छिमेकमा तनाव



नेपालका दुई छिमेकी भारत र चीनबीच विकास हुँदै गएको तनावको अवस्थाले छिमेकी मात्र होइन अन्य मुलुक पनि चिन्तित बनेका छन् । कोरोना भाइरसको महामारीमा रुमलिएको विश्व गएको केही सातादेखि भारत र चीनबीचको तनावका कारण थप चिन्तित बनेको छ ।

भारत–चीन सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भारत–चीन सीमा क्षेत्रमा खटिएका दुई देशका सैनिक एक–आपसमा भिड्दा एक वरिष्ठ सैनिक अधिकृतसहित २० जना भारतीय सेनाले ज्यान गुमाएपछि अहिले दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ । चीनले आफ्नो सीमा क्षेत्रभित्रको ९० हजार वर्गकिलोमिटर जमिन भारतले कब्जा गरेको आरोप लगाएको छ भने भारतले ३६ हजार वर्गकिलोमिटर भारतीय जमिन चीनले कब्जा गरेको आरोप लगाउँदै आएको छ ।

दक्षिण एसियामा शक्तिशाली मानिएको भारत छिमेकी मुलुकसँंगको सम्बन्धका कारण विवादमा पर्नु नेपालका लागि पनि अप्रिय विषय हो । पछिल्लोपटक चीनसँग उसले बदला लिने उद्घोष गरेपछि त्यसको असर दक्षिण एसियाली मुलुक मात्र होइन एसियाका अन्य मुलुकमा समेत देखिनु स्वाभाविक छ ।

पछिल्लोपटक नेपालको नयाँ नक्सा जारी भएपछि भारतसँग सीमा जोडिएको मुलुक भुटानबाहेक सबै छिमेकीसँग ऊ कुनै न कुनै रूपको सीमा विवादमा फसेको छ । भारतीय मिडियाले त्यहाँको सरकारलाई तत्कालै युद्ध गर्नुपर्ने आशयका समाचार प्रकाशित गरिरहेका छन् भने भारतीय सरकारले चीनको सीमामा खटिएका सैनिकलाई विवेक प्रयोग गरेर हतियार प्रहार गर्ने अधिकार प्रदान गरेको छ ।

अहिले भारत–चीन युद्धका लागि आमुन्ने–सामुन्ने भएका हुन् कि भन्ने चिन्ता सर्वत्र छ । अहिले दुवै देशले दिएका वक्तव्यबाजी र चेतावनी खतरनाक सुनिन्छन् । भारतीय अखवारहरूले अहिले देखिएको तनाव एउटा पूर्णस्तरको द्वन्द्वमा बदलिन सक्ने चेतावनी दिएका छन् ।

भारतीय सञ्चारमाध्यममा चीनविरुद्ध अनेकन समाचार प्रकाशन तथा प्रसारण हुन थालेपछि चिनियाँ सरकारको आधिकारिक समाचारपत्र ग्लोवल टाइम्सले भारतलाई सन् १९६२ को युद्धको सम्झना गराउँदै युद्धको भाषा नबोल्न चेतावनी दिएको छ । सन् १९६२ मा सीमाको विषयलाई लिएर भएको युद्धमा भारतीय फौज पराजित भई एकतर्फीरूपमा युद्ध रोकेको घोषणा गरेको थियो ।

अहिले दुवै देशका सञ्चारमाध्यमले दिएका अभिव्यक्ति हेर्दा लडाइँ अवश्यम्भावीजस्तो लाग्छ । दुवै देशका सेना युद्धका लागि आदेश कुरेर बसेको जस्तो देखिन्छ । दुवै देशले अहिलेको समस्या कूटनीतिक वार्ताको माध्यमबाट खोज्नु भन्दा पनि युद्ध नै चाहेका हुन् कि भन्ने लाग्छ । चीन वर्तमान विश्वमा आफूलाई स्थापित गर्न खोजिरहेको छ भने भारत आन्तरिक समस्याका बाबजुद पनि विश्वमा आफ्नो शक्ति प्रदर्शनका लागि जस्तोसुकै कदम उठाउन तयार देखिन्छ ।

युद्ध नै समस्याको समाधान होइन । समस्याको समाधान भनेको वार्ता नै हो । विश्वमा चीन–भारत, नेपाल–भारत, भारत–पाकिस्तानमा मात्र सीमा समस्या देखिएको होइन, झन्डै ७० भन्दा बढी देशमा सीमा समस्या छ । सीमा समस्या सुल्झाउन ती देशहरू अहिले युद्ध होइन वार्तालाई प्राथमिकता दिइरहेका छन् । त्यस कारण भारत–चीन मात्र होइन दक्षिण एसियाली मुलुकमा देखिएको सीमा समस्याको समाधानका लागि वार्ताको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्