चिट चोरेर अपमानित हुने कि सम्मानपूर्वक फेल हुने ?



डा मंजु मिश्र

आज ६ दशककी भइसक्दा पनि कहिल्यैे कुनै पनि मन्दिरमा प्रार्थना र पूजा गर्ने उद्देश्यले गएकी छैन । त्यसो त म नास्तिक चाहिंं भने होइन । गत हप्ता संयोगले म आफ्नो मितिनी आमासित उहाँंको आग्रहमा पहिलो पल्ट श्री सत्यसाई केन्द्र गएँ । त्यहाँ सयौं महिलाहरुको भिड देखेर छक्क परें । यो एउटा केन्द्रमा मात्र त्यति धेरै महिलाहरु भिड लाग्दा रहेछन् कि साई बाबाप्रतिको आस्था नेपालमा मात्र नभएर विश्वभर बढ्दोछ । विज्ञानले सबै क्षेत्रमा पाएको विजयलाई अहिले उहाँंका भक्तजनहरुको भनाइमा श्री सत्य साई बाबा भगवानको कृपाले धेरै अद्भुत घटनाहरु घटेर विज्ञानलाई समेत चुनौति दिएको छ ।

केही वर्षयता नेपाल मुलुकभर यस्ता साई केन्द्रहरु सयौं खुलिसके, यसले यही प्रमाणित गर्दछ ।अब प्रसंग बदलौं प्रार्थना कक्षामा जानु पहिला सबै महिला र पुरुषले आफ्नो जुत्ता बाहिरै खोल्नुपर्दो रहेछ । यो साईबाबाप्रति देखाएको आदरभाब मात्र नभएर अनुशासन पनि थियो ।वास्तवमा त्यहाँं जम्मा हुने पुरुष र महिलामा धेरै कमले मात्र उच्च शिक्षा सम्मको अध्ययन गरेको मलाई आभास भयो । जुत्ता बाहिर फुकाल्नुपर्ने नियमको कतै सूचना टांसिएको छ कि भनेर नियालेर हेरें, अहं कतै देखिनँ । तर सबै जना यति अनुशासित देख्दा मेरो आफ्नो ठूला–ठूला अक्षरले लेखिएको अफिस कोठाको सम्झना आउँंदछ ।

जहाँं कोठाभित्र पस्नुअघि जुत्ता फुकाल्नुहोस् भनी ढोकामा लेखिएको हुन्छ तर लेखेर मात्र के गर्नु, पालना हुँदैन । संविधानमा पनि धेरै कुरा लेखिएका छन्, त्यो पनि पालना हुन्न । अफिस कोठाभित्र बारम्बार जुत्ता लगाएर किद्यार्थीहरु आइदिनाले सरसफाइ गर्ने भाइ कुचो लाउँदा लाउँदा दिक्क भइसके ।

उच्च शिक्षा अध्ययनको निमित्त आएका विद्यार्थीलाई बारम्बार भन्नुपर्दा आफैलाई अप्ठ्यारो लागेर आउंँदछ । यो सबै एक किसिमले अनुशासनहीनता नै हो । पत्रकारिता पढ्न आएका विद्यार्थीलाई अनुशासनको शिक्षा दिइराख्नु पनि दैनिक फ्रेमवर्कबाहिर पर्नेभयो ।
यस्तै–यस्तै सम्झेर म प्रार्थना कोठामा जान्छु, ।दुई–दुई लाइन गरी भक्तजनहरु पलेटी कसेर क्रमवद्ध रुपमा हुन्छन् ।

एक–आपसमा कानेखुशी गरेको पनि सुनिदैन । भक्तजनहरु थपिदै जान्छन्, कहिले त बस्ने ठाउँको अभाव पनि देखिन्छ तर पनि त्यहांँ कोही हल्ला गर्दैनन् । यस्तो अनुशासित वर्ग काठमाडौं फर्केको धेरै लामो समयपछि भेटें ।वास्तवमा हाम्रो देश यस्तो स्थितिमा आइपुग्न बहुदलीय व्यवस्थाले ल्याएको अनुशासनहीनता नै हो ।

