प्रस्ताव आए अरू चलचित्र पनि खेल्छु: अनिल गुरुङ



नेपाली राष्ट्रिय फुटबल टोलीकापूर्व कप्तान अनिल गुरुङको मन पनि आजभोलि चलचित्रमा पुगेको छ । पूर्व अन्तर्राष्ट्रिय खेलाडी अनिलले ‘भकुन्डो’ नामक चलचित्रसँगै नेपाली चलचित्रमा डेब्यु गर्दै हुनुहुन्छ । हाल लकडाउनले गर्दा चलचित्रको सुटिङ रोकिएको अवस्था छ । अनिल यो चलचित्र रिलिज भएसँगै नेपालको चलचित्र उद्योगमा एक नयाँ अभिनेताका रूपमा स्थापित हुन सक्नेछ । फुटबलका सुपरस्टार अनिलका लागि यो चलचित्रले राम्रो व्यापार गरेमा अन्य चलचित्रको पनि प्रस्ताव आउन सक्नेछ । उहाँसँग यही चलचित्रको विषयमा नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको संक्षिप्त कुराकानी:

तपाईं फुटबलको साथसाथै कसरी चलचित्रमा खेल्न लाग्नुभयो ?
चलचित्र ‘भकुण्डो’ दुईवर्ष जतिभयो शुरू भएको । फुटबलसम्बन्धी चलचित्र बनाउने भनेर सुन्दर थापादाइ (पूर्वफुटबलर) आउनुभयो । मेरो नाम छनोट भयो । पहिले त मैले पत्यारै गरिनँ र गम्भीर पनि थिइनँ । लौ त बनाउने भए बनाउनु न भने ।मैले शुरूमा आफै अभिनय गर्न मानेको थिइनँ । तर अरूकसैलाई नलिने भनेपछि म नै चलचित्रमा खेल्ने साइत जुरेको हो ।

भकुन्डो चलचित्र कस्तो कथामा बनेको छ ?
यो चलचित्रमा मेरै बारेमा बनेको हो । यसको ८० प्रतिशत मेरै आत्मकथा छ भने बाँकी नेपाली फुटबल बारेको कथा समेटिएको छ । यसमा अनिल गुरुङ बच्चादेखि कसरी फुटबलमा लागेको कथा छ । मेरो फुटबल करियरमा स्थापित हुन र फुटबलमा आएको उतारचढाव समेटिएको छ । भन्नै पर्दा यो नेपालमा पहिलो पटक कुनै खेलाडीको कथामा बनेको चलचित्र हो ।

सुटिङ कहाँकहाँ गरिएको छ ?
चलचित्रमा बच्चाको भूमिकाको दृश्यचाहिँ मुस्ताङमा सुटिङ गरिएको हो । अन्यचाहिँ काठमाडौं र पोखरामा सुटिङ गरिएको छ । अहिलेसम्म ८० प्रतिशत सकिसकेको छ, २० प्रतिशतको सुटिङ बाँकी छ । जसमा राष्ट्रिय टिमसँगको प्रशिक्षण सुटिङ गर्नुपर्ने रहेको छ र एउटा गीत पनि बाँकी छ । लकडाउनले गर्दा यसको सुटिङ भइरहेको छैन । सायद लकडाउन पूर्णरूपमा खोलेमा यसको सुटिङ सकाउनेछ ।

तपाईंलाई खेलाडीबाट अभिनेता बन्न गाह्रो कतिको भयो ?
त्यस्तो त गाह्रो भएन, पहिलादेखि म्युजिक भिडियोमा प्रस्ताव आइरहेको नै हो । तर फुटबलमै करियर बनाउने ध्यान भएकाले सबै प्रस्ताव स्वीकार गर्न सकिनँ । यो चलचित्र खेल्नका लागि मैले एक महिनाजति अभिनयको कक्षा लिएको थिएँ । क्यामेराको सामना गर्न त गाह्रो भएन, अभिनय पनि गर्दै जाँदा पछि सजिलो भएर गयो । फेरि फुटबलकै सम्बन्धमा भएकाले त्यति गाह्रो पनि भएन । नामै छ भकुन्डो, त्यस्तो गाह्रो भएन ।

फुटबलसँगै तपाईंले भकुन्डोलाई समय कसरी मिलाउनुभयो ?
फुटबल खेल्दै गर्दा समय दिनचाहिँ गाह्रो नै भएको हो । म फुटबल खेलिरहेको हुन्छु, चलचित्रका लागि समय मिलाउनुपर्ने हुन्छ । समयका लागि गाह्रो नं भयो । जसोतसो डेट दिएर काम गरेको यो चलचित्र रिलिज भएपछि कस्तो बन्यो हेर्नुपर्छ ।

भकुन्डोपछि अर्को चलचित्रको प्रस्ताव आएमा तपार्इं स्वीकार गर्नुहुन्छ ?
यो भकुन्डोलाई नेपाल र नेपालबाहिर रिलिज गर्ने हो । यो चलचित्र भनेको खेलसम्बन्धी दर्शकले हेर्नेछन् । पछि राम्रो भएमा यो चलचित्र चल्न सक्नेछ । यदि प्रस्ताव आएमा अरू चलचित्र खेल्न सकिन्छ । चार पाँच महिना अभिनयको प्रशिक्षण लिएर खेल्न सकिनेछ ।

चलचित्रमा त खेल्नुभयो, तपाईंको नेपाली चलचित्रमा मनपर्ने कलाकार को हुन् ?
मैले नेपाली चलचित्र हेर्न जानेदेखि राजेश दाइ करिश्मा दिदीको चलचित्र हेर्दै आएको हुँ । उहाँहरूको जोडी निकै जमेको देखिन्छ । उहाँहरूले चलचित्रमा अभिनय गर्दा सजिलो जस्तो लागेको थियो । तर आफूले गर्दाचाहिँ निकै मेहनत गर्नुपर्ने महसुस भएको छ ।

तपाईंले चलचित्रबाट कस्तो अपेक्षा गर्नुभएको छ ?
यो चलचित्रको नाम नै छ भकुन्डो । मेरो चलचित्र फुटबललाई मायागर्ने दर्शकहरूले हेर्नुहुन्छ भन्ने मलाई लागेको छ। अर्को मेरा प्रशंसकले पनि यो चलचित्र हेरेर मलाई हौसला बढाइदिनुहुन्छ भन्ने मेरो अपेक्षा छ । अहिले त कोरोनाको कहर छ, समयचाहिँलाग्ला जस्तो छ ।

प्रतिक्रिया दिनुहोस्