होसियार ! एलर्जीले दीर्घरोगी बनाउला !



भगवती तिमल्सिना ।

तपाईंको शरीरमा अकस्मात् चिलाउने, रातो डाबर देखा पर्ने वा नीलो डाम देखिने, ओठ–मुखमा खटिराजस्तो देखिने, सधैँ बिहानीको समयमा हाच्छिउँ आएर हैरान पार्ने त गरेको छैन ? यदि यस्तो छ भने तत्काल उपचार गराइहाल्नुस्, यसले जटिल खालको दीर्घरोगी पनि बनाउन सक्छ । यो समस्याको समयमै पहिचान गरी उपचार गरेको खण्डमा तपाईं जीवनभर यस्ता समस्याबाट मुक्त हुनुहुन्छ ।

कहिलेकाहीँ शरीरमा रोग–प्रतिरोधात्मक क्षमता नहुन पनि सक्छ । यस्तो अवस्थामा रातो बिमिरा देखिने, चिलाउनेजस्ता एलर्जिक समस्या हुनसक्छ । यस्तो एलर्जीलाई सामान्यरुपमा लिन नहुने गत महिना धुलिखेल अस्पतालमा पहिलोपटक आयोजना गरिएको एलर्जिक सम्मेलनमा
जानकारी गराइयो ।

धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल र युनिभर्सिटी रेगनसबर्ग जर्मनीको संयुक्त आयोजनामा सञ्चालित दुईदिने एलर्जिक सम्मेलनमा नेपालका मेडिकल कलेजका छाला, नाक, कान, घाँटी, छाती, बालरोग विभागका विशेषज्ञहरुको
सहभागिता रहेको थियो ।

एलर्जी नै दमको कारण रहेछ

डा. सुनिला शाक्य, प्रसूति विशेषज्ञ

एलर्जी नै दमको मूल कारण हो भन्ने कुरा म आफैं चिकित्सक भए पनि थाहा थिएन । यो सम्मेलनले मेरा आँखा खोलिदिएको छ मेरो बुबालाई बाल्यकालमा चिलाउने, खटिरा आउने हुँदै अहिले दमले सताएको छ । यदि यो विषयमा म जानकार भएको भए समयमै उपचारको बाटो रोज्ने थिएँ । धुलिखेल अस्पतालले यस विषयमा अनुसन्धान गरी औषधि नै भित्र्याइसकेको रहेछ तर मेरो जानकारीमा थिएन । यो सम्मेलन चिकित्सकहरुकै लागि शिक्षामूलक र जानकारीमूलक रहेछ । विदेशमा भए हरेक समय विभिन्न विषयमा अपडेट हुन पाइन्छ तर नेपालमा त्यस्तो नहुँदा अन्योलको अवस्थामा हामी चिकित्सकहरु नै गुज्रिरहेका छौं ।
कतिपय अवस्थामा प्रसूति महिला र बच्चामा पनि यस्ता खाले समस्या आइरहेका हुन्छन् । आज मैले यो सम्मेलनमा भाग लिएर धेरै कुरा सिक्ने मौका पाएँ । नवजात शिशुलाई गाईको दूधको पनि एलर्जी हुनसक्छ । सुत्केरी आमाले गाईको दूध खाँदा आमाको दूधबाट बच्चामा जाने हुनाले गाईको दूधको सट्टा वैकल्पिक दूध खान सक्नेबारेमा समेत सम्मेलनमा महत्वपूर्ण जानकारी पाइयो ।
(कुराकानीमा आधारित)

नेपालमा पहिलोपटक गरिएको यो सम्मेलन निकै प्रभावकारी हुने काठमाडौ विश्व विद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ माकजूले बताउनुभयो । नेपालमा नयाँ विषयमा अध्ययन–अनुसन्धान गर्न र आमजनताको स्वास्थ्य समस्या समाधान गर्न काठमाडौं विश्वविद्यालय लागिपर्ने बताउँदै यो सम्मेलन नेपालमा गराउन सफल भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । एलर्जी विभिन्न रोगको माध्यम भएकाले यसको रोकथामका लागि काठमाडौं विश्वविद्यालयले अनुसन्धानात्मक कोर्स नै तय गरेर अघि बढ्ने योजना बनाएको प्रा.डा.माकजूको भनाइ छ ।

