हुँदो न खाँदो पुरस्कारको रन्को



-डा. मञ्जु मिश्र

आजकल पुरस्कृत हुने व्यक्तित्वहरु र नेपालका सांसदमा तात्विक भिन्नता देखिनँ । यसैले जो पनि पुरस्कारको संस्थापक बन्ने, जो पनि पुरस्कृत हुने र जो पनि सांसद बन्न सक्ने ! हाम्रो समाजमा यी सबैको महत्व घटेको त होइन ? भनी प्रश्न गर्ने बेला आएको हो कि !

आजकल मलाई पनि पुरस्कार पाउने साह्रै रहर छ । म पनि पुरस्कृत हुन पाए कति खुसी हुने थिएँ । सायद म त्यो रातभर सुत्ने थिइनँ होला । मेरा साथीहरुले फोनमा बधाई दिएर हैरान पार्ने थिए होलान् । यस्तै–यस्तै सोच्थें म । नभन्दै एक दिन नपत्याउँदो किसिमले मैले लिङ्कन पुरस्कार पाउने समाचार मेरो कानले सुन्यो । त्यसपछि त के चाहियो र ? लाग्छ, मैले पनि अब त इतिहासै रचें ।

समाजमा लब्ध प्रतिष्ठित महिलाको रुपमा गनिएँ । बुबा–आमा सबैले मलाई बधाई दिने भए । कुलकै नाक राखिदिने सन्तान परें । घर–परिवार सबैमा मैले प्राप्त गरेको पुरस्कारले होहल्ला नै मच्चायो । पत्रपत्रिकामा मेरो नाम छापियो । यस्ता ठूला पुरस्कार प्राप्त गर्नाले ममा निकै आत्मबल बढ्यो । पुरस्कार प्राप्त भएपछिका दिनहरु खुसीले बितिरहेका थिए ।

यस्तैमा मेरी एक साथीले पनि मेरोजस्तै पुरस्कार पाइछन् । मनमनै सोचें, मैले त समाजको लागि ठूलै योगदान गरेकी थिएँ । वर्षौंसम्म समाजमा राम्रो काम गरी सेवा गरें, वृद्धाश्रम बनाएँ् । टुहुरा बालबच्चालाई निःशुल्क पढाएँ, हुर्काएँ । उसले त मैलेजस्तो समाजमा केही पनि योगदान दिएजस्तो लाग्दैन ।

यसो सम्झन्छु, केही ठूलै काम गरेकी पो छ कि । मलाई थाहा नभएको हुन सक्छ । मैले केही सम्झनै सकिनँ । गत सालमात्र चाइनाबाट फर्केर आएकी आफ्नो अध्ययन पूरा गरेर एकै वर्षमा ठूलै पुरस्कार हात पारिछ, भाग्यमानी रहिछ भन्ने लाग्यो । उसको भाग्य राम्रै सम्झेें । उसलाई बधाई दिएर साँझमा घर फर्कें ।

मनमनै राति पुरस्कार–पुरस्कार भन्दै निदाएँछु । सपनामा पल्लो गाउँको हिजोअस्ति चुनावमा कुन पार्टीको हो झन्डा बोकी हिँड्थ्यो, ऊ पनि पुरस्कृत भएको देखें । उसले केको लागि पुरस्कार पायो ? ठम्याउनै सकिनँ । पुरस्कृत भएपछि उसको भाउ झनै बढ्यो । मैले मनमनै सोचें, अब झन् ठूलो झन्डा बोकेर हिँड्छ होला ।

यत्तिकैमा बिहान हुन्छ, म बिउँझन्छु । बिहानै एउटी साथीले फोन गर्छे । ५ हजार रुपियाँंको राधाकृष्ण पुरस्कार हाम्रो सहकर्मी जेनिशालाई सामाजमा उल्लेख्य काम गरेबापत दिने निर्णय भएको छ, तपार्इं पनि आउनुप¥यो । मनमनै सोचें, के गर्ने जानै प¥यो, आफूले पाउँदा अरु पनि आएका थिए ।

