यथेष्ट ऐतिहासिक प्रमाणको आवश्यकता



  • कृष्ण प्रजापति

भारतभन्दा नेपाल धेरै पुरानो मुलुक हो । गौतम बुद्ध जन्मेको र शिरमा सगरमाथा भएको मुलुक हो । गोर्खाली बहादुरहरुको देश हो । नेपाली राष्ट्रियताका लागि एकजुट भएर अघि सर्ने नेपालीहरुको देश हो । परिआएको खण्डमा मर्नसमेत तयार हुनेहरुको मुलुक हो । हाम्रा ऐतिहासिक प्रमाणहरु यथेष्ट छन् ।

नेपाल दक्षिण एसियामा सबैभन्दा पुरानो मुलुक हो । यहाँको प्राकृतिक सुन्दरता, खोलानाला, पहाड–पर्वतका कारण स्वदेशी र विदेशी शासकहरुबाट यो देशलाई धेरै पटक आफ्नो पोल्टामा पार्ने प्रयास भए । कहिले गोर्खा राज्य विस्तारको क्रममा काठमाडौं उपत्यकालगायत नेपाल कब्जामा लागे । कहिले भारत र चीनले पनि यो देशको प्राकृतिक सुन्दरतालाई देखेर लोभ गरेको पाइन्छ । अझ धार्मिक नेताहरुले समेत यहाँको वैभवशाली सम्पदाका कारण पटक–पटक आक्रमण गरी यहाँको मठ–मन्दिर, चैत्य ध्वस्त पारेको इतिहास छ ।

त्यसमध्ये २५० वर्षअगाडि गोर्खे राजा पृथ्वीनारायण शाहले गरेको आक्रमणलाई अहिले पनि नेपालमण्डलमा बस्ने रैथाने नेवार जातिले भुल्न सकिरहेका छैनन् । मेची–महाकालीको धारणा कायम हुनुभन्दा अगाडि पनि नेपाल पटक–पटक खुम्चियो र फैलियो । सो क्रममा पूर्वमा टिष्टा नदीसम्म पुगेको इतिहास छ । पश्चिम लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसम्म नेपालको जग्गा जमिन कायम नै थियो ।

यस्तो स्थितिमा केही समयअगाडि भारतले लिम्पियाधुरा, लिपुलेक क्षेत्र भएर चीनको तिब्बतस्थित मानसरोवर जाने सडक उद्घाटन गरेको समाचार आयो । त्यो भन्दा अघि भारतले एकतर्फीरुपमा काश्मिर क्षेत्रसहित कालापानी, लिम्पियाधुरा र लिपुलेकजस्तो नेपाली भूभागसमेत भारतीय नयाँ नक्सामा समेटेर नयाँ नक्सा जारी गरेको थियो ।

नयाँ नक्सा जारी गरेसँगै भारतको सो कदमको नेपाली जनता र नेपाल सरकारले विरोध गरेकै थियो । तर लकडाउनको मौका पारेर दिल्लीमा बसी भिडियो कन्फरेन्समार्फत अहिले आएर भारतले लिपुलेक क्षेत्र भएर तिब्बत मानसरोवरसम्म जाने सडक उद्घाटन गरेको समाचार प्रकाशमा आयो । त्यसको तुरुन्त विरोध भयो । र, नेपाली राष्ट्रियताको लागि सबै एकजुट भएर सदनमा नेपालको नयाँ नक्सा पनि जारी भयो ।

बुद्धिनारायण श्रेष्ठजस्ता सीमाविद्हरुको सहयोगले नयाँ नक्सा तयार पारी अब सदन र सरकारले पनि नेपालको भूभाग नेपालपट्टि पारेर नयाँ नक्सा जारी गर्नु पनि सहासको कुरा थियो । त्यसको लागि निशाना छाप र नयाँ नक्सा भएको सरकारी चिह्न राख्नको लागि संविधान संशोधनसमेत गर्नुप¥यो । यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दल र सांसद एक स्थानमा उभिन सफल भएको भनेको पनि हामी नेपालीले आफ्नो इतिहास आफैं कोर्नको लागि एक हुनु हो भन्ने देखाउँछ ।

२०३०–३२ सालसम्म चुच्चे नक्सा कायम भएकोमा पछि कहिले हो कहिले फरक नक्सा देखा पर्न थाल्यो । त्यसैलाई चलनचल्तीको नक्साको रुपमा सरकारी कार्यालयहरुले अंगाल्न थाले । हालै जारी नयाँ नक्साको सार्वजनिक प्रयोग र मापनसमेत भएकाले अब संविधानमा अंकित उक्त नयाँ नक्साको आधारमा हामीले सरकारी कामकाजमा प्रयोग गर्न पाउने भएको छ । तर सो कुरा भारतलाई सह्य भएको छैन । सदा ठूल्दाइको भूमिका रहेको भारत नेपाल आत्मनिर्भर होला, सबल होला र भारतीय एकाधिकारको विरोध गर्ला भनी डराउने गर्दछ ।

