ललितपुर महानगरको वार्षिक बजेट झन्डै ५ अर्ब

शौचालयदेखि शवदाह गृह निर्माणसम्म



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिकाले कोरोना विशेष नीतिलाई समावेश गरी आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम ल्याएको छ ।
जनप्रतिनिधि बहाल भएपछि यो चौंथो नीति तथा कार्यक्रम हो । महानगरपालिकाका अनुसार बजेटको आकार ४ अर्ब ८९ करोड १५ लाख ६२ हजार ५ सय १५ तय गरिएको छ ।

कोरोना विशेष नीतिलाई समावेश गरेर पूर्वाधार, खानेपानी, सम्पदा, सामाजिक विकास, शिक्षा, जनस्वास्थ्य, संस्कृति, वातावरण, कृषि पशु लगायत क्षेत्रमा विविध नीतिहरु ल्याएको हो । बुधबार पाँचौ नगरसभामा महानगरका मेयर चिरिबाबु महर्जनले कला, संस्कृति, सम्पदाले भरिएको महानगरपालिकाले अहिले कोरोनासंग लड्दै थप विकास कार्यलाई अघि बढाउनुपर्नेे खाँचो औल्याँउनुभयो ।नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर महर्जनले सबैको सहकार्य र समन्वयमा महानगरको हरेक सम्भावनालाई मूर्त रुप दिनु नै आजको मुख्य दायित्व रहेको बताउनुभयो ।

पूर्वाधार विकास अन्तर्गत प्रत्येक वडामा न्यूनत्तम एक सार्वजनिक शौचालय बनाउने नीति लिइएको छ । वडामा सार्वजनिक स्थल उपलब्ध भएसम्म एक हरियाली पार्क निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । महानगरभित्र शौचालय लगायत जुनसुकै सार्वजनिक पूर्वाधार अपाड्डता मैत्री बनाइने छ ।

त्यसैगरी टिकाभैरव राजकुलो १ र २ लाई महानगरभित्र ल्याउन पहल गरिने छ । कृषि योग्य जमिनमा सिंचाई गर्न पनि आवश्यक समन्वय गरिने नीति तथा कार्यक्रममा भनिएको छ । महानगरपालिका भित्र रहेका राजकुलो संरक्षण गर्दै र ऐतिहासिक ढुंड्डेधारा र इनारहरुको संरक्षण तथा संम्र्वद्धन गर्ने पनि नीति रहेको पनि मेयर महर्जनले जानकारी दिनुभयो ।

त्यस्तै ऐतिहासिक सप्तपाताल पोखरी निर्माण शुरु गर्ने छ । यसका साथै अन्य ऐतिहासिक पोखरी निर्माण कार्य शुरु गर्ने लक्ष्य लिएको छ । सामाजिक विकास अन्तर्गत दलित तथा आदिवासी जनजातिहरुको सीप र पेशालाई आधुनिकरण गर्ने, एक घर एक उद्यमीको अवधारणा अन्तर्गत उत्पादित सामानहरुको व्यवस्था मिलाउने, युवावर्गलाई स्वरोजगारका लागि वडाले बीउ पूँजीको व्यवस्था गर्ने, प्रत्येक वडामा कम्तीमा एक जेष्ठ नागरिक दिवा सेन्टर स्थापना गरिने पनि कार्यक्रम तर्जुमा गरिएको छ ।

त्यसैगरी नीति तथा कार्यक्रममा महानगरभित्र संञ्चालित सामुदायिक अध्ययन केन्द्र, धार्मिक प्रकृतिका विद्यालय। परियति शिक्षा र खुल्ला विद्यालयलाई व्यवस्थित गरिने उल्लेख गरिएको छ । आधारभुत तह (प्रारम्भिक बाल शिक्षादेखि कक्षा ८ सम्म) को शिक्षालाई अनिवार्य तथा निशुल्क र माध्यमिक शिक्षालाई निशुल्क गरिने छ । सामुदायिक विद्यालयमा शिक्षक विद्यार्थीको अनुपात र विषयगत दरबन्दी व्यवस्थापन हुने गरी दरबन्दी मिलान गर्दै लाने पनि नीतिमा भनिएको छ ।मातृभाषा माध्यम र विषय शिक्षा पनि प्राथमिकता दिने शिक्षा नीतिमा उल्लेख गरिएको छ ।

शंखमुलमा विधुतीय शवदाह गृह बनाउने, दमकल एम्बुलेन्स, शव बाहन एउटै स्थानबाट सञ्चालन गरिने, खुल्ला कसिंगर मुक्त महानगर बनाउने, सबै वडाहरुमा पार्क निर्माण र वृक्षरोपण कार्यक्रमलाई प्राथमिकता दिने पनि नीति ल्याइएको छ ।कार्तिक नाच, रुद्रायणी नाच र हरसिद्धि नाच लगायतका नाँचका लागि अक्षय कोषको व्यवस्था गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी चक्रपथ बाहिरका वडाहरुलाई कृषि पकेट एरिया घोषणा गर्ने, फलफूल तथा तरकारी बजारीकरणका लागि चिस्यान केन्द्र स्थापना गर्ने, रसायनिक मललाई विस्थापित गरी प्रांगारिक मलको प्रयोगलाई बढावा दिने छ । महानगरका कृषिमा आश्रित १४ दशमलब ५ प्रतिशत ४२ हजार ६ सय जनसंख्यालाई मध्यनजर गरी कृषि सूचना केन्द्र अद्यावधिक गर्ने पनि नीति लिइएको छ ।

कोरोना कारण विगत वर्षको बजेटको तुलनामा आगामी आर्थिक वर्षको बजेट करिब ३० प्रतिशतले घट्ने पनि मेयर महर्जनको भनाई रहेको छ । विगतको बजेट ५ अर्ब १७ करोड ९६ लाख ३२ हजार रुपैया“ रहेको थियो । महानगरपालिकाको बजेट अधिवेशन आउँदो असार १७ गते तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्