सन् २०१२ देखि एलर्जी के हो र कसरी हुन्छ भन्ने विषयमा डर्माटोलोजी विभागको नेतृत्वमा यससम्बन्धी कार्य थालनी गरिसकेको र यसमा जर्मनी मित्रहरुले सघाउँदै आएको उहाँले चर्चा गर्नुभयो । काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका डर्माटोलोजी विभागका प्रमुख तथा सम्मेलन आयोजक समितिका सदस्य सचिव डा. धर्मेन्द्र कर्ण पनि युनिभर्सिटी रेगनबर्गसँगको सहकार्यमा सन् २०१२ देखि छालाको एलर्जीका बारेमा परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएकोमा खुशी हुनुहुन्छ ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स विभागका डिन डा. राजेन्द्र कोजूले एलर्जी धेरै किसिमको हुने हुनाले पहिलो कुरा त केको एलर्जी हो भन्ने बारेमा पहिचान गर्नु जरुरी हुने कुरामा जोड दिनुभयो । प्रत्यक्षरुपमा विशेषज्ञहरुको अनुभवका आधारमा परीक्षण गरी एक–आपसमा ज्ञान र सीप साटासाट गर्ने उद्देश्यले यो सम्मेलन पहिलोपटक नेपालमा गरिएको डा. कोजू बताउनुहुन्छ ।

एलर्जीको पहिचान र उपचार
नेपालका बिरामीमा देखा पर्ने एलर्जी घरभित्र हुने धूलो, विशेष गरी ओछ्यान, सिरानी, खाटमुनि जम्मा हुने धूलोबाट उत्पन्न हुने हाउस डस्ट वान र टु पहिलो नम्बरमा रहेको पाइयो । त्यस्तै दोस्रो नम्बरमा खाद्य स्टोरमा खानेकुरामा पाइने स्टोरेज माइट रहेको पाइयो । तेस्रो नम्बरमा रुखमा पालुवा आउने समयमा हुने एलर्जी पनि उत्तिकै गम्भीर पाइयो । साथै चौथो नम्बरमा कुकुर, बिरोलो, मुसाजस्ता घरपालुवा जनावरबाट निस्कने रौंहरुबाट पनि एलर्जी हुने गरेको प्रमाणित भएको छ ।

अहिलेसम्मको चलनमा छातीको समस्या भयो भने छाती विभागको चिकित्सकले औषधि दिने, बालरोगको समस्या भयो भने बालरोग शाखाले, नाकको एलर्जी भयो भने यसैसँग सम्बन्धित विभागले हेर्ने हुँदा बिरामीको रोग पहिचान पनि नहुने र खर्च पनि धेरै हुने गरेको अवस्था छ । पहिला नै केको एलर्जी हो भन्ने बारेमा छालाको माध्यमबाट पहिचान गरी सावधानी अपनाउने र समयमै उपचार गर्ने गरेमा धेरै रोगबाट छुटकार पाइने डा. कर्ण बताउनुहुन्छ । मानिसको शरीरअनुसार खानाबाट पनि एलर्जी हुनसक्छ । यस्तो अवस्थामा कुन खानाबाट एलर्जी भएको छ, सोही खानेकुरा परीक्षण गरी छालामा आधा घण्टा सुईका माध्यमबाट उक्त खाना, फलफूलको रस राखेर हेर्न सकिने भएकाले अब आफूलाई कुन कुराको एलर्जी छ भनेर पहिचान गर्न सजिलो भएको छ ।

एलर्जी हुने वा नहुने खुट्याउन सुईका माध्यमबाट छालामा राखेर २० देखि ३० मिनेट हेरिन्छ, रातो डाबर उठेमा एलर्जी भएको पहिचान हुन्छ । अर्को दीर्घकालीन एलर्जीका बारेमा पत्ता लगाउन प्याच परीक्षण गरिन्छ । यो परीक्षण गर्दा ७२ घण्टासम्म पानी पार्नुहुन्न, त्यसैले ढाडमा राखेर परीक्षण गरिन्छ । त्यति बेरमा रातो डाबर उठेमा एलर्जी भएको प्रमाणित हुन्छ । विशेष गरी दैनिक गतिविधिमा आधारित एलर्जीलाई नै प्राथमिकतामा राखी परीक्षण र उपचार गरिन्छ । नाकको एलर्जी छ भने मेजेर प्रोभेक्सन परीक्षणका माध्यमबाट पहिचान गरिन्छ । यो विशेष गरी धेरै हाच्छिउँ आउने र दमका बिरामीमा पल्मोनरी फङ्सन परीक्षण गरिन्छ । त्यस्तै छातीको परीक्षण (लङ फङ्सन परीक्षण) गरी फोक्सोमा असर छ या छैन भनेर हेरिन्छ । यस्तो अभियान नेपालमा पहिलोपटक धुलिखेल अस्पतालमा शुरु गरिएको हो ।

