ललितपुर महानगरको बजेट ५ अर्ब



ललितपुर, (नेस)

ललितपुर महानगरपालिकाले कोरोना विशेष नीतिलाई समावेश गरी आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम ल्याएको छ ।

जनप्रतिनिधि बहाल भएपछि यो चौथो नीति तथा कार्यक्रम हो । महानगरपालिकाका अनुसार बजेटको आकार ४ अर्ब ८९ करोड १५ लाख ६२ हजार ५ सय १५ तय गरिएको छ ।

कोरोना विशेष नीतिलाई समावेश गरेर पूर्वाधार, खानेपानी, सम्पदा, सामाजिक विकास, शिक्षा, जनस्वास्थ्य, संस्कृति, वातावरण, कृषि पशुलगायत क्षेत्रमा विविध नीतिहरु ल्याएको हो । बुधबार पाँचौं नगरसभामा महानगरका मेयर चिरिबाबु महर्जनले कला, संस्कृति, सम्पदाले भरिएको महानगरपालिकाले अहिले कोरोनासँग लड्दै थप विकास कार्यलाई अघि बढाउनुपर्नेे खाँचो औल्याउनुभयो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर महर्जनले सबैको सहकार्य र समन्वयमा महानगरको हरेक सम्भावनालाई मूर्त रुप दिनु नै आजको मुख्य दायित्व रहेको बताउनुभयो ।

पूर्वाधार विकासअन्तर्गत प्रत्येक वडामा न्यूनतम एक सार्वजनिक शौचालय बनाउने नीति लिइएको छ । वडामा सार्वजनिकस्थल उपलब्ध भएसम्म एक हरियाली पार्क निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । महानगरभित्र शौचालयलगायत जुनसुकै सार्वजनिक पूर्वाधार अपांगता मैत्री बनाइने उल्लेख छ ।

त्यसै गरी टीकाभैरव राजकुलो १ र २ लाई महानगरभित्र ल्याउन पहल गरिने, कृषि योग्य जमिनमा सिँचाइ गर्न पनि आवश्यक समन्वय गरिने नीति तथा कार्यक्रममा भनिएको छ । महानगरपालिकाभित्र रहेका राजकुलो संरक्षण गर्दै र ऐतिहासिक ढुंगेधारा र इनारहरुको संरक्षण तथा सम्र्वद्धन गर्ने नीति रहेको मेयर महर्जनले जानकारी दिनुभयो ।

सामाजिक विकासअन्तर्गत दलित तथा आदिवासी जनजातिको सीप र पेसालाई आधुनिकीकरण गर्ने, एक घर एक उद्यमीको अवधारणाअन्तर्गत उत्पादित सामानहरुको व्यवस्था मिलाउने, युवावर्गलाई स्वरोजगारका लागि वडाले बीउ पुँजीको व्यवस्था गर्ने, प्रत्येक वडामा कम्तीमा एक जेष्ठ नागरिक दिवा सेन्टर स्थापना गरिने पनि कार्यक्रम तर्जुमा गरिएको छ ।

त्यसै गरी नीति तथा कार्यक्रममा महानगरभित्र सञ्चालित सामुदायिक अध्ययन केन्द्र, धार्मिक प्रकृतिका विद्यालय, परियति शिक्षा र खुला विद्यालयलाई व्यवस्थित गरिने उल्लेख गरिएको छ । आधारभूत तहको शिक्षालाई अनिवार्य तथा निःशुल्क र माध्यमिक शिक्षालाई निःशुल्क गरिने उल्लेख छ ।

सामुदायिक विद्यालयमा शिक्षक विद्यार्थीको अनुपात र विषयगत दरबन्दी व्यवस्थापन हुने गरी दरबन्दी मिलान गर्दै लाने पनि नीतिमा भनिएको छ । मातृभाषा माध्यम र विषय शिक्षा पनि प्राथमिकता दिने शिक्षा नीतिमा उल्लेख गरिएको छ ।

शंखमूलमा विद्युतीय शवदाह गृह बनाउने, दमकल एम्बुलेन्स, शव वाहन एउटै स्थानबाट सञ्चालन गरिने, खुला कसिंगरमुक्त महानगर बनाउने, सबै वडाहरुमा पार्क निर्माण र वृक्षरोपण कार्यक्रमलाई प्राथमिकता दिने पनि नीति ल्याइएको छ ।

कार्तिक नाच, रुद्रायणी नाच र हरसिद्धि नाचलगायतका नाचका लागि अक्षय कोषको व्यवस्था गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ । त्यसै गरी चक्रपथ बाहिरका वडाहरुलाई कृषि पकेट एरिया घोषणा गर्ने, फलफूल तथा तरकारी बजारीकरणका लागि चिस्यान केन्द्र स्थापना गर्ने, रासायनिक मललाई विस्थापित गरी प्रांगारिक मलको प्रयोगलाई बढावा दिने उल्लेख छ ।

महानगरका कृषिमा आश्रित १४ दशमलव ५ प्रतिशत ४२ हजार ६ सय जनसंख्यालाई मध्यनजर गरी कृषि सूचना केन्द्र अद्यावधिक गर्ने पनि नीति लिइएको छ ।

कोरोना कारण विगत वर्षको बजेटको तुलनामा आगामी आर्थिक वर्षको बजेट करिब ३० प्रतिशतले घट्ने पनि मेयर महर्जनको भनाइ रहेको छ । विगतको बजेट ५ अर्ब १७ करोड ९६ लाख ३२ हजार रुपियाँ रहेको थियो । महानगरपालिकाको बजेट अधिवेशन आउँदो असार १७ गते तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्