टेस्टिङ बढाऊ भन्दा पक्राउ गर्छु भने, अहिले आफै कोरोनाबाट पराजित भए

डा. सुन्दरमणि दीक्षित



  • डा. सुन्दरमणि दीक्षित
    वरिष्ठ चिकित्सक तथा नागरिक अभियन्ता

छिमेकी चीनबाट नेपालमा कोरोना संक्रमणको पहिलो केस देखिएपछि र विशेष विमानको व्यवस्था गरेर त्यहाँ रहेका नेपालीलाई फिर्ता ल्याएर भक्तपुरको खरीमाटीमा राखिएपछि नागरिक समाजका अभियन्ता तथा बहुचर्चित चिकित्सक डा. सुन्दरमणि दीक्षितले अत्यन्त ‘प्रोएक्टिभ’ भएर भन्नुभयो, देशभरि कोरोना भाइरसको संक्रमण भइसकेको छ, टेस्टिङ टेस्टिङ टेस्टिङ ! सरकारलाई सबै काम छोडेर नागरिकलाई बचाउन परीक्षण र अनुगमनमा केन्द्रित हुन आह्वान गरेका कारण राज्य पक्षले ‘अनावश्यक आतंक फैल्याउने’ भन्दै झण्डै पक्राउ गरेको ! तर आज उहाँले भनेको सत्य सावित भएको छ । जति बढी टेस्टिङ गरिएको छ उति नै संक्रमितहरु देखिएका छन् । ५२ केजी तौलका ७९ वर्षे युवा डा. दीक्षितसँग नेपाल समाचारपत्रका लागि कपिल काफ्ले र सुरेश तामाङले स्वास्थ्य र राजनीतिका विषयमा कुरा गर्नुभएको छ:

पछिल्लो पटक जल–नेती देखाउँदै नाक सफा गरे कोरोना भाइरसबाट बच्नसकिन्छ भन्ने सन्देशको युट्युवमा समेत देखिनुभयो, त्यसको प्रतिक्रिया कस्तो आयो ?

जानेको बुझेको कुरा भन्दिन्छु । ठिक–वेठिक राम्रो–नराम्रो पाठकले नै बुझ्ने कुरा भयो । म मोबाइल फोन र इन्टरनेट नचलाउने भएकोले मैले प्रतिक्रिया पाएको छैन । मेरा साथीहरुकोमा आयो होला ।

अवश्य आयो होला, किनभने अघिल्लो महिना नेपाल समाचारपत्रकै सहप्रकाशन साधना मासिकमा प्रकाशित यहाँको अन्तर्वार्ता पढ्ने १९ लाख रहेको डिजिटल सहप्रकाशन न्युजअफ नेपाल डट कमले देखाएको छ ! यहाँका फलोअर धेरै छन् ! ए त्यति धेरैले पढेछन्, खुसी लाग्यो ।

अवश्य आयो होला, किनभने अघिल्लो महिना नेपाल समाचारपत्रकै सहप्रकाशन साधना मासिकमा प्रकाशित यहाँको अन्तर्वार्ता पढ्ने १९ लाख रहेको डिजिटल सहप्रकाशन न्युजअफ नेपाल डट कमले देखाएको छ ! यहाँका फलोअर धेरै छन् !

अहिले चलिरहेको कोरोना तेस्रो स्वरुप हो । यसको विशेषता के हो भने नाक र घाँटीमा आएर चार–पाँच दिन बस्दिन्छ । तल झर्दैन । पहिलाको दुई कोरोना थियो सार्स र मार्स, एकदिन भित्रै फोक्सोलगायत विभिन्न भागमा फैलिएर मान्छे मारिहाल्थ्यो । त्यसैले समयमै नाक र घाँटी सफा गर्न सकियो भने बचिन्छ भनेर मैले जलनेती देखाएको हुँ । हजारौं वर्ष पुरानो प्राकृतिक विज्ञानको कुरा छ, यसको चर्चा र प्रयोग किन नगर्ने !

