साथीको कुममा हात



कोरोना संक्रमण तीव्ररूपमा फैलन थालेपछि सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै मुलुकभर थप तनाव उत्पन्न भएको छ । भारतबाट नेपाल प्रवेश गरेका नेपाली नागरिकमा कोरोना संक्रमण तीव्ररूपमा देखिएपछि तनाव बढेको हो ।

लकडाउन नै कोरोना संक्रमण नियन्त्रणको उत्तम विकल्प भए पनि लामो समय लकडाउन गर्दा मुलुक चलायमान हुन नसक्ने र जनजीवन कष्टकर हुँदै जाने भएकाले सरकारले केही लचकता अपनाउन खोजेको छ ।

सरकारको निर्णयप्रति मिश्रित प्रतिक्रिया आएको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले चालेको कदम प्रभावकारी नभएको भन्दै तीव्र आलोचना भइरहेका बेला अहिले लकडाउन खुकुलो बनाउने सरकारी घोषणालाई कसैले स्वागत गरेका छन् भने कतिपयले समयसापेक्ष नभएको भन्दै आलोचना गरेका छन् ।

के सत्य हो भने, सरकारी प्रयास जनताले सोचेजति नभए पनि उसले गरेको प्रयासलाई विश्व स्वास्थ्य संगठनले भने प्रशंसा गरेको छ । विश्वका १ सय ९३ मुलुकमा कोरोना भाइरस तीव्ररूपमा फैलिएको भए पनि संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले चालेको कदममा नेपाल ६८औं स्थानमा रहेको बताउनुले पनि सरकारको तीव्र आलोचना गर्नुपर्ने देखिँदैन तर सरकारले शुरूका दिनमा जसरी संक्रमण नियन्त्रणमा कदम चाल्नुपर्ने थियो त्यो हुन नसकेको स्वयं प्रधानमन्त्रीले समेत स्वीकार गरेकाले सरकारी तयारी पर्याप्त थिएन भन्ने प्रस्ट हुन्छ ।

सरकारले जे गरे पनि आलोचना गर्ने एउटा जमात अहिले जवरजस्त ढंगले अगाडि बढेको देखिन्छ । सामाजिक सञ्जालमा राम्रो पहुँच बनाउँदै आएको त्यो समूहले आम नागरिकलाई समेत दिग्भ्रमित बनाएको देखिन्छ ।

यसतर्फ भने सबै सचेत हुनुपर्ने देखिन्छ । जेमा पनि विरोध गर्ने नेपाली शैलीमा परिवर्तन ल्याउन जरुरी देखिन्छ । सरकारले पनि जनभावनालाई कदर गर्नेतर्फ ध्यान दिएको देखिँदैन । कोरोना संक्रमण अहिले जसरी समुदायमा फैलने क्रम जारी छ यसको रोकथामको उपाय भनेको सामाजिक दूरीलाई अनिर्वायरूपमा कायम गराउने नै हो तर आम नेपालीमा त्यो कोरोनाले के गर्छ भन्ने प्रवृत्तिले मुलुकभर भयावह अवस्था ल्याउन सक्ने खतरा बढ्दै गएको देखिन्छ ।

यो हेलचेक्र्याइँ गर्ने विषय पटक्कै होइन यसमा आम नेपालीले ध्यान दिन जरुरी छ । अहिले लकडाउन खुकुलो भएको मैका छोपेर सडकमा भीड गर्ने जमातले पनि आफू सुरक्षित रहे मात्रै समाज सुरक्षित रहन्छ भन्ने विषयलाई भने मनन गर्नै पर्दछ ।

कोरोना समुदायमा प्रवेश ग¥यो भने यसले समाजलाई पार्ने प्रभावका बारेमा बेलैमा ध्यान पु¥याउन जरुरी छ । भइसकेपछि लौ भन्नु भन्दा पनि हुन नदिनुनै उत्तम मान्निछ । राज्यले पनि यसतर्फ ध्यान दिएर प्रभावित क्षेत्रमा अझै कडाइ गर्ने र कम प्रभावित क्षेत्रमा सावधानी अपनाएर व्यापार–सञ्चालनमा लाग्नु आवश्यक छ ।

यस सन्दर्भमा सरकारलाई मात्र गाली गर्नुभन्दा हामी आम नागरिकको मनस्थिति र बानी–व्यहोरा पनि आलोचनाको विषय देखिन्छ । सामाजिक दूरी कायम गर्नुपर्ने यथार्थलाई बिर्सेर सडकपेटीमा हिँड्दा पनि साथीको कुममा हात राखेर हिँड्नु किन परेको हो, बुझ्न सकिएको छैन !

प्रतिक्रिया दिनुहोस्