कोरोना भाइरस परीक्षणका लागि लिइएको सबै स्वाब फ्रिजमा सुरक्षित



डा. रमेशकुमार माकजुकाठमाडौं विश्वविद्यालय मणिपाल कलेज पोखराबाट सन् २००३ मा प्याथोलोजीमा एमडी गरी हाल काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका प्रशासकीय प्रमुखकोजिम्मेवारीमा हुुनुहुन्छ । प्रस्तुत छ, माकजुसँग कोरोना भाइरस संक्रमणको असर र खासगरी प्रयोगशालाहरूले भोग्नुपरेको दबाबका सम्बन्धमा नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीः

कोरोना परीक्षणका लागि हाल विस्तार भएका ल्याबको क्षमता कस्तो छ र नेपालका लागि पर्याप्त छ कि छैन?

नेपालमा हाल २२ वटा ल्याब सञ्चालनमा आएका छन् र पीसीआरको नम्बर बढाइएको छ । शुरूको शून्यबाट यहाँ पुग्नु धेरै राम्रो हो तैपनि टेकु र धुलिखेल अस्पतालमा पेन्डिङ केसहरू थुप्रैछन् । पेन्डिङ यतिधेरै बसिरहेको अवस्थामा पर्याप्त छ भन्न त मिल्दैन । केही हप्तापछि धुलिखेल अस्पतालमा सरकारकै सहयोगमा अटोमेटिक डीएमए एक्ट्रा टेस्ट ल्याउँदैछौं । त्यो भयो भने दिनको हजारवटासम्मको परीक्षण गर्न सकिन्छ र छिटो हुन्छ ।

अहिले भइरहेको ल्याबमा दिनमा कति जनासम्मको परीक्षण हुन्छ ?

अहिलेको क्षमता भनेको एकपटक मेसिन रन गर्दा ९६ वटा नमुना परीक्षण गर्न मिल्छ । एकपटक रन गर्दा ४ देखि ५ घण्टा लाग्छ । १२ देखि १६ घण्टा निरन्तर ग¥यो भने ४ सयको हाराहारीमा परीक्षण गरिन्छ ।

ल्याबमा काम गर्ने जनशक्ति पर्याप्त छ कि छैनरुकुन तहको हुँदा राम्रो हुन्छ?
विशेष गरी पीसीआर गर्ने भनेको मास्टर्स गरेका व्यक्ति भए राम्रो हुन्छ । हुन तब्याचलर लेबलले पनि सिकिरहेका छन् । अहिलेको अवस्थामा मलेकुलरमा काम गरेको र पीसीआरको तालिम प्राप्त व्यक्ति हुनुपर्छ । कोरोनाको परीक्षणमात्र गरेर हुँदैन त्यसको रिपोर्ट पनि राम्रोसँग परिभाषित गर्न सक्ने हुनुपर्छ । त्यसका लागि दक्ष जनशक्ति नै चाहिन्छ । धुलिखेल अस्पतालमा अहिले दुई जना छन् ।

नेपालभरिको अवस्थालाई नियाल्दा त्यसखालको जनशक्ति पुग्ला जस्तो लाग्दैन । नेपाल सरकारले ब्याचलर लेबलको बीएमएलटीलाई पनि तालिम दिने चर्चा भइरहेको छ । यो लेबललाई दक्ष जनशक्तिको जस्तो काम गर्न गाह्रै हुन्छ । परीक्षण गर्नु र परिणामको पहिचान र परिभाषितरुपमै विधा छुट्याउनु फरक फरक कुरा हो ।

फटाफट परीक्षण मात्र गर्न एउटा लेबलले सक्छ । परीक्षण गरिसकेपछि आएको रिजल्ट ग्राफलाई पोजेटिभ, नेगेटिभ, गलत के हो भन्ने छुट्याएर गलत हुनसक्ने सम्भावनाको समेत एनलाइसिस गर्न सक्ने दक्ष जनशक्ति नै चाहिन्छ । नेपालमा यस्तो खालको जनशक्ति कमै छ ।