तपाईंले पहिला टेस्टिङ टेस्टिङ टेस्टिङ भन्नुभएको थियो नि, सरकारले टेस्टिङ बढाउनु प-यो भन्दै जोडबलले प्रतिक्रिया दिँदै हिँड्नुभयो । त्यो भनाइलाई अहिलेको विन्दुमा कसरी सम्झिनु हुन्छ ?

मलाई लाग्छ, त्यसबेला मैले भनेको कुरामा सरकारले ध्यान दिएको भए, मेरो कुरा नकाटेर, मलाई गाली नगरेर, मलाई पक्राउ गर्छु मात्रै नभनेर, सरकारले यो मान्छे सिनियर डक्टर हो, उसको यसमा आफ्नो व्यक्तिगत स्वार्थ छैन भन्ने बुझेर मानेको भए आजको त्रासद् अवस्था आउने थिएन ।

मलाई कुनै किट ल्याएर पैसा कमाउनु थिएन । ओम्नी कम्पनीमा म आवद्ध थिइनँ । ५० वर्ष नेपालमै बसेर काम गरेको मेरो आवाजलाइ थुन्न खोजियो । पछि चीनमा कोरोना कम भए पनि भारतमा फैलियो ।

होस गरौ है बोर्डर खुला छ, त्यहाँबाट लाखौँको संख्यामा मान्छे आउँछन् भनेको थिएँ । बेलामा पटक्कै वास्ता भएन । परिणाम के भयो भने,आज मुलुकभर फैलियो, एक प्रकारले भन्दा अहिले सरकार आत्मसमर्पण गरेको स्थितिमा छ ।

अब पिसिआर टेस्ट पनि नगर्ने भन्ने कुरा आएको छ नि ?

मेरो विचारमा यो गैरवैज्ञानिक कुरा भयो । सायद टेस्टिङ किट पनि सकियो । मेडिसिन पनि पर्याप्त भएन । अथवा टेस्ट गर्ने मान्छे पनि पर्याप्त भएन । ज्यादै ठूलो परिमाणमा समस्या विकसित भयो । अब त सक्दै सकेन नि त । भेल बग्यो ।

भारतसँग हाम्रो खुला बोर्डर छ । पछिल्लो अवस्थालाई हेर्दा यहींबाट नेपालमा समस्या भइरहेको छ । बोर्डरलाई यस्तै अवस्थामा राख्ने ?

भारतसँगको खुला सीमा हाम्रो सन्दर्भमा एकदम बरदान पनि हो र अभिशाप पनि । भारतसँगको खुला सिमाना अहिलेको होइन । भौगोलिक कारणले पनि यो हजारौं वर्ष पहिलेदेखिकै खुला हो । विहाबारी छ । व्यापार छ । आवतजावत खुला छ । यसलाई हामीले एकदमै उपयोग गरेर भारतसँग त्यही हिसावले सम्बन्ध राखेर फाइदा लिने सोच बनाउनुपर्छ ।

कसरी फाइदा लिने ?

भारत अहिले संसारकै तेस्रो आर्थिक शक्ति राष्ट्र हुने तर्खरमा छ । नेपालका लागि भारतीय राजदूत डा. श्यामशरण नेपालमा हुँदा हामी नागरिक समाजको तर्फबाट भेटघाट गर्न गएका थियौं । उनले हामीलाई स्पष्ट रुपमा के भनेका थिए भने, हाम्रो भारत अहिले धेरै माथि पुगेको छ । तपाई के लिन चहानु हुन्छ लिनुहोस् । हाम्रो पुरानो मित्रता छ, परम्परिक सम्बन्ध छ ।

त्यसको रटान लगाएर मात्र नेपाललाई लाभ हुन्न । हामीसँग के लिन सक्नुहुन्छ लिनूस्, त्यसबाट तपाईंलाई फाइदा छ भनेका थिए । खास कुरा त्यही हो ।भारतको भूगोल धेरै ठूलो, जनसंख्या ठूलो, अर्थतन्त्र ठूलो, उब्जनी ठूलो, सैनिक ठूलो, व्यापार ठूलो, विश्व शक्तिमा ठूलो हामी सानो । तर एउटा कुरामा हामी ऊभन्दा कम छैनौं । हजारौँ वर्षदेखि चलिआएको आध्यात्मको विषयमा हामी भारतभन्दा एकरत्तिपनि कम छैनौं । बरु हाम्रो यहाँको शिक्षा दीक्षा भारतमा गएको छ ।

