चुनौतीमा चिकित्सक



कोरोना संक्रमणले सर्वसाधारणलाई मात्र होइन चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, कर्मचारी सबैमा समस्या सिर्जना गरेको छ । गत सोमबार भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालको ओपीडी वार्डमा कार्यरत एक चिकित्सकलाई कोरोना संक्रमणको खबर आउँदा उहाँ बिरामी जाँचिरहनुभएको थियो । बिरामीको जाँच गरिरहेकै बेला भरतपुर अस्पतालबाट उहाँलाई कोरोना संक्रमण भएको फोन आयो ।

त्यसपछि उहाँ बिरामी जाँच गर्न छाडेर कोठामा पुग्नुभयो । आफूलाई कोरोना संक्रमण भएको थाहा नपाउन्जेल बिनाभेदभाव डाक्टरले नियमितरूपमा ओपीडीमा बिरामी जाँच गरिरहनुभएको थियो । भाडामा लिएको फ्ल्याटमा एक्लै आराम गर्दै आएका उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।

चिकित्सकले आफ्नो दायित्वबोध गर्दा बिरामीको चिन्ता गर्छन् र नगर्दा बिरामीलाई पीडा दिन्छन् । पीडा दिएको उदाहरण हेरौं । अर्का एक थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका डाक्टरले पेट दुखेर आएकी टेकुु अस्पतालमा कार्यरत नर्सलाई यही आइतबार मानमर्दन हुने गरी हप्काए र छोइछिटोको व्यवहार गरेर लखेटे । रक्तस्राव हुने समस्याबाट ग्रसित ती नर्स आकस्मिक कक्षको टिकट काटेर उपचारका लागि पुग्नुभएको थियो ।

डाक्टरले लाइन बसेका अरू सबैको परीक्षण गर्नुभयो, तर नर्सलाई भने सरुवा रोग अस्पतालमा काम गर्ने नर्स मेरो कोठामा किन छिरेको भन्दै हकार्नुभयो । कोठाभित्रसम्म बस्न दिनुभएन । साढे दुई महिनाकी गर्भवती नर्स आँसु झार्दै बाहिरिनुभयो । टेकुमा कोरोना संक्रमितको उपचार हुन्छ भनेर त्यहाँ कार्यरत नर्स, डाक्टर, कर्मचारी कसैलाई अन्य अस्पतालका डाक्टरले उपचार नगर्ने नियम कहाँ छ ?

ती नर्सले डाक्टरलाई लाख बिन्ती मात्र हैन उनको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टसमेत देखाउनुभयो तर डाक्टरले एक सुनेनन् । उपचार हैन डाक्टरले गालीमात्र गरिरहनुभयो । नर्सले पनि चिकित्सकको दायित्व, जिम्मेवारी के हुन् भनेर राम्रैसँग प्रतिउत्तर लाउँदा डाक्टर अझै जंगिनुभयो ।

उपचार नै नगर्ने अडान लिएर बस्नुभयो । अन्ततः हार खाएर आँसु झार्दै नर्स ओम अस्पताल चाबहिल पुग्नुभयो । त्यहाँ उहाँले आफ्नो नर्सको परिचय लुकाउनुका साथै बिरामीे मात्र बनेर उपचार गराई फर्किनुभयो । प्रसूति गृहका चिकित्सक र अन्य अस्पतालमा उपचार गर्ने चिकित्सकले पालना गर्ने आचारसंहिता कसरी भिन्न भयो ?

कोरोना संक्रमणका कारण विश्वका आम नागरिकको मानसिकतामा परिवर्तन आएको छ । मानिस जीवन रक्षा नहुने हो कि भन्ने कुराले पीडित छन् । तर, अन्य आम नागरिकमा त्यस प्रकारको चिन्ता र छटपटी जति हुन्छ, चिकित्सकमा त्यहीरूपमा चिन्ता नहुनुपर्ने हो । किनभने यस्ता समस्याको सामना गर्नकै लागि उनीहरू प्रशिक्षित भएका हुन्छन् ।

उनीहरूले त चितवनका डाक्टरले जस्तै दृढ मनस्थितिका साथ बिरामीको सेवामा आफूलाई समर्पित गर्नुपर्ने हो, न कि सरुवा रोग अस्पतालमा काम गरेको वा अन्य कुनै निहुँ झिकेर हप्काएर रित्तै फिर्ता पठाउने । चिकित्सकले यस पेसामा प्रवेश गर्दा बिरामीको सेवामा समर्पित हुने जुन प्रण गरेका हुन्छन्, आचारसंहिता पालनाको जुन पाठ पढेका हुन्छन्, त्यसले उनीहरूलाई बिरामीप्रति अभद्र व्यवहार गर्ने छुट दिँदैन । हो, चिकित्सक चुनौतीमा छन्, तर यसका साथ उनीहरूले आम नागरिकको सम्मान पनि पाएका छन् । प्राप्त सम्मानलाई उनीहरूले धूमिल नपारून् ।

 

प्रतिक्रिया दिनुहोस्