देश नबन्दाको बहस



डा. टीकाराम पोखरेल ।

देश बनाउनुपर्छ भनेर गफ गर्न शुरु गरेको झन्डै एक शताब्दी पुग्यो । जनतालाई देश बनाउने सपना बाँडेर राजनीतिक आन्दोलन गर्न थालेको पनि आठ दशक नाघिसक्यो । विभिन्न रंगका आन्दोलन र राजनीतिक व्यवस्था परिवर्तन भएसँगै नवउदय भएका नेताहरुले नयाँ नेपालको नारा दिएको पनि दुई दशक भयो । तर जति पटक देश बनाउने गफ गरे पनि देश बनेको अनुभूति भएन । देश नबनेपछि देश किन बनेन भन्ने बहस शुरु भयो । देश नबन्नुमा हरेक व्यवस्थाले अघिल्लो व्यवस्थालाई, हरेक सत्ताले अघिल्लो सत्तालाई, हरेक सरकारले अघिल्लो सरकारलाई, हरेक मन्त्रीले अघिल्लो मन्त्रीलाई, हरेक कर्मचारीले अघिल्लो कर्मचारीलाई दोष दिन्छन् । नाच्न नजान्ने आँगन टेढो उखानको चरितार्थ भयो ।

नेपाल किन बनेन ? भनी सामाजिक सञ्जालमा गरिएको एक मत सर्वेक्षणमा सबैभन्दा बढी अदूरदर्शी राजनीति नै देश नबन्नुको मुख्य कारण भएको सामाजिक सञ्जाल प्रयोगकर्ताले औँल्याए । त्यसपछि क्रमशः भ्रष्टाचार, राजनीतिक खिचातानी, अशिक्षित नेता, दुर्बल कर्मचारी संयन्त्र, नेताको मालिक हुने प्रवृत्ति, गफाडी संस्कृति, गैरजिम्मेवार नागरिक, नकारात्मक सोच, अनुशासनहीनता र इमानदारिताको खँडेरीजस्ता कुरालाई देश नबन्नुका कारण हुन् भनी सर्वसाधारणबाट औँल्याइए ।

नेपाल किन बनेन, कसले बन्न दिएन र कसरी बन्छ ? प्रश्न अति नै गहन छन् । तर यी प्रश्न गहन भएर पनि औचित्यपूर्ण प्रश्न होइनन् भन्ने मत पनि छ । नेपाल किन बनेन, निष्कर्षविहीन बहसको थालनी हो, निष्कर्षविहीन बहसको थालनी गर्नुहुँदैन भन्नेहरुका दृष्टिमा प्रश्नहरु जति बेकार लाग्छन्, हरेक कुराको निकास हुन्छ भन्नेका दृष्टिमा प्रश्न त्यत्तिकै महत्वपूर्ण पनि लाग्छन् । किन बनेन एउटा महत्वपूर्ण प्रश्न हो, नबन्नुको दोषी को भन्ने झनै महत्वपूर्ण प्रश्न हो र कसरी बन्छ भन्ने त अझ अति नै महत्वपूर्ण अर्को प्रश्न हो । त्यसैले यी प्रश्नहरुको उत्तर फरक–फरक खोजिनुपर्छ । नबन्नुको दोषी को हो, त्यो नै किन बनेन भन्ने प्रश्नको उत्तर हुँदैन, न त कसरी बन्छ भन्ने कुरा नै किन बनेनको उत्तर हुन सक्ला । नबनेको हिजो हो, बन्ने भोलि हो । हिजो जे–जे कारणले नेपाल बनेन, अब त्यही कारणहरुको निराकरणले मात्र नेपाल बन्दैन । हिजो नेपाल नबन्नुका कारण साना थिए, आज ठूला भैसके, हुन सक्छ अझै नेपाल बनाउने अभियानमा लागिएन भने ती कारणहरु अझ विकराल हुन सक्छन् । घाउको उपचार सानैमा गरेको भए सानो औषधिले हुने थियो तर ठूलो भैसकेपछि ठूलै उपचार चाहिन्छ, विकराल नै भैसकेपछि त औषधिले पनि काम गर्दैन ।