हिमालय भेगबाट याक्यवल्क्य, गार्की, बाल्मीकि हाम्रैबाट दीक्षित भएर गएका हुन् । हामीले यही मित्रतालाई कायम गर्नुपर्छ । त्यो हाम्रो अध्यात्मिक मित्रता, जब पशुपति रहन्छ, जगन्नाथ रहन्छन् यो मित्रता तोडिन्न । त्यसमा हामी वान टु वान इक्वेल छौं । युएन र अध्यात्ममा वन टु वन छौं । अध्यात्ममा सायद ऊभन्दा एक तह माथि नै छौं ।

अध्यात्मसँग मोदी जोडिएकोले विशेष गरी मोदीको सरकार हुँदा हामीले आध्यात्मिक कुरामा जोड दिएर अर्थतन्त्र सबल बनाउनुपर्छ । दुर्भाग्यवश हामीले त्यो गर्न सकेनौं ।

खुला सिमानाका खराबीलाई कसरी लिनुहुन्छ ?

खुला सिमाना अभिशाप पनि छ । किनभने आतंकबाद उताबाट यता, उता बम आतंक मच्चाएर भागेर जानेबाटो नेपाली भूमी प्रयोग गर्ने । आजकलको भारतीय सिनेमामा यस्तै दृश्य पनि देखाइन्छ । त्यस्तै तस्करी पनि अभिशाप नै हो ।

भारतलाई अहिले समस्या भनेकै सुरक्षाको छ ।त्यसकारण खुला बोर्डर भनेर रेकर्डविनाको खुला छोड्नुहुन्न । व्यवस्थित किसिमले खुला रुपमा आउने–जाने हुनुपर्छ ।

बोर्डरकै कुरा गर्नुपर्दा अहिले भारतसँग विवादमा रहेको कालापानीको सन्दर्भलाई कसरी लिनुभएको छ ?

सुगौली सन्धिदेखि हेर्दा कालापानीकोे मुहान लिम्पियाधुरा नै भएको प्रष्ट छ । त्यो हाम्रो भूमि हो, सावित भैसक्यो । हामीले त्यसठाउँमा पुगेर जनगणना पनि गरिसक्यौं भने विवाद किन ? त्यो भूमि हाम्रै होनि । अब कुरा केहो भने त्यो भूमि फर्काउने कसरी ?

त्यो फर्काउन महाभारत पर्छ । सगरमाथा चढेको भन्दा पनि गाह्रोको विषय हो । दुई देशबीचको मित्रता खलबल नहुने गरी भूमि फर्काउनुपर्छ । मित्रता छ दुबैदेशलाई थाहा छ तर चिढाएको चाहीं राम्रो हुन्न ।

यस विषयमा हामीले पनि आफूले आफैँलाई कमजोर बनाउँदै छौं । भारतले नक्सा कायम ग¥यो सडक पनि बनायो । उसले कुनै संसदबाट त पास गराएन नि ? संसदमा गएर हामी कमजोर भयौं ।

अब स्वास्थ्यतिरै फर्कौं । टेकु अस्पताककी एक नर्स विरामी भएर प्रसूति गृहमा उपचारका लागि जाँदा कोरोना भाइरसको उपचार गर्ने
ठाउँकी मान्छे किन यहाँ भन्दै उपचार नै नगरी पठाएको समाचार आयो । चिकित्सकहरु नै यस्तो किन ?

सरुवा रोग अस्पतालमा काम गर्दैमा म तिमीलाई जाँच्दिनँ भनेर रुवाउँदै फर्काउनु यो त महा अन्याय नै हो । सरुवा रोगमा काम गरे भन्दैमा उसलाई रोग सरेको हुँदैन ।

अहिले विश्व स्वास्थ्य संगठनले लक्षण नदेखिएका कोरोना संक्रमितबाट भाइरस सर्ने सम्भावना न्यून छ भनेको छ नि ?

