सरकारले सबैका कुरा सुन्नुपर्छ



गत आइतबारको नेपाल समाचार दैनिकमा प्रकाशित ‘संसद्मा बजेटमाथि असन्तुष्टि, हामीले बोले पनि के, नबोले पनि के ?’ भन्ने शीर्षकको समाचार पढेर केही प्रतिक्रिया लेख्न मन लाग्यो । वास्तवमा नेपाल सरकारप्रति पार्टीभित्रकै थुप्रै मान्छेहरुको असन्तुष्टिको मुख्य कारण बनेको कुरा सरकारले कसैको कुरा सुनेन भन्ने नै हो । लकडाउनकै बीचमा सरकारले दुईवटा अध्यादेश ल्याएपछि नेकपाभित्रै र बाहिर पनि कोकोहोलो मच्चिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी नै गुम्नेसम्मको खतरा देखिएको थियो । यद्यपि भारतले कालापानी हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेपछि त्यो सेलायो । हाल अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा प्रस्तुत गर्नुभएको बजेट केन्द्रित बहस जारी छ । यस्तै सांसदहरुले सरकारले आफ्ना कुराहरु नसुेको गुनासो गरेका छन् ।
संसद्मा बोल्दै प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले संघीय सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको टिप्पणी गर्नुभएको छ । उहाँले स्थानीय पूर्वाधार विकासका नाममा योजना छनोट गर्ने कामले सांसदको भूमिका वडाध्यक्षजस्तो भएको बताउनुभएको हो ।
शनिबार प्रतिनिधिसभाको बैठकमा विनियोजित बजेटको मन्त्रालयगत शीर्षकमाथि भएको छलफलमा बोल्दै सांसद थापाले स्थानीय पूर्वाधार कोषबाट सांसदहरूले पैसा लिन थालेपछि सांसदहरूको हैसियत वडाध्यक्षको जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले सांसद विकास कोष खारेज गर्नुपर्ने माग गर्दै कोषलाई यसपटकको बजेटबाट हटाउन सरकारसँग माग गर्नुभयो ।
सांसद थापाले बजेट निर्माणमा संसद्को भूमिकासमेत नदेखिएकोप्रति असन्तुष्टि जनाउँदै पञ्चायतकालजस्तै गणतन्त्रमा पनि त्यसरी नै बजेट आउने गरेको बताउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो– ‘बजेट निर्माणमा संसद्को भूमिका के ? विधायकको भूमिका के ? हाम्रो विचारको भूमिका के ?’
विनियोजित बजेटको मन्त्रालयगत छलफलमाथि समेत प्रश्न उठाउँदै उहाँले धेरै मन्त्रालयबारे एकै पटक छलफल गर्ने र सांसदलाई थोरै समय दिँदा छलफलका लागि छलफलजस्तो मात्रै हुन पुगेको बताउनुभयो । ‘हामीले बोले पनि के, नबोले पनि के ? मन्त्रीले एउटा कानले सुन्नुहुन्छ, अर्को कानले उडाइदिनुहुन्छ । कमा पनि फेरिन्न, फुलस्टप पनि फेरिन्न ।’ –उहाँले असन्तुष्टि जनाउँदै भन्नुभयो ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई यसरी प्रमुख प्रतिपक्षी दल र पार्टीभित्रैबाट लाग्ने गरेका आरोपहरुको सही सुनुवाइ गर्दै जनताका आकांक्षा पूरा गर्न केन्द्रित हुनुपर्ने आवश्यक देखिन्छ ।
– विशाल कायस्थ, भक्तपुर ।

