आधुनिक खानाले रोग धेरै



खाना नै नपाएर कुपोषित हुनु एउटा कुरा हो तर आजकल मानिसहरु खान पाएर पनि कुपोषित भइरहेका छन् । कोही मोटाएर ढुसढुस छन् भने कोही दुब्लाएर ख्याउटे । आखिर किन यस्तो भइरहेको छ त ? आजकलका बजारिया खानामा पोषक तत्व नहुनु नै यसको मुख्य कारण हो । यी बजारिया खानामा स्वास्थ्यलाई हानि गर्ने तत्वहरुचाहिँ प्रशस्त मात्रामा रहेका छन् ।

आजकल खेतबारीमा उत्पादित ताजा खानामा भन्दा मानिसहरुको रुचि बजारिया फास्ट फूड एवं पाकेटबन्द तयारी खाना (जंक फूड) तिर बढी छ । पिज्जा, बर्गर, मोमो, चाउमिन, चिप्स, डोनट, केक, दालमोट, कोल्ड डिङ्क्स आदि खाँदा मानिस आधुनिक भएको महसुस गर्छन् । यस्ता खानाको स्वाद बढाउनका लागि बोसो, तेल, नून, चिनी, विभिन्न मसलाहरु तथा स्वाद वृद्धि गर्ने अजिनोमोटोलगायतका रसायनहरु मिसाउने गरिन्छ, जसले गर्दा मानिसको स्वास्थ्यमा हानि पुगिरहेको छ ।

यस्ता खानामा कोलेस्ट्रोल वृद्धि गर्ने, हृदयघात बढाउने, मोटोपन बढाउने, डायबिटिज गराउने, रक्तचाप बढाउने तत्वहरु हुने भएकाले विशेष गरी शहरीया मानिसमा मोटोपनको समस्या धेरै देखिएको छ । साथै नसर्ने खालका रोगहरु पनि वृद्धि भएका छन् । यस्ता खाना खाने मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ देखिए पनि भित्र कुपोषित अवस्थामा हुन्छन् । कतिपयचाहिँ दुब्लाएर ख्याउटे नै भएका हुन्छन् । यसको मुख्य कारण बजारिया प्रशोधित खाना नै हो । किनभने यस्ता अधिकांश खानामा पौष्टिक तत्व ज्यादै कम हुन्छ ।

१. बजारमा पाइने पाकेटबन्द खानाहरु, प्रशोधित खानाहरु एवं ‘रेडी टु इट’ खानाहरु सकेसम्म कम खानुपर्छ । किनभने यस्ता खानालाई सुरक्षित राख्न र स्वाद बढाउनका लागि मानिसको स्वास्थ्यलाई हानि गर्ने तत्वहरु राखिएको हुन्छ ।

२. बढी गुलिया, नुनिला खाना, क्यालोरी बढी भएका खाना कमसे कम मात्र खानुपर्छ ।

३. खाना सकेसम्म घरमै र घरकै हुनु उचित हो । आफ्नो खानामा सकेसम्म ताजा तरकारी, फलफूल, ड्राइफ्रुट्स, सम्पूर्ण अन्नलाई प्राथमिकता दिनुपर्छ ।

४. आधुनिक खानालाई भन्दा स्थानीय तथा क्षेत्रीय खानालाई जोड दिनुपर्छ । बेमौसमी तरकारी एवं फलफूलभन्दा मौसमअनुसारका तरकारी र फलफूल खानमा जोड दिँदा स्वास्थ्यमा बढी लाभ पुग्छ ।

५. दैनिक तीनदेखि चार लिटर पानी पिउने र नियमित व्यायाम पनि गर्ने गर्दा स्वास्थ्यलाई लाभ पुग्छ ।

प्रतिक्रिया दिनुहोस्