धुलिखेल अस्पतालमा भाइरोलोजीमा पीएचडी गर्नुभएका कति जना हुनुहुन्छ ?
डा. निराजन भाइरोलोजीमा पीएचडी गर्नुभएकोछ र ल्याब्रोटरी मेडिसिनमा मास्टर्स गरेको सुरेन्द्र गरीदुई जना हुनुहुन्छ । उहाँहरुले पीसीआरको तालिम लिनुपनि भएको छ र तालिम दिने पनि गर्नुहुन्छ । उहाँहरु दुईजना एक्सपर्ट हुनुहुन्छ । अरु बायोकेमेस्ट्री, माइक्रोबायोलोजीको जनशक्ति पनि छन् । माइक्रोबायोलोजीको टिमले भाइरोलोजीको पीसीआर खासै सिकेको छैन र अहिले तत्काल सिकाउन पनि सकिँदैन । स्वाब लिनेलगायतका अन्य काम भने जसले पनि गर्न सक्छन् र गरिरहेका छन् । मुख्य रिजन दिने दुई जना भए पनि अन्य कामका लागि खटिने ७ जनाको टिम छ ।

कोरोना परीक्षण गर्न एउटा ल्याब सञ्चालनका लागि कति जनाको टिम आवश्यक पर्छ ?
पीसीआर ल्याब २४सै घण्टा चलाउन मुख्य दुई जनाबाहेक अन्य लेबलिङदेखि अपडेट गर्ने जनशक्ति कम्तीमा सातदेखि आठ जना चाहिन्छ ।

कोरोना परीक्षणका लागि संकलन गरिएको नमुना परीक्षणपछि के गरिन्छ र कसरी निस्क्रिय बनाइन्छ?
अहिलेसम्म फ्रिजमै राखिएको छ, निस्क्रिय गरिएको छैन । निस्क्रिय गर्नका लागि अटोक्लेप गर्नुपर्छ । कहिलेकहीं निस्क्रिय नगरी सुरक्षित ९प्रिजर्भ० पनि राख्नुपर्ने हुन्छ, किनभने प्रिजर्भ गरेर डीएनए सिक्वनसी गरेर नेपालको कोरोना कुन टाइपको हो भनेर छुट्याउन सकिन्छ। त्यही भएर संरक्षण गरिएको हो । निस्क्रिय बनाउन अटोक्लेप नै गर्नुपर्ने हुन्छ ।

अटोक्लेप के हो र कसरी गर्ने ?
अटोक्लेप गर्दा उच्च प्रेसर र उच्च तापक्रम चाहिन्छ । त्यसका लागि एउटा ठूलो मेसिन हुन्छ त्यसभित्र पानी राखिन्छ । पानीलाई तताउँदा वाफ आउँछ । धेरै प्रेसर भएपछि तातो वाफ हुन्छ, उच्च प्रेसर भएपछि उच्च तापक्रमले ब्याक्टेरिया, भाइरस दुवैलाई मार्छ । यो भाइरस ७५ प्रतिशत अल्कोहलले पनि मर्छ । अल्कोहलमा राखेर पनि निस्क्रिय गर्न सकिन्छ । तर निस्क्रिय गर्नेबेलामा पनि सुरक्षा अपनाउनुपर्छ । सुरक्षा अपनाएन भने सर्ने सम्भावना उच्च हुन्छ । निस्क्रिय गर्ने बेलामा पनि अत्यन्तै ध्यान दिनुपर्छ ।

पीसीआरका ल्याबमा खटिने प्राविधिक जनशक्तिले कसरी सुरक्षा अपनाउनुपर्छ ?
सुरक्षाका लागि सबैभन्दा पहिला जुनसुकै ल्याबमा पीसीआर मेसिन राख्नुहुँदैन । विभिन्न लेबलमा पीसीआर परीक्षण ल्याब सुरक्षाका लागि विशेष खालको डिजाइन गरेकै हुन्छ । त्यो डिजाइन भनेको हेपाफिल्टरलले भित्र कन्ट्रामेसन भएको हावालाई बाहिर फाल्छ र बाहिरको स्वस्थ हावालाई भित्र ल्याउने काम गर्छ । कोरोना परीक्षणको ल्याब पनि त्यस्तै खालको चाहिन्छ । कुनैपनि बन्द कोठामा पीसीआर मेसिन राखेर पीसीआर गर्नुहुँदैन । बन्द कोठामा राख्नुभनेको भित्र कोठामा काम गर्नेदेखि अरुलाई पनि जोखिम हुन्छ ।