अब उपचारका
लागि विदेश जानुपर्दैन
डा. संगीता शाक्य, बालरोग विशेषज्ञ

एलर्जी के हो भन्नेबारेमा हरेक चिकित्सकले जान्नै पर्ने रहेछ । यो सम्मेलनमा भाग लिएर नयाँ–नयाँ कुरा सिकियो । परीक्षण विधि सहज र सजिलो रहेछ । आधा घण्टामै परिणाम आउँदो रहेछ । म आफू पेडियाट्रिक सोसाइटीको सदस्यसमेत रहेकाले यहाँबाट फर्कनासाथ थप तालिमका लागि जोड दिनेछु ।
पहिला निकै ठूलो र जटिल समस्याका रुपमा लिएको एलर्जी समयमै ज्ञान हासिल गर्ने हो भने नेपालमै सजिलै परीक्षण र उपचार हुने रहेछ । आफूले थाहा नपाउँदा एकजना बिरामीलाई भारत पठाइयो । अब एलर्जीका बिरामीले उपचारका लागि विदेश गइरहनु नपर्ने भयो ।
(कुराकानीमा आधारित)

डा. कर्ण भन्नुहुन्छ, ‘पहिलो चरणमा समस्याको पहिचान गरिन्छ र परामर्श गरिन्छ । त्यसपछि समस्या कम गर्नका लागि इमिनोथेरापी गरिन्छ ।’ उहाँका अनुसार रोगसँग लड्न नसक्ने अवस्थाका बिरामीका निम्ति प्रतिरोधात्मक क्षमता विकासका लागि औषधिसमेत प्रयोगमा आइसकेको छ । यो औषधिको खासै साइड इफेक्ट नभएको र एक कोर्स पूरा गरेपछि जीवनभरि सुरक्षित राख्न मद्दत गर्छ । धुलिखेल अस्पतालले सन् २०१२ देखि हालसम्म ४ हजारभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरी उपचारसमेत गर्दै आएको छ ।

यो परीक्षणले डस्टमाइट एलर्जी नेपालमा धेरै भएको प्रभाणित गरेको छ । यो समस्यामा ५ वर्षमुनिको बच्चालाई छाला चिलाउने हुन्छ भने त्यसभन्दा माथिका व्यक्तिलाई धेरै रुघा लाग्ने र दम हुने हुन्छ । धेरै रुघा लाग्नेलाई कालान्तरमा दम हुने सम्भावना बढी भएको पनि चिकित्सहरुको ठम्याइ छ ।

एलर्जी के हो र कसरी हुन्छ भन्ने बारेमा सर्वप्रथमत बिरामीले थाहा पाउनुपर्छ । सबैभन्दा पहिला बच्चा जन्मनासाथ एलर्जी चिलाउने, रातो दाना वा दाग देखिने, निमोनिया हुनेजस्ता संकेतबाट शुरु हुन्छ अनि रुघा लागिरहने समस्याले फोक्सोमा समेत असर परी दम–खोकी शुरु हुन्छ । यस्तो अवस्थामा समयमै समस्याको पहिचान गरी उपचार गरेमा जीवनभरि स्वस्थ हुनुका साथै आर्थिकरुपमा समेत मजबुत हुन सकिने विशेषज्ञहरुको भनाइ छ ।

एलर्जीको परीक्षण स्वास्थ्यमा देखा पर्ने समस्या, संकेत, विगतको व्यक्तिगत इतिहास, औषधि प्रयोग, पारिवारिक इतिहास आदिका आधारमा गरिने धुलिखेल अस्पतालका डर्माटोलोजी विभाग प्रमुख डा. धर्मेन्द्र कर्ण बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यिनै परीक्षणका आधारमा हामीले एलर्जीलाई पहिलो, दोस्रो, तेस्रो र चौथौ भागमा विभाजन गरी सोही अनुसार उपचारको थालनी गरिसकेका छौं ।’
नेपालमा विशेष गरी नवजात शिशुबाट शुरु भएर पाको उमेरमा पुग्दा दीर्घरोगका रुपमा एलर्जीले स्थान ओगटेको पाइन्छ ।

समयमै पहिचान गरी उपचार गरेको खण्डमा अब कुनै पनि बिरामीले एलर्जी भयो भनेर आत्तिनुपर्दैैैन । यसको उपचार खोप र औषधिका माध्यमबाट नेपालमै शुरु भैसकेको डा. कर्ण बताउनुहुन्छ । एलर्जी भनेको छालाको मात्र होइन भन्ने कुरालाई मनन गर्न जोड दिँदै उहाँ भन्नुहुन्छ– ‘हरेक अस्पतालहरुले छाला, नाक, कान, घाँटी, बालरोग र छातीरोग विभागलाई एउटै छातामुनि सञ्चालनमा ल्याउनुपर्छ अनि मात्र एलर्जीको पहिचान र निवारण गर्न सहज हुन्छ ।’

(साधना मासिकबाट साभार)

 

प्रतिक्रिया दिनुहोस्