जीवन आफ्नै जोखिममा



जसरी सवारीसाधन पार्किङ गर्ने स्थानमा ‘एट योर अउन रिस्क’ लेखिएको हुन्छ, त्यसरी नै नेपालीको जीवनका लागि ‘आफ्नै जोखिम’ मा लेख्नुपर्ने भएको छ । कोरोना संक्रमण नेपालीको संख्या ६ हजारभन्दा बढी पुगेका बेला लकडाउन भने खुकुलो भएको सन्दर्भमा जीवनको सुरक्षाका लागि अरू कसैको मुख हेर्ने होइन, आत्मसुरक्षामा केन्द्रित हुनु आवश्यक भएको छ । बढ्दो आवागमनका कारण संक्रमण सर्ने जोखिम बढिरहे पनि आर्थिक पक्ष र जीविकोपार्जनलाई ख्याल गरेर कामकाजमा सरिक हुनैपर्ने अवस्था छ ।

झन्डै तीन महिनाको लकडाउनपछि सोमबारदेखि सरकारी कार्यालय पनि खुला भएका छन् । सरकारले कोरोना भाइरस संक्रमणबाट जोगिन सुरक्षाका उपाय अपनाउँदै सोमबारदेखि सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो । अधिकांश कार्यालयको वातावरण हेर्दा लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम सकिएको हो कि भन्ने भान हुने गर्दछ । विभिन्न कार्यालयमा सेवाग्राहीबीच दूरी कायम गर्न ठाउँ–ठाउँमा गोलो घेरा त लगाइएको थियो । तर, ठूलो संख्याका सेवाग्राही दूरी कायम नगरी भीड गरेर कार्यालयतर्फ बसिरहेको देखिन्थ्यो ।

मानौं कोरोना संक्रमणको सम्भावना लकडाउन अवधिभर मात्र हुन्छ अरू बेला हुँदैन भन्ने मान्यता सबैले पालेको देखिन्छ । यस्तै स्थिति रहने हो भने अहिले करिब ६ हजारभन्दा बढीमा रहेको कोरोना संक्रमितको संख्या गुणात्मकरूपले बढ्ने देखिन्छ । यस्तो अवस्थामा चीनमा कोरोना महामारीको दोस्रो लहर देखिएबाट पनि आम नेपालीले शिक्षा लिन सकिन्छ । चीनको अन्य क्षेत्रको जनजीवन सामान्य बन्दै गइरहेको अवस्थामा बेइजिङमा नयाँ संक्रमित देखिन शुरू भएको छ ।

५० दिनसम्म कुनै संक्रमित नदेखिएको चीनमा सोमबार कोरोना भाइरस (कोभिड–१९) का ४९ नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा देखिएकामध्ये ३६ संक्रमित राजधानी शहर बेइजिङको भएको चीनको नेसनल हेल्थ कमिसनले जनाएको छ । बेइजिङमा पछिल्लो समय देखिएका अधिकांश संक्रमित शहरको सबैभन्दा ठूलो होलसेल बजारसँग सम्बन्धित रहेको बताइएको छ ।

सिन्फाडी मार्केटबाट मात्र अहिलेसम्म ७९ संक्रमित फेला परेका छन् । यसैबीच भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का साढे ११ हजार संक्रमित फेला परेका छन् । नेपालमा पनि स्वास्थ्यलाई ख्याल गरी कोरोना संक्रमणबाट बच्च थप सावधानी नअपाउने हो भने नेपालमा पनि चीन र भारतको जस्तो स्थिति विकराल हुन बेर लाग्दैन ।

निष्कर्षमा आम मानिस सचेत भएर सुरक्षा प्रबन्ध गर्नुको विकल्प छैन । अबका दिनमा निजी पेसा–व्यवसाय सुचारु गर्नेहरूले आफूले सकेको पहल गर्न आवश्यक छ । साबुन–पानीले पटक–पटक हात धुने र त्यस्तो अवस्था नभएमा स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्छ । घरबाहिर निस्कँदा हरेकले मास्क अनिवार्य लगाउनुपर्छ । एक–अर्का व्यक्तिबीच आवश्यक भौतिक दूरी सधैं कायम गर्नुपर्छ ।

भीडभाड गर्नु हुँदैन र त्यस्तो स्थानमा जानु पनि हुँदैन । हामी जति यस्ता उपायहरूको पालना गर्छौं, संक्रमण सर्ने र सार्ने सम्भावना त्यति नै कम हुन्छ । सरकारले आफ््ना काम–कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकसँगै नागरिकहरूले आफ्नो तर्फबाट सतर्कता अपनाउनु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्