नेपालमा केही समयअगाडि शुरु भएको भारत–नेपालबीचको यस खाले तनावले पहिला भारत र चीनबीच भएको तनाव, पाकिस्तान र भारतको तनाव अनि भारत र मित्र राष्ट्र भूटानबीचको सम्बन्धलाई समेत उजागर गरिदिएको छ । भारत सदा दक्षिण एसियामा एकछत्र शासन गर्न चाहन्छ भन्ने कुरा अहिले पनि स्पष्ट भएको छ । नेपाली भूभागको संरक्षण गर्नु नेपालीहरुको कर्तव्य र दायित्व पनि हो । यस्तो अवस्थामा कसैले पेट दुखाउनुपर्ने देखिँदैन ।

नेपाली राष्ट्रियताको रक्षा नेपालीहरुको लागि निकै महत्वपूर्ण कुरा हो । भारतीय राष्ट्रियताभन्दा हामी नेपालीहरुको राष्ट्रियता पुरानो र प्यारो पनि छ । भारतभन्दा एक दिन पुरानो मुलुक पाकिस्तानले पनि भारतसँग कुनै बखत दुश्मनीको व्यवहार सहनुप¥यो । आज आएर आफ्नो राष्ट्रियताको कुरा गर्दा भारत रिसाएको अवस्था छ । त्यसैले त उसको आफ्नो मतहत रहेको भारतीय सञ्चारमाध्यमले नेपालविरुद्ध अनर्गल प्रचार गर्दै छ ।

एमसीसीको विरुद्ध उर्लिएको जोश–जाँगरसहितको साहसी जुलुसलाई संसद्ले नयाँ नक्सासहित संविधान संशोधनको विरोधमा निस्केको जुलुस भनी भ्रम फैलाउने काम गरिरहेको छ । नेपाल पूर्णरुपमा भारतको भूमि हो भनेर दुश्मनीको भाषा प्रयोग गरेर पीत पत्रकारिता गर्दै छ । त्यसैले पनि ती कुरा फेसबुकमा हेर्ने सर्वसाधारण नेपाली दर्शकले कमेन्ट बक्समा गएर लेख्न बाध्य भइरहेका छन्, भारतीय विस्तारवाद सहँदैनौं ।

सर्लाहीमा भारतीय पक्षबाट हातहतियार खोस्न खोज्दा आत्मरक्षाको लागि गोली चल्दा एक भारतीय नागरिकको मृत्युको खबर छ । अब ती खबर र कालापानी क्षेत्रको तातो खबरले नेपाली पत्रकारितामा स्थान पाउनु पनि स्वाभाविक छ । अरु स्थानमा भारतीय पक्षले गरेको जमिन अतिक्रमणभन्दा हाल कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा के भइरहेको छ ? नेपाली सेनाको टोली कति पुग्यो र को कहाँ बसेको छ भन्ने जस्ता यावत् कुराहरु पनि हामीले ध्यान दिन थालिसकेका छौं ।

वास्तवमा सरकारले नै केही गर्ने भए पनि नेपाली राष्ट्रियताको लागि नेपाली जनताले पनि सक्दो सुझबुझ र जानकारी राख्नु आवश्यक छ । त्यसैले भारतले बुझ्ने बेला आएको छ । भारतभन्दा नेपाल धेरै पुरानो मुलुक हो । गौतम बुद्ध जन्मेको र शिरमा सगरमाथा भएको मुलुक हो । गोर्खाली बहादुरहरुको देश हो । नेपाली राष्ट्रियताका लागि एकजुट भएर अघि सर्ने नेपालीहरुको देश हो । परिआएको खण्डमा मर्नसमेत तयार हुनेहरुको मुलुक हो । हाम्रा ऐतिहासिक प्रमाणहरु यथेष्ट छन् ।

नेपाल शान्ति क्षेत्र भएकाले र असंलग्न परराष्ट्र नीति अपनाउने देश भएकाले पनि अहिलेसम्म युद्ध र संघर्षका कुराहरु अगाडि सारिएकै छैन । बरु आफ्नो सीमा रक्षाको लागि अन्तर्राष्ट्रिय समुदायलाई गुहार्ने तथा त्यस क्षेत्रको विवाद समाधानको लागि कूटनीतिक प्रयास थाल्ने कुरालाई गम्भीरताका साथ प्राथमिकतामा राख्ने काम नेपाली पक्षले गरिरहेको छ ।

अब आएर भारतीय पक्षले गर्ने हरेक किसिमका अतिक्रमण सहेर बस्ने बेला रहेन । हिजो कालापानी क्षेत्रको नक्सांकन र जनगणना लिने बेलामा सो क्षेत्र नेपाली भूमि नै हो भन्ने प्रमाणित भएजस्तै सबै नेपालीहरु उक्त क्षेत्र हाम्रो आफ्नै हो र संरक्षण गर्न अगाडि बढ्न सक्नुपर्छ भन्ने पक्षमा पनि एकजुट हुनु जरुरी छ । यस्तो संवदनशील घडीमा अति धैर्यतापूर्वक आत्मसंयम अपनाएर कूटनीतिक पहल अगाडि सार्न सकेको खण्डमा दुवै पक्षको हित हुने देखिन्छ । यसका लागि हामीसँग भएका यथेष्ट ऐतिहासिक प्रमाणहरु तयारी अवस्थामा राख्नुपर्छ । अब नेपालीहरुको राष्ट्रियता अझ उच्च हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्