विश्व बैंकद्वारा १० करोड डलर सहयोग



काठमाडौं, (नेस)

नेपालको ऊर्जा विकाससँगै कोभिड–१९ को संकट व्यवस्थापनका लागि विश्व बैंकले १० करोड डलर ऋण सहयोग गर्ने भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार विश्व बैंकसँग ऋण सहयोगसम्बन्धी सम्झौतापत्र भएको छ । अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जार्भोसले उक्त सम्झौता गर्नुभएको हो ।

सम्झौता गर्ने क्रममा अर्थसचिव ढुंगानाले सो रकमले ऊर्जा क्षमताको समुचित विकास गरी विद्युत् सुविधाको पहुँच वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड–१९ को महामारीको संकटपँर्ण अवस्थामा उपलब्ध भएको सहयोगले ऊर्जा क्षेत्रमा परेको असर कम गर्न र विद्युतीय सुशासन कायम गर्न फलदायी हुने उल्लेख गर्नुभयो ।

त्यस्तै विश्व बैंकका देशीय निर्देशक जार्भोसले कोभिड–१९ संकटका बेलामा र त्यसपछि पनि ऊर्जा क्षेत्रको विकासका लागि विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपालसँगको ५०औं वर्षसम्मको सम्बन्धलाई निरन्तरता दिँदै सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । उक्त रकम नेपालको ऊर्जा क्षेत्रको सम्भाव्यतालाई पहिल्याउन नीतिगत र संस्थागत सुधारमा खर्च गरिनेछ ।

जसअन्तर्गत नेपाल विद्युत् प्राधिकरणलाई वित्तीयरूपमा सबल बनाउने, स्वायत्त, पारदर्शी र जवाफदेही नियमनकारी निकाय खडा गर्ने, ऊर्जाको क्षेत्रीय बजारमा हिस्सा अभिवृद्धि गर्ने र संघीय ढाँचाअनुरूपप्राधिकरणको प्रादेशिक र स्थानीय तहमा संरचना खडा खर्च गरिने छ ।

प्रतिक्रिया दिनुहोस्