त्यसैले गएँ, धेरै विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । एउटा ठूलो होटेलमा पुरस्कार वितरण समारोह रहेछ । यसै सालबाट कृष्णको श्रीमतीको असामयिक निधन हुन गएकोले उनकै नाममा आर्थिक सहयोेग गर्ने उद्देश्यले राधाकृष्ण पुरस्कार स्थापना गरिएको रहेछ ।

मनमनै सोचें, ओहो ! पुरस्कारका नाम पनि के–के हुन् के–के ? छ्यासछ्यास्ती स्थापित पुरस्कारको मापदण्ड बुझिनसक्नु छ । पाउनै पर्नेले पाएनन्, बरु नपाउनुपर्नेले पाए । कस्तो विडम्बना ! केही भयो कि पुरस्कार स्थापित गरिहाल्ने । जति सजिलो स्थापना भयो त्यति नैै सजिलो पाइने पुरस्कारको मलाई महत्व लाग्नै छोड्यो । हलमा मानिसहरु खचाखच भेला भइसकेकाले म पनि आफ्नो ठाउँमा गएर बसें ।

विशिष्ट व्यक्तित्वहरुले मञ्चमा आसनग्रहण गरी सबैले राधाकृष्ण पुरस्कारको महत्व र यसको उद्देश्यबारे प्रकाश पारे । प्रायः सबै वक्ताले राधाकृष्ण पुरस्कार आर्थिक अवस्था कमजोर हुने परिवारलाई दिइने जानकारी गराए । तर त्यो पुरस्कार मेरै छिमेकी जसले आफ्नो बच्चालाई महँगो र्बोडिङ स्कुलमा पढाइराखेका छन्, उनले पाए ।

५ हजारको राधाकृष्ण पुरस्कार मेरै साथीले पाए । पुरस्कार वितरणपछि हामी बाहिर खाना खान गयौं । राम्रो होेटेलमा खानाको राम्रो व्यवस्था गरिएको थियो । म पनि टन्न खाना खाएर बाटोमा मनमनै सोच्दै फर्किएँ । आर्थिक सहयोग पनि होस् भन्ने उद्देश्यले दिइएको रु. ५ हजार पुरस्कार वितरण गर्न लाखभन्दा बढी खर्च गरिएको थियो ।

बाटोमा छोराछोरी सबैलाई सम्झिएँ । जे होस्, पुरस्कार भनेको पुरस्कार नै हो । यसलाई अवमूल्यन गर्नुहुँदैन । यसको तुलना पैसासँग पनि हुन सक्दैन भनी मन बुझाएँ । तर पनि यो मनको एउटा कुनामा भने बरु खाजा खुवाउने पैसा थपिदिएको भए पुरस्कार पाउनेका बालबच्चालाई दुई–चार वर्ष पढ्नको निमित्त पैसा पुग्ने थियो ।

माग्दै हिँड्ने र मजदुरी गर्नेका छोराछोरी सबैलाई सम्झिएँ, टाउको एकैछिन् चकरायो, ५ हजार रुपियाँ पुरस्कार दिनको निम्ति डेढ–दुई लाख खर्च गर्नु कत्तिको बुद्घिमानी हो । कहिलेकाहीँ लाग्छ, बौद्धिक वर्ग फोस्रो भाषण र आडम्बरमा भिजेका र सबै दलालीमा बिकेका त होइनन् ।

यस्तै अनेक मनमा कुरा खेलाउँदै घर आइपुगें । आजकल पुरस्कृत हुने व्यक्तित्वहरु र नेपालका सांसदमा तात्विक भिन्नता देखिनँ । यसैले जो पनि पुरस्कारको संस्थापक बन्ने, जो पनि पुरस्कृत हुने र जो पनि सांसद बन्न सक्ने ! हाम्रो समाजमा यी सबैको महत्व घटेको त होइन ? भनी प्रश्न गर्ने बेला आएको हो कि !

प्रतिक्रिया दिनुहोस्