नेपाल बन्न नसके पनि नेपाल कसरी बनाउने भन्ने सन्दर्भमा विचारको ओइरो लागेको देख्दा भने नेपाललाई गरिब नै भन्नु नपर्ने हो कि जस्तो देखिन्छ । नेपालले पनि विचारको महासागरमा पानी थप्न सक्छ भन्ने कुरा नेपाल किन बन्न सकेन भन्ने सन्दर्भका विचारहरुले पुष्टि गरेको छ । संसार विचारको महासागर हो । जहाँ जति धेरै विचार आउँछन् त्यो समाज त्यति नै धनी मानिन्छ । फेरि विचारविज्ञान यस्तो विज्ञान हो जो विचारहरु चाहे ती विपरीतधु्रवी नै किन नहुन् आफैँमा भने सत्य हुन्छन् । मात्र विचारकले जुन दृष्टिले विचार राख्छ, हेर्ने र बुझ्नेले पनि त्यही दृष्टिले हेर्नु र बुझ्नुपर्दछ । महात्मा गान्धीले भनेका छन्– तिम्रा लागि त्यही सत्य हो, जुन तिमी देख्छौ । यस दृष्टिमा नेपाल किन बनेन भन्ने सन्दर्भमा आएका जे–जति विचारहरु छन् ती विचारहरु आफैँमा सत्य छन् । तर विचारणीय कुराचाहिँ के हो भने, देश बनाउने यति धेरै विचार भएर पनि नेपाल बनाउन ती विचारहरु किन कामयावी भएनन् । किन ती विचारहरु नेपाल बनाउने कुरामा फिट हुन सकेनन् । कतै फिट हुँदैनन् भने ती विचार के शब्दजाल मात्र हुन् त ? शब्दजाल मात्र त अवश्य होइनन्, बरु बोक्रासहितका गुदी हुन् कि ?

नेपाल किन बनेन भन्ने सन्दर्भको बहसचाहिँ बोक्राको होइन गुदीको खोजी हो । सत्यमाथि पनि परमसत्यको खोजी हो । परमसत्यतामा पुगेपछि नै देश नबन्नुको सही कारण भेटिन्छ । रामायणमा हनुमानसम्बद्ध कथा छ– लक्ष्मण युद्धमा घाइते भएपश्चात् रामले बुटी खोजी ल्याउन हनुमानलाई अराए । बुटी चिन्न नसकेका हनुमानले बुटी भएको पहाड नै ल्याएर रामका अगाडि राखिदिए । आखिर बुटी रामले नै पहिचान गर्नुप¥यो । नेपाल किन बनेन भन्ने सन्दर्भको बहसमा पनि जे–जति विचार आएका छन् ती हनुमानका पहाड बनेर आएका छन् । विचारको एकमुष्ट गर्ने हो भने यो एउटा पहाड हो तर त्यहाँ बुटी छ । मात्र पहिचान गर्न सक्नुपर्दछ ।

नेपाल किन बनेन भन्ने प्रश्नमा केही पूरक प्रश्नहरु अवश्य आउँछन् । नेपाल आफैँ बन्न नसकेको हो कि अरुले बन्न नदिएको हो । बन्न नदिएको हो भने त्यो बन्न नदिने को ? के बन्न नदिने शक्तिलाई मात्र निस्तेज पार्ने हो भने नेपाल आफँै बन्छ त ? जस्ता बहसका बीचमा नेपाल किन बनेनको बहस अगाडि बढिरहेको छ । अहिलेसम्म मूलतः बहस कसरी बन्छ भन्दा पनि किन बनेनमै केन्द्रित छ । बन्न नदिने पात्र, प्रवृत्ति र परिस्थितिलाई औंल्याउने काम पनि हुँदै नभएको होइन । तर बन्न नसक्नुको कारण र बन्न नदिनेको खोजी जति व्यापक बनेको छ, बनाउन सक्नेको खोजी भने त्यति व्यापक हुन सकेको छैन ।

‘कुण्ड–कुण्ड पानी मुण्डमुण्ड बुद्धि’ भन्ने नेपाली उखान नै छ । जो जुन कित्तामा छन् तिनले त्यही कित्तामा बसेर बुद्धि प्रक्षेपण गर्दछन् । नेपाल किन बनेन भन्ने बहसको सन्दर्भ पनि यसबाट अछूतो छैन । महिलाहरु भन्छन्– महिलाहरुलाई पछाडि पारिएकाले नेपाल बनेन ।दलितहरु दाबी गर्छन्– नेपाल नबन्नुको प्रमुख कारण नै जातीय विभेद हो । आदिवासी जनजातिका विचारमा आदिवासी समुदायलाई मूलधारबाट बाहिर पारिनु नै नेपाल नबन्नुको प्रमुख कारण हो । लेखक, पत्रकार, शिक्षाविद्, डाक्टर, इन्जिनियर प्रश्न गर्छन्– विद्वत् वर्गसँग सल्लाह नलिएपछि कसरी नेपाल बन्छ ? मजदुर भन्छन्– मजदुर र मालिकबीचको खाडल नै नेपाल नबन्नुको प्रमुख कारण हो ।उद्योगपति भन्छन्– उद्योगधन्दाको वातावरण धुमिल हुँदा देश बिग्रियो । अर्थविद् भन्छन्– आर्थिक क्रान्ति नै भएन । सर्वसाधारण भन्छन्– शब्दमा क्रान्तिका कुराले देश बन्दैन । विद्यार्थी भन्छन्– अल्छी प्राध्यापकले देश बिगारे ।प्राध्यापकभन्छन्– अराजक विद्यार्थीले देशलाई समेत पछारे । राजनीतिज्ञ भन्छन्– जनता जिम्मेवार हुन सकेनन् । जनता भन्छन्– नेपाल नबन्नुको एकमात्र कारण राजनीतिक दल र दलका नेता हुन् ।