यदि यहां भित्रका हरेक व्यक्ति संघसंस्था, स्कुल–कलेज र राजनीतिक कार्यकर्ताहरुमा अनुशासन हुने हो भने देश सिङ्गापुरजस्तो विकसित नबन्ला भन्न सकिन्न । एकछिनपछि भजन सुरु हुन्छ । सबै एकचित्त लगाएर भजन गर्दछन् । उनीहरुलाई सबै श्लोक कण्ठ हुन्छ । हरेक दिन साँझ एक घण्टाको भजनमा प्रायः सबै भजन मण्डलका सदस्य जम्मा हुन्छन् । तर कस्तो अनुशासित, उनीहरु भजन सुरु हुनु ठिक दश मिनेटअघि प्रार्थना कोठामा जम्मा भइसक्छन् । यसरी जम्मा हुन त्यहाँं कुनै शिक्षकले आदेश दिंदा रहेनछन् । सबैजना स्वविवेकले समयमै जम्मा हुँदारहेछन् ।

मेरो आँखाअघि फेरि उही विद्यार्थीको तस्वी आउँछ । बिहान ६.३० बजे क्लास सुरु हुन्छ, कतिपय सवा सातमा आइपुग्छन् । यस्तो देखेपछि कक्षालाई सुचारु रुपले सञ्चालन गर्न पनि समयमा आउन अनुरोध गर्नु प¥यो । विद्यार्थी मध्येबाट एउटीले टेवलमा हात ठोकेर जवाफ दिन्छिन्, हामी मास्टर्स लेवलमा पढ्ने विद्यार्थीलाई यस्तो कुरा सिकाइराख्नु पर्दैन ।

कतिगरी डिग्री लिन आएका छौ ! कहीं नभएको जात्रा हाँडीगाउँमा, यो कहांँको नियम लगाउदै हुनुहुन्छ मेडम । आजकल कलेजमा बिद्यार्थी जहाँं पैसा तिरेर अरु आर्जनको निमित्त आएका हुन्छन्, त्यहाँ लगभग उपस्थिति ५० प्रतिशत पाउन पनि गाह्रो हुन्छ । सबैजना त जाँचको दिन मात्र भेला भएको देखिन्छ ।यस्ता डिग्री मात्र भए पुग्ने विद्यार्थीको संख्या नेपालमा लाखौं पुगिसकेको छ ।

किनकि यति डिग्री लिएर आफन्तलाई भनसुन गरेर भएपनि नेपालमा ठाउँंमा पुग्न गाह्रो छैन । तर ठाउंमा पुग्न त उसैलाई गाह्रो छ जसको कोही छैन । जो सक्षम छ जसको हातमा साच्चिकै मेहनेतले आर्जेको डिग्री छ । मेरा त्यस्ता विद्यार्थी नभएका पनि होइनन् । उनीहरु हरेक दिन समयमै आउँछन र आफनो विषयमा गहिरो ज्ञान पनि छ । उनीहरु अनुशासित छन् र गुनासो पनि कमै गर्छन् ।

सो साईकेन्द्रभित्र पसिसकेपछि सबैले एक–अर्कालाई सद्भाबका साथ साईराम भनेर सम्बोधन गर्दारहेछन् । यसले सबै समान छन् भनी जनाउन खोजेको देखिन्छ । म पनि त्यहां उपस्थित भक्तजनहरु सितै जीवनमा पहिलो पल्ट आंखा चिम्लेर भजन गर्छु तर भजन गर्न आए पो गर्नु । ओठ त चलाउनु नै प¥यो सारा मनलाई एक ठाउँमा केन्द्रित गर्दै उनीहरु सँंगसंगै भजन दोहो¥याउछु ।