त्यसैले हेपाफिल्टर अर्थात् विभिन्न मेकानिजमले गर्दा भाइरस भएको हावा बाहिर जाने र शुद्ध हावा भित्र पठउँने खालको मेसिन चाहिन्छ । यसका साथै ल्याबभित्र काम गर्ने प्राविधिक तथा पीसीआर गर्ने कर्मचारीलाई पूरा शरीर ढाक्ने गरी९फुल० पीपीई लगाएर मात्र काम गर्ने वातावरण सृजना गर्नुपर्छ । कामसकेपछि पीपीईको व्यवस्थापन, निस्क्रिय गर्ने कामका लागि पनि अटोक्लेप नै गर्नुपर्छ । एक चरणको परीक्षण सकेपछि ल्याब पूरैलाई सफा गर्नुपर्छ । सफागर्ने कर्मचारीले पनि पीपीई अनिवार्य लगाउनुपर्छ । त्यो सफा गरिसकेपछि केही घण्टा त्यहाँजानुहुन्न र उक्त ल्याबमा बसेर काम पनि गर्नुहुन्न ।

पीसीआर परीक्षण गरेपिच्छे यसो गर्नुपर्छ ?
नेगेटिभ आयो भने त पर्दैन फटाफट पोजेटिभ आयोभने माथिका सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

ल्याब निस्क्रियपारेपछि कति घण्टा काम गर्नुहुन्न ?
विश्व स्वास्थ्य संगठनले तयारपारेको मापदण्डअनुसार पोजेटिभ आएको खण्डमा ४ घण्टा भनेको छ । राम्रोसँग सफा गरेको ठाउँमा एक घण्टामा पनि प्रयोग भएको सुनेको छु । आकस्मिक र ओटीमा २४ घण्टा पनि निस्किक्रय गरिएको छ ।

कोरोना पोजेटिभ आएको व्यक्तिको दुईतीन दिनमै नेगेटिभ आएको सुनिन्छ नि ?
आरडीटी पोजेटिभ आएकाको पीसीआर नेगेटिभ र आरडीटी नेगेटिभ आएकाको पीसीआर पोजेटिभचाहिँ हुन्छ । पीसीआर नै तत्कालै नेगेटिभ र पोजेटिभ हुँदैन । त्यस्तो भएकै रहेछ भने थ्रोट स्वाब संकलन गरेको नमिलेको हुनसक्छ । केहीमा गलत पोजेटिभ र गलत नेगटिभ भन्छौं । परीक्षण सबै बेला सही हुन्छ भन्ने हुँदैन । त्यस्तो थोरै प्रतिशतमा हुन्छ ।

लकडाउन खुकुलो भएको छ ।यो अवस्थामा आम नागरिकलाई कसरी सुरक्षा अपनाउने सल्लाह दिनुहुन्छ ?
यो अत्यन्तै गम्भीर कुरा हो ।धुलिखेल अस्पतालमा बिहानको बैठकमा पनि हामीले यस विषयमा धेरै छलफल गर्यौ । भन्दा र सुन्दा सबैभन्दा सजिलो व्यवहारमा सबैभन्दा गाह्रो यही रहेछ । त्यो भनेको शारीरिक दूरी नै हो । फिजिकल डिस्ट्यान्स भन्छौं, शहरका पसल, बसपार्क, गाउँ, बजारलगायतका ठाउँमा हुलमुलनै देखिन्छ ।

यो सबैभन्दा खतरा हो । हामी अस्पतालमा त्यतिधेरै मेहनत गर्छौं, आइसोलेसन राख्छौं, भ्यान स्यानिटाइजर भन्छौं,ल्याबमा पीसीआर परीक्षण भन्छौं र धेरै मेहनत गर्छौं । त्यो मेहनतको फल पाउन गाह्रो बनाउने काम आम जनताले शारीरिक दूरी कायम नगरिदिँदा भएको छ । प्रचारप्रसार पनि पर्याप्त छ तर हुनुपर्ने जति प्रभावकारीभएजस्तो लाग्दैन । यो विषयमा जनता आफैले बुझेर शारीरिक दूरी कायम गरेको खण्डमा कोरोना भाइरस एकअर्कामा फैलँदैन र कोरोनाबाट जोगिन सकिन्छ नत्र भने गाह्रै छ ।

सरकारले खुकुलो गरेको छ, जनताले पूरै खुला भएर काममा हिँडेका छन् ।यसलाई के भन्नुहुन्छ?
सबैभन्दा डरलाग्दो पाटो नै यही हो । यतिबेलानै कोरोना संक्रमण बढेको छ ।सरकारले बन्दाबन्दी खुकुलो पनि गरेको छ । पब्लिकले आनन्द भएको महसुस गरिरहेको छ । यो अवस्थाले अब फेरि गाह्रो बनाउने हो कि भन्ने हामीलाई डर छ ।