अब युवाशक्ति जागौँ
देश कोरोना भाइरसका कारण झन् गरिबीको रेखामुनि धकेलिएको छ । विदेशमा रहेका युवाहरु स्वदेश फर्किने क्रम जारी छ । अब हामीले यो देशमा आफ्ना श्रम र सीप फलाउनुपर्ने बेला आएको छ । नेपालका हरेक परिवर्तनहरुमा युवाशक्तिको महत्वपूर्ण भूमिका छ । अब देशको मेरुदण्ड अर्थात् अर्थतन्त्रलाई सुदृढ बनाउन आफ्ना पाखुराहरु यही देशमा खियाउने बेला आएको छ ।
हिजोजस्तै अब सरकार र सरकारमा संलग्न दलहरूबाट युवाशक्तिको दुरुपयोग हुनुहुँदैन । नेपालमा युवाशक्तिले इतिहासबाटै धेरै काम गरेका छन् । युवा भनेको समाज बदल्ने सकारात्मक ऊर्जाको मुहान हुन् । समाज विज्ञानको अथाह शक्तिको स्रोत युवा, जसको साहस, जोश अनि बहादुरीले इतिहासको जन्म हुन्छ ।
नेपालमा परिवर्तनका लागि भएका हरेक आन्दोलनहरूको अग्रभागमा युवाशक्तिले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । नेपाल र नेपाली जनताको विरुद्धमा उभिनेहरूका विरुद्ध हाम्रा पुर्खाहरूले संघर्ष गरे, आफ्नो रगत सुम्पेर माटोको स्वाभिमान बचाए । आज पनि तिनै वीर नेपाली शहीदहरूका सन्तानले नेपाली जनताको अधिकार र स्वाभिमान लिलाम गर्न तम्सिएका विदेशी शासकका दलालहरूको हर्कतविरुद्ध धावा बोलिरहेका छन् ।
जनभावनाको सम्मान नगर्ने निरंकुश शासकहरूलाई युवाशक्तिले लाठी र खुकुरीको भरमा सत्ताच्यूत गरेको कसैले बिर्सेका छैनन् । अहिले पनि शासकहरूको विरुद्ध कठिन, लामा मोडेलको संघर्ष युवाहरूद्वारा जारी गरिएको छ । भ्रष्टाचार, गुन्डागर्दी, दलाल, तस्कर अनि देशलाई अन्धकारतिर धकेल्नेहरूविरुद्ध आज हरेक नागरिकहरूले संघर्ष गरिराखेका छन् ।
जनताको परिवर्तनको चाहनाका बाधक तत्वको समूल नष्ट गर्ने कामको जिम्मेवारी पनि अहिले युवाहरूकै काँधमा आएको छ । यो काम पक्कै पनि बेरोजगार युवाहरूको लागि चुनोतीपूर्ण नै छ । तर दलाल, तस्करहरूसँग नझुकी नेपाली स्वाभिमानी युवाहरू एक कदम अघि बढिसकेका छन् । यो देशका सचेत युवाहरू योजनाबद्धरूपमा ती प्रवृत्तिका विरुद्ध लडाइँ गर्न तयार हुनुपर्दछ । तर ती युवालाई बेरोजगार बनाएर सरकारले निकै ठूलो समस्या निम्त्याउने निश्चित प्रायः छ । यसको व्यापकरूपमा विरोध गरेर रोजगारीको अवस्था सिर्जना गर्न युवावर्गले दबाब दिन जरुरी छ ।
– सीमा राम्जाली, झापा, नेपाल ।

कोरियन अस्पताल, ठिमीको ध्यानाकर्षण
मध्यपुर ठिमी नगरपालिकाद्वारा सञ्चालित कोरियन अस्पताल, ठिमीमा लाइन बसेर जसोतसो डाक्टरलाई औषधिको पुर्जी लेखाएर बाहिर आएँ । त्यहाँको औषधि पसलबाट औषधि लिन पनि लामै लाइन बस्नुप¥यो । घण्टौं लाइन बसेपछि यो औषधि छैन, बाहिर किन्नु भनियो । हिजो सोमबारकै कुरा हो, मधुमेहको औषधि बाहिर किन्न बाध्य भएँ । कहिले आउँछ त भन्दा निश्चित छैन भनिन्छ । स्वास्थ्य बिमामा पर्ने औषधि नै छैन भनिन्छ भने हामीले बिमा गरेको के औचित्य ? अस्पताल प्रशासनको ध्यान जाओस् ।
– सबिन पौडेल, कौशलटार, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्