नेपाल नबन्नुको कारणका रुपमा आएका पहाड विचारमध्येका केही विचार यिनै हुन् । यी दाबीहरुमध्ये कुनचाहिँ दाबीलाई ठीक होइन भन्ने ? सब दाबी आ–आफ्ना ठाउँमा ठीक छन् । तर प्रश्न कहाँनेर छ भने महिला, दलित र जनजातिलाई पछि पार्ने, विद्वत् वर्गका कुरा नसुन्ने, मजदुर र मालिकबीच खाडल खन्ने, औद्योगिक वातावरण धुमिल बनाउने, आर्थिक क्रान्ति नगर्ने, प्राध्यापकलाई अल्छी र विद्यार्थीलाई अराजक बनाउने, जनतालाई जिम्मेवार नबनाउने, नेतालाई देश बिगार्न दिनेचाहिँ को ? ‘ऊ’ ? ‘ऊ’ हो भने अनि त्यो ‘ऊ’ भन्ने पात्रचाहिँ को हो नि ? के त्यो ‘ऊ’ भित्र मचाहिँ पर्दिन ?

नेपालीका केही मौलिक विशेषता छन् । अरुको कुरा काट्ने, अरुलाई दोष दिने, असन्तुष्टि व्यक्त गर्ने, हरेक कुरालाई नकारात्मक ठाउँमा लगेर टुंग्याउने जस्ता गुण नेपालीका पहिचानसँग जोडिन पुगेका छन् । त्यसमा पनि दोष शतप्रतिशत अरुलाई दिने र जश जति शतप्रतिशत आफ्नो भनी दाबी प्रस्तुत गर्ने प्रवृत्ति आमनेपालीको रोगको रुपमा मौलाउँदै जान थालेको छ । नेपाल किन बनेन भन्ने सन्दर्भमा पनि जे–जति विचारहरु आएका छन्, त्यसमा मूलतः दोषी अरुलाई नै देखाउन खोजिएको छ । तर त्यो ऊ वा अरुभित्र आफूलाई पनि समाहित गर्ने साहस कसैले पनि गरेको छैन । दोषी हामी हौँ भन्नेसम्मका अपवाद देखिए पनि ‘म’लाई दोषबाट उन्मुक्ति दिने प्रयास प्रायः सबै विचारकहरुबाट भएको छ ।

अपजश अरुको भागमा र जश आफ्नो भागमा अंशवण्डा गरेर नेपाल कहिल्यै बन्दैन । त्यसैले अपजशको जिम्मेवारी आफू लिने र जश अरुलाई पनि दिने संस्कृतिको विकास हुनुपर्दछ । म एकजनाले गरेर के हुन्छ र ? भन्ने लघुताभाष र जिम्मेवारीबाट पन्छिने रोग नै नेपाल नबन्नुको मूल जड हो । मूल जरोलाई छोडेर हाँगा र पाततिर दौडिई कसरी नेपाल बन्ला ? अब देश बनाउने हो भने ‘ऊ’ बाट बन्ने आशा गर्ने होइन, ‘म’बाट बनाउनशुरु हुनुृपर्दछ । मेरो शौचालयदेखि लिएर बेड, कोठा, घर, टोल, जिल्ला, क्षेत्र र देश अरु कसैले बनाएर बन्दैन, मैले बनाए मात्र बन्छ । त्यसैले देश नबन्नुको प्रमुख जिम्मेवार ‘म’ र ‘म’जस्तै हरेक ‘म’हरु हुन्, ‘ऊ’हरु होइनन् ।हरेक ‘म’हरु देश बनाउन जुटौँ । देश बन्छ ।

प्रतिक्रिया दिनुहोस्