालयलाई कारबाहीको दायरामा ल्याइने गाउँपालिकाको कथन छ ।

कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि प्रत्येक वडामा ९ लाखका दरले ७२ लाख वडास्तरमै विनियोजनसमेत हुने भएको छ ।

यस्तै ‘मैले तिरेको कर गाउँपालिकाको भर’ अभियानसमेत कार्यान्यनमा आउने भएको छ । सूचनाको हकलाई मध्यनजर गर्दै हरेक वडाको आ–आफ्नै वेबसाइट निर्माण गरेर वडाका गतिविधि सोमार्फत सार्वजानिक गर्ने वातावरण बनाइने पालिकाले जनाएको छ ।

पालिकाभित्रका कक्षा १२ वा सोभन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरेका इच्छुक युवाहरूलाई लक्षित गरी पत्रकारितासम्बन्धी आधारभूत तालिमसमेत दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्