अनिर्णीत ११ र १२



यस वर्ष एसईईको परीक्षाविना नै परिणाम सार्वजनिक गरिने भएको छ । अब २०७६ सालको एसईई परीक्षा स्थगित भएको छ । सरकारले आन्तरिक मूल्याङ्कन विधिबाट एसईईको परिणाम निकाल्ने जिम्मा विद्यालयलाई दिने निर्णय गरिसकेको छ ।

सरकारले एसईई परीक्षा हुनु एक दिनअघि अर्थात चैत ५ गते यसलाई स्थगित गर्ने निर्णय गरेको थियो । ६ गतेदेखि परीक्षा तय गरिएको थियो । सम्पूर्ण तयारी पूरा भैसकेको अवस्थामा सरकारले कोरोना संक्रमण फैलन सक्ने भन्दै परीक्षा स्थगित भएको घोषणागरेको थियो । लकडाउन सामान्य खुला भएको करिब ३ महिनापछि बल्ल सरकारले यस प्रकारको निर्णय गरेको छ ।

परीक्षा हुन नसक्दा एसईईमा सहभागी हुने करिब करिब ५ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको थियो । सरकारको यो निर्णयले विद्यार्थी र सरोकारवाला खुसी भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको विषयमा टुङ्गो लगाए पनि ११ र १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गर्न सकेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले एसईई परीक्षा व्यवस्थापन हुने बित्तिकै कक्षा १२ र ११ को परीक्षा गर्ने तयारी रहेको बताउँदै आउनुभएको थियो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख ८ र ११ को २१ गतेबाट तय गरेको थियो । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बोर्डको आकस्मिक बैठकले दुवै कक्षाको परीक्षा स्थगित गरेको थियो ।

एसइईका परीक्षा त विद्यालयले नै लिएको परीक्षाका आधारमा हुने भयो तर ११ र १२ को परीक्षा कसले सञ्चालन गर्ने भन्ने विषयमा ठोस निर्णय हुन सकेको छैन । अब कक्षा १२ र ११ को परीक्षा कहिले कसरी गर्ने भन्ने विषयमा ठोस निर्णय लिन जरुरी छ । एमबिबिएस, इन्जिनीयरिङ र विदेशमा उच्च शिक्षा अध्ययन गर्न अनिवार्य रुपमा कक्षा १२ को परीक्षा उत्तीर्ण हुनुपर्ने प्रावधान रहेका कारण यसलाई हचुवाको भरमा छोड्न पनि सकिन्न ।

हाल कक्षा १२ को परीक्षा नभएको कारण ती विद्यार्थीलाई समेत समस्या पर्न थालेको छ । मन्त्रालयले कक्षा ११ र १२ को परीक्षा कहिले गर्ने भन्ने निश्चित गर्नसकेको छैन । मन्त्रालयले कक्षा ११ को विद्यालयलाई र १२ को बोर्डले गर्नेगरी तयारी गरेको छ ।

तर कहिले र कसरी भन्ने निश्चित छैन । मन्त्री पोखरेलले तत्काल कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने विषयमा कुनै निर्णय नभएको बताउँदै आउनुभएको छ । मन्त्री पोखरेलले सरकारले गृहकार्य गरिरहेको दाबी गरेतापनि हालसम्म मिति तय हुन सकेको छैन ।

यस वर्ष कक्षा ११ र १२ मा गरी ९ लाख ३६ हजार ५ सय ४६ विद्यार्थी छन् । ती विद्यार्थी अन्योलमा छन् । परीक्षामा १ सय ८६ विषय छन् । तीमध्ये कक्षा ११ मा अनिर्याय २, १२ मा अनिवार्य १ विषयको प्रश्नपत्र छपाइ भैसकेको छ । यति तयारी भएको अवस्थामा सामाजिक दुरी कायम गर्नेगरी परीक्षा लिनु र अन्योल समाप्त गर्नु आवश्यक देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्