यो त विलकुल उल्टो दिशामा गयो । मैले भने टेष्ट टेष्ट टेष्ट । बेलायतले दिनमा एक लाख टेष्ट गर्छु भन्यो । भारतमा त्यही रुपमा टेष्ट छ । लक्षण नदेखाएसम्म जाँच्नु पर्दैन भन्नेहो भने टेस्ट नै चाहिएन । यो अवैज्ञानिक कुरा हो । हाम्रो सरकारले पनि लक्षण नदेखिएकोलाई पिसिआर गर्न पर्दैन भनेको छ ।

त्यो बिलकुल गलत हो । पिसिआरको अर्थ नै यिनीहरुले बुझेनन् ।¥यापिड टेष्ट त विल्कुल नै बेकाम भयो । पिसिआर हेर्ने भनेको भाइरस नाक र घाँटीमा छ । तपाईमा कुनै लक्षण देखिँदैन । यस्तो बेला पिसिआर गर्दा भाइरस देखिन्छ, कुनै लक्षणविना । लक्षण नदेखाइकन ती भाइरस तीन हप्तामा मरेर पनि जानसक्छन् ।

तपाईको क्षमताले थिच्न सक्नुहुन्छ ।नेपालका सन्दर्भमा पनि विश्व स्वास्थ्य संगठनले गलत निर्देर्शन दियो । मैले पहिला नै हबाइ उडान रोक भनेको थिएँ । त्यस बेला भाइरस चाइनामा मात्रै थियो । चाइनाबाट आउने हवाई सेवा तुरुन्त रोक, भनेको थिएँ । विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार हवाईजहाज रोक्नुपर्दैन भनेर स्वास्थ्य मन्त्रालयले जबाफ दियो ।

पहिलाको कोरोना संक्रमणमा पनि संक्रमणको माध्यम हवाइजहाज नै हो ?

हो त, पहिलो पटकको सार्स भाइरस हङकङको एउटा विरामी हवाइजहाजमार्फत क्यालिफोर्नियाको टोरन्टो गए । त्यहाँको अस्पतालमा एक सय २६ जनालाई रोग सार्न पुगे । आखिरमा त्यो बेलाको सार्स १ ले यत्ति भयावह रुप लियो । आठ हजार नौ व्यक्तिमा संक्रमण भयो र त्यसमा १० प्रतिशत मुत्यु दर भयो । २५ वटा मुलुकमा गयो ।

एउटा व्यक्ति त्यो पनि हवाईजहा मार्फत यात्रा गर्दा । दोस्रो मार्स आयो, एउटा व्यक्ति साउदी अरबबाट दक्षिण कोरिया गयो हवाईजहाजमार्फत । एक सय ८६ जनामा त्यसले रोग सा¥यो ।

त्यहाँको स्थानीय अस्पतालमा उसकै कारण ती सबैमा रोग देखियो । तर त्यसले भने भयावह रुप लिन सकेन । हवाईजहाजको यात्रा नै रोग सार्ने मुख्य कारक बनेको अघिल्लो उदाहरण थाहा पाउँदापाउँदै किन संगठनले हवाईजहाज चलाउन दिने गाइडलाईन दियो ?

नेपालमा यस्तो विपत्तिमा पनि सरकारका केही व्यक्ति कमाउनतिर लागे भनेर आलोचना खेपिरहेका छन् यसमा तपाईंको भनाइ के छ ?

संसारमा एउटै मुलुक छ आज, जसले कोरोनाका कारण समस्यामा परेको बेलामा कोरोनालाई माध्यम बनाएर कमाउनतिर लागेको आरोप खेपिरहेको छ, त्यो हो नेपाल ।

कोरोना विरुद्धको स्वास्थ्य सामग्री खरिदमा अनियमितता देखिनु कुन सम्मको लज्जाको कुरा हो ! कस्तो निर्दयी मान्छे सरकारमा बसेका रहेछन् त ?

सरकारले लकडाउन भन्दाभन्दै जनता त पसल खोल्न थाले नि ?

