मेलम्चीको पानी एकादेशको कहानी

जातित्वका आधारमा वर्गीकरण किन ?



दशकौँदेखि चर्चामा रहेको मेलम्ची खानेपानी आयोजनाको कुरा एकादेशको कहानी मात्रै भयो । यसरी उपत्यकावासीलाई सधैँ आशामा राखेको वर्षौंवर्ष भइसकेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले पनि पोहोर दशैँसम्म उपत्यकामा मेलम्चीको पानी आउँछ भनेर दिएको पूरा हुन सकेन ।

फेरि सरकारको नीति तथा कार्यक्रममै व्यवस्था गरेर असारसम्म पानी काठमाडौँ आउँछ भन्ने गफ हानेको छ । लामो समयको लकडाउन र विभिन्न दृष्टिकोणबाट हेर्दा त्यो पनि सम्भव देखिँदैन । पानी कहिल्यै नआउने तर सरकारहरुले गफ दिन नछाड्ने ! मेलम्चीको नियति बनिसक्यो ।

नेपालका आयोजनामा सधैँ केही न केही बखेडा निकालेर अल्झाउने तथा काम ढिला गराउने खेल सधैँ चल्छ ।

यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनु जरुरी छ । नेपालमा यस्ता किसिमका विकासका काममा केही न केही तरिकाले काम हुन नदिने तथा ढिला गराएर आर्थिक चलखेल गर्ने प्रवृत्ति हाबी छ । दशैँअगाडि राजधानीमा खस्ने भनिएको मेलम्चीको पानी कहाँ आइपुग्यो ? अझै यहाँ आइपुग्न कति वर्ष लाग्छ ?

अब गफ होइन, जनताले काम हेर्न चाहेका छन् । अब नबोली काम गरेर देखाउनुपर्ने बेला आएको छ । सरकारले भनेकै समयमा ल्याउन सक्ला वा नसक्ला तर जति सक्दो छिटो निर्माण सम्पन्न गरी राजधानीवासीको वर्षौंवर्षदेखिको सपना पूरा गर्न सरकार अब चुक्नुहुन्न ।
– रमेर रायमाझी, कलंकी काठमाडौं ।

जातित्वका आधारमा वर्गीकरण किन ?
जात जुनसुकै भए पनि मानिस नै हो । मानिसमा हुने सबै लक्षण र गुण सबै जातमा हुन्छ । अनि किन जातका आधारमा ठूलो–सानो भनेर वर्गीकरण गर्ने ? कामका आधारमा हेर्ने हो भने आ–आफ्ना काममा सबै ठूला । कि सबै काम आफैंले गर्नुप¥यो, होइन भने कामका आधारमा पनि सबै जातलाई समानरुपमा हेर्नुप¥यो ।

सरकारले नै भेदभाव गरेको छ । दलितका लागि जागिरमा, पढाइमा कोटा नै छुट्याएको छ । यसैबाट विभेद भइसक्यो ।

यसले दलितमा झनै आफू कमजोर भएको महसुस नहोला भन्न सकिन्न । शहरमा बंगला गाडी भएको दलितले जागिर पाउँछ, पढ्न पाउँछ भने गाउँमा कुटो कोदालो गर्ने दलित वा ब्राह्मण नै किन नहोस्, यो सुविधाबाट वञ्चित भएको अवस्था छ ।

जात कुलवंशको पहिचान मात्र हो, यसलाई आधार मानेर कसैले पनि ठूलो–सानोको भेद नगरौं । मानवको रुपमा व्यवहार गरौं ।
– अनुपकुमार ‘गाउँले’, बेसिसहर, लमजुङ ।

 

प्रतिक्रिया दिनुहोस्