अझै डेढ खर्ब राजस्व असुल्न बाँकी



न्युज अफ नेपाल,काठमाडौं ।

चालू आर्थिक वर्ष सकिनै लाग्दा राजस्व असुलीमा पनि तीव्रता आएको छ । उद्योगी व्यवसायीले धमाधम कर तिर्न थालेपछि राजस्व असुलीमा तीव्रता आएको हो ।सरकारले दैनिक खर्च धान्न समस्या परेको भन्दै उद्योगी व्यवसायीलाई कर भुक्तानी गर्न ताकेता गर्दैगर्दा सर्वोच्च अदालतको आदेशले केही समय राहत पाएका व्यवसायीहरूले भने धमाधम कर भुक्तानी गर्न थालेका छन् ।

आर्थिक वर्ष सकिन तीन सातामात्रै बाँकी रहँदा विभागलाई चालू आर्थिक वर्षभरीको लक्ष्य भेट्टाउन भने अझै डेढ खर्ब रुपियाँको हाराहारीमा राजस्व असुली गर्नुपर्ने हुन्छ ।असार पहिलो सातासम्म आन्तरिक राजस्व विभागले २० अर्ब रुपियाँभन्दा बढी राजस्व असुली गरेको विभाग स्रोतले जनाएको छ ।

विभागका अनुसारमा सो अवधिमा आयकरतर्फ ११ अर्ब २३ करोड र मूल्य अभिवृद्धि करतर्फ ७ अर्ब १५ करोड रुपियाँ असुली भएको छ ।
त्यस्तै अन्तःशुल्क २ अर्ब १६ करोड रुपियाँ राजस्व असुली गरिसकेको छ । विभागले असार महिनाभित्र ८२ अर्ब रुपियाँ राजस्व असुली गर्ने लक्ष्य लिएको छ । यस अर्थमा असार पहिलो सातामा नै विभाग २५ प्रतिशतभन्दा बढी राजस्व असुली गर्न सफल भएको छ ।

आन्तरिक राजस्व विभागले बन्दाबन्दीपछि झण्डै ६२ अर्ब रुपियाँ राजस्व असुली गरेको छ । सरकारले चालू आर्थिक वर्षमा आन्तरिक राजस्व विभागलाई ४ खर्ब ८६ अर्ब रुपियाँ राजस्व असुल गर्ने लक्ष्य दिएको थियो । हालसम्म करिब सवा ३ अर्ब रुपियाँ राजस्व असुली भएको विभागले जनाएको छ ।

बन्दाबन्दीका कारण चैत महिनामा राजस्व संकलन रोकिएपछि सरकारले जेठ अन्तिम साता र असार पहिलो साता भन्दै कर तिर्न ताकेता गर्दै आएको थियो । तर, सर्वोच्च अदालतले सरकारले तोकेको समय सीमा खारेज गर्दै असार ३० गतेसम्म पु¥याइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्