तर मेरो हालत त्यही डिग्री लिन आएको विद्यार्थीेेको जस्तो हुन्छ । त्यहाँ करबलले पुगेकोले नै मेरो ध्यान एकचित्त हुन सकेन ।एक घण्टासम्म सबै भक्तजनहरुले एकचित्त लगाएर भजन गर्नुका साथै प्रवचन ध्यानपूर्वक सुन्दछन् । धार्मिक शिक्षाले मानिसको नैतिकतामा अनुशासन र समाज सेवाको भावना प्रवल भएर आउँछ । कलेजमा धार्मिक शिक्षा अनिवार्य रुपमा राख्न मन लाग्यो ।

हाल आएर यहांँका ठूला राजनीतिक दलहरु विद्यार्थीलाई सद्मार्गमा लगाउनुको सट्टा ढालको रुपमा प्रयोग गरिरहेका छन् । हरेक स्कुल र कलेजमा राजनीतिकरण भइरहेको छ । स्वच्छ शैक्षिक वातावरणको लोप हुदै गइरहेको अवस्थामा सकारात्मक र रचनात्मक काम गर्ने प्रववृत्तिमा ह«ास आइरहेको छ ।

यो सबैलाई केलाएर हेर्दा त अझ धेरै साई केन्द्र खोलीनु पर्ने जस्तो लाग्छ । सांझको ठिक पांच बजे आरती सकिन्छ । सबै जना लाईन लागेर बाहिर निस्कन्छन् । त्यहाँ भएका हरेक कुरा बाट प्रभावित भएर साइबाबाको प्रसाद लिएर म पनि सुरु सुरु आफनो बाटो लाग्दछु । प्रार्थना नसकिउन्जेल बिचैबाट कोही उठेर गएको पनि देखिदैन ।

कति रमाइलो त्यो बाताबरण जहां राजनितिक गन्ध पनि भेटिदैन । कलेज पढ्ने विद्यार्थीमा भने यो मानसिकताको विकास भएको पनि देखिदैन ।शिक्षक पढाउँदैछ, पछाडि मजाले गफ चलिरहन्छ । बीचैमा उठेर निस्कनेको संख्या पनि कम हुंँदैन । शिक्षकले यस्तो गर्नु गल्ती हो भन्यो भने सबै विद्यार्थी एक आवाजमा अफिसको कोठामा फलानो टिचर भएन भनेर हल्ला गर्दै बीचैमा निस्कन्छन् अनि अफिसको ढोका घचघच्याउछन् ।

अनि कहांबाट पढाएको बुझनु । यो समस्या मेरो मात्र नभएर शायद सम्पूर्ण शिक्षक र प्रिन्सिपलको हुनसक्छ । यो समस्या विश्वविद्यालयको समस्या पनि भएको छ । कसैले मलाई सोध्छ भने डिग्री नभए पनि हुन्छ त्यो मानिसमा ज्ञानको भोक हुनुपर्छ र उसमा ज्ञानको भण्डार भयो भने ऊ संसारको जुनसुकै कुनामा पनि बिक्नसक्दछ ।

बस, यहाँ त जाँचंको दिन हाजिर भएर मात्र पनि डिग्री चाहिएको छ । विश्व प्रसिद्ध वैज्ञानिक एल्वर्ट आइन्सटाइन भन्दछन् चिट चोरेर पास हुनुभन्दा त सम्मान पूर्वक फेल हुनु नै जाति । डिग्री स्तरमा अध्ययनरत विद्यार्थी विभिन्न पेशामा लागेका हुन्छन् ।

यसैले उनीहरु व्यस्त हुन्छन् । उनीहरुका समस्या नभएका पनि होइनन् तर के कलेजमा ६.३० बजे हाजिर हुन नसक्ने बिद्यार्थी घरमा उठेर ६.३० बजे पढनबस्छ । यस्तै सोच्दै एक्लै बाटोमा हिंडिरहेको छु, जीवनको बाटोमा एक्लै हिंडिरहेझै लाग्छ ।

प्रतिक्रिया दिनुहोस्