आइतबारबाट मौसम सुधार हुँदै जान्छ : मौसमविद्



न्युज अफ नेपाल,काठमाडौं ।

केही दिनदेखि बिग्रिरहेको मुलुकभरको मौसममा आइतबारदेखि सुधार हुँदै जाने मौसमविद्को भनाई छ । अरब सागरमा विकसित भएको निसर्ग नामक शक्तिशाली चक्रवात जमिनमा प्रवेश गरी कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले गर्दा मुलुकभरको मौसम बदली भईरहेको छ ।

निसर्ग चक्रवातको कमजोर प्रभावले न्यून चापीय प्रणाली लगभग नेपालबाट हटिसकेकोले आईतबारदेखि मौसममा सुधार हुदै जाने मौसमविद् बरुण पौडेलले बताउनुभयो । ‘केही दिनदेखि अरब सागरमा डिप डिप्रेशन थियो ।

त्यससँगै निसर्ग चक्रवातको विकसित भयो । जसको प्रभाव हाम्रो मुलुकमा परिरहेको छ । तर शनिबारदेखि पूर्ण रुपमा यसको प्रणाली नेपालबाट हटिसकेकोले आइतबारदेखि मौसम खