आहा काठमाडौं !



कोरोना महामारीका कारण विश्व त्रसित छ । नेपालमा पनि यो महामारी दिन–प्रतिदिन बढ्दै गइरहेको छ । भारतबाट भित्रिने नेपालीहरुको समयमै कोरोना परीक्षण नहुनु र समयमै सीमा नाका खुला नगरेका कारण चोरबाटो भएर नेपाल भित्रिनेहरुका कारण देशभित्र सयौंको संख्यामा कोरोना संक्रमित थपिने क्रम यथावत् छ ।
नेपालमा चैत्र ११ गतेदेखि शुरु भएको लकडाउनका कारण देश लगभग ठप्पजस्तै बनेको छ । काठमाडौँमा लकडाउनअघिको जस्तो भीड छैन । मान्छेको भीडभाड, निजी तथा सार्वजनिक यातायातहरुको कोलाहल कम भएको छ । यति बेला सडकछेउछाउमा बोटबिरुवाहरु हरिया देखिएका छन् । थुप्रै ठाउँमा फूलले सडक सुन्दर बनाएका छन् ।
कोलाहल र प्रदूषणले आजित भएको काठमाडौँ लकडाउनमा भने सुन्दर देखिएको छ । दिउँसो केही गर्मी महसुस भएपनि बिहान र साँझको समयमा भने मनमोहक काठमाडौँ अत्यन्तै सुन्दर देखिन्छ । मानिसहरुले प्रकृति संरक्षण र सरसफाइमा ध्यान दिने हो भने काठमाडौं विश्वका सुन्दर शहरहरुमध्ये एक हुन सक्छ । हामीले यसलाई सधैँ यस्तै सुन्दर र मनमोहक बनाइराख्न आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।
फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्छ । साथै सवारी चलाउँदा अनावश्यक हर्नको प्रयोग गर्दै हल्लैहल्ला र प्रदूषणको शहरको उपमाबाट अब हामीले जोगाउनुपर्छ । यसरी हामी सबै मिलेर लकडाउन खुलेपछि पनि काठमाडौंलाई यस्तै सुन्दर बनाइराख्न योगदान गर्नुपर्छ ।
– मिलन राई, शान्तिनगर,काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्