यो अवस्थाले पुनः संक्रमितको संख्या ह्वातै बढेर बन्दाबन्दी नै गर्नुपर्ने स्थिति त सृजना हुने हैन?
हामी पनि यस्तो अवस्था आउने हो कि भनेर चिन्तित छौं । स्वाट्ट बढेर लकडाउनमै जानुपर्ने स्थिति आउने होकि भनेर बिहान पनि छलफल भएको थियो ।

अन्तमा डाक्टरसाबले भन्नैपर्ने कुरा केही छ कि ?
पब्लिक आफै सचेत हुनुप¥यो । पब्लिकले सचेतना अपनाउनुपर्ने ठाउँहरु बजार, अफिस, गाउँघरतिर मेलापात, हरेक खालका पसल सुरक्षा अपनाएर खोल्न सकिन्छ । पसलमा एकजना ग्राहक छिरेपछि अर्को ग्राहक नछिर्ने गर्नुपर्छ । हुलभिड देखिनु कोरोना संक्रमणका समयमा राम्रो होइन । पसलेहरुले पनि माक्स लगाएर ह्यान्ड स्यानिटाइजर, ग्लोब्स प्रयोग गरेर काम गर्नुपर्छ । अनिमात्र केही हदसम्म न्यूनीकरण हुन्छ । मासु पसलमा पनि खचाखच मान्छे हुन्छन् । बैंकमा पनि दूरी कायम गरेको पाइन्न ।

यो व्यवस्थापनमा सम्बन्धित व्यक्ति र निकायले निगरानी गर्नुपर्छ । हामीले अस्पतालमा शारीरिक दूरी कायम गर्न बिरामीका लागि टिकट काउन्टरदेखिनै सिस्टम बसालेका छौं । तरकारी, फलफूल पसलहरुले पनि आफै व्यवस्थापन गर्नुपर्छ । गाउँघर, शहरबजारका घरघरमा भिड जम्मा भएर तास खेल्ने गरेको सुनिन्छ ।

यस्तो बेलामा सबैले मिलेर सुरक्षा अपनाउनुपर्छ । यो समस्या हरेक व्यक्तिको हो । स्थानीय निकायले संक्रमितको अवस्था हेरेर लकडाउनलाई विस्तारै खुकुलो पार्दै गएको भए हुन्थ्यो । एकैपटक सबैतिर खुकुलो पार्दा हिजो काठमाडौंबाट डराएर गाउँ पुगेका मान्छे फेरि ह्वार्रै काठमाडौं पसिसकेका छन् । यसले काठमाडौंमा चुनौती थपिएला र बिरामीको चाप थेग्नै नसकिने हो कि भन्ने चिन्ता बढेको छ ।

काठमाडौं बाहिरबाट काठमाडौं आउने क्रमलाई व्यवस्थापन भएको पाइन्न । अस्पतालमा त हामीले बिहानदेखि बेलुकासम्म अनुगमन गरेर भिड नियन्त्रण गर्ने, माक्स लगाउने, पीपीई लगाउने विभिन्न खालको सुरक्षा अपनाउँछौं । नेपालको सबैभन्दा धेरै ८० प्रतिशत जनताको बसोबास गरेका गाउँका स्वास्थ्य चौकीहरुका एउटा साधारण खालको माक्सको भरमा जस्तो खालको बिरामी पनि हेर्नुपर्छ ।

यतिबेला अस्पतालमा भन्दा स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीलाई बढी चुनौती थपिएको छ । नेपाल सरकारले यस्तो बेलामा खोप कार्यक्रम रोक्नुहुन्न भनेर खोप लगाउनैपर्छ भन्ने आदेश दिएको छ । यो सुन्दा र हेर्दा राम्रो छ, बच्चा र गर्भवती महिलाहरुले खोप लगाउन पाए ।

यसमा दुईवटा खतरा स्पष्टै देखिन्छ, पहिलो खोप लगाउने कर्मचारीलाई सरकारले पीपीई, एन ९५ माक्स पनि दिन सकेको छैन । साधारण सर्जिकल माक्स लगाएर खोप दिनुपर्छ यो खोप दिनेलाई समस्या हुन्छ । दोस्रो यतिबेला अस्पताल जान डरलाग्छ भनेर खोप लिन आउनेहरु स्वास्थ्यचौकी जाँदैछन् । खोपलिन जाने हुलमूल आफैमा जोखिम छ ।

खोप दिनेलाई लगातार ८ घण्टा पीपीई लगाएर काम गर्ने तालिम दिनुपर्छ । खोप लिन आउनेलाई दूरी कायम गर्न स्थानीय निकायले नै सहयोग गर्न सक्छ । तर त्यस्तो भएको पाइन्न ।

प्रतिक्रिया दिनुहोस्