प्रदेश नं ५ बजेटः गाउँ–गाउँमा रोजगारी अभियान



बुटवल, (नेस)

आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश नं ५ सरकारले ३६ अर्ब ३५ करोड २५ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले चालू आवको बजेटभन्दा झण्डै ५ करोड रुपियाँ कमको बजेट प्रस्तुत गर्नुभएको थियो ।

बजेटमा चालू खर्चतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार अर्थात् ३४ दशमलव ६४ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार अर्थात् ५१ दशमलव २२ प्रतिशत छ ।साथै स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ५ अर्ब १४ करोड ५० हजार रुपियाँ बजेट भएको छ । वित्तीय हस्तान्तरणको अंश कुल विनियोजित बजेटको १४ दशमलव १४ प्रतिशत छ ।

बजेटको स्रोतका लागि राजस्वबाट २ अर्ब ३ करोड ७७ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६३ करोड ७१ लाख र सशर्त अनुदानबाट ५ अर्ब ८१ करोड ३६ लाख खर्चको स्रोत अनुमान गरिएको छ ।

यस्तै समपूरक अनुदानबाट ४८ करोड ३३ लाख, विशेष अनुदानबाट २१ करोड र चालू आवको बचत रकमबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको बजेटमा उल्लेख गरिएको छ ।

स्वदेशी श्रम, स्वदेशमै पसिनाको नीतिअनुसार हातहातमा कृषि सामग्री र गाउँ–गाउँमा रोजगारी अभियान सञ्चालनका लागि प्राविधिक सेवा प्रवाह, उत्पादन सामग्रीको उपलब्धता र यान्त्रीकीकरणलगायत कोभिड विशेष कृषि कार्यक्रमका लागि ६५ करोड विनियोजन गरिएको छ । यी कार्यक्रममार्फत थप ४२ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

यस्तै कृषकले उत्पादन गरेको दूध, माछामासु, तरकारी, फलफूल र खाद्यान्न तथा तरकारी बीउको प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्