सरकारले बेलामा योजना बनाउन नसकेका कारण यो अवस्था आयो । अति भएपछि मानिसहरु बाहिर निस्कन थाले । कोरोना नलागेको स्थानमा खुकुलो पार्नुपर्छ, सबै बन्द गरिरहनु

हुन्न । कहाँ खुकुलो गर्ने, कहाँ बन्द गर्ने भन्ने अध्ययन गर्नुपर्दैन सरकारले ? मान्छे भोकभोकै मर्न थालिसकेपछि सरकारको निर्देशन पालना गरिरहन सक्तैन । कोरोनालाई जितेका देशका सरकार रात–दिन खटेर मुलुकलाई समस्याबाट मुक्त गराएको तथ्य हेर्नुपर्दैन ?

प्रजातन्त्र नभएको चीन कोरोना नियन्त्रण गर्न सफल, लोकतन्त्र र मानवअधिकारको सीमा ठान्ने अमेरिकामा तबाही ! राजनीतिक पद्धतिको सफलतालाई कसरी हेर्नुहुन्छ ?

प्रजातन्त्र भनेको त्योमुलुकलाई सुहाँछ, जहाँ जनता नै शिक्षित हुन्छन्, जनताले आफ्नो दायित्व बुझेका हुन्छन् । वास्तविक प्रजातन्त्रमा त सरकार पनि चाहिंदैन । जनताले जिम्मेवार भएर दायित्व बोध गरेर आफूले सबैकाम पूरा गरेको हुन्छ ।

त्यहाँ सरकार, पुलिस प्रशासन नै चाहिंदैन । वास्तविक प्रजातन्त्रमा त्यस्तो हुन्छ । त्यस्तो प्रजातन्त्र संसारमा अहिले छैन । गिरिजाबाबुले समयसमयमा भन्नुहुन्थ्यो, अनुशासित प्रजातन्त्र चाहिन्छ । त्यो सारै असल कुरा हो । प्रजातन्त्रमा जेपनि गर्न पाइने, अधिकार सबै हुने कर्तव्य पूरा गर्नु नपर्ने हुन्न । नागरिकले दायित्व विर्सेपछि प्रजातन्त्र पूर्ण रुपमा ध्वस्त हुन्छ । नेपालमा बारबार प्रजातन्त्र तुहिएको कारण पनि यही हो ।

अन्तमा केही भन्नु छ कि ?

विश्रृंखलित मनस्थितिले नेपाल अगाडि बढ्न सक्तैन । हाम्रो नेपालले अब अगाडि बढ्न, जसरी स्वामी विवेकानन्दले भन्नुभएको थियो, भारतले आफ्नो आध्यात्मिक बाटो छोडेर भौतिक पक्षतिर मात्रै गयो भने भारतको प्रगति हुँदैन । नेपाल ऋषिमुनिहरुको भूमि हो । यसलाई हामीले कहिल्यै पनि नबिर्सौं । संसारको सभ्यता भनेको नै हाम्रो हिमालयको भेग हो ।

यो हाम्रो विराशत हो, हाम्रो परम्परा हो । हामीले ढुंगा माटो प्रकृतिलाई पुज्ने परम्परालाई नबिर्सौं । हाम्रा पूर्वजहरुको कुरा नबिर्र्साै । हाम्रो गौरब छ । हामी कसैको सामु झुक्नु आवश्यक छैन । हामी मानसिक र आध्यात्मिक रुपमा कोहीसँग झुक्नु पर्दैन । हामी उपयोगको हिसावले दुई ठूला छिमेकी शक्ति राष्ट्रसँग फाइदा लिने मानसिकताका साथ अघि बढौं । तर आफ्नो गौरव नबिर्सौं ।

नेपालीले कसैलाई गाली गर्दैन । सहन सक्छ । अरुको उपकार खोज्छ । हाम्रो ज्ञान भूमीको सभ्यता छ त्यसलाई अघि बढाऔं । यसको आधारलाई टेकौं । त्यसो गरे राम्रो होला नत्र हामी घरको न घाटको हुन बेर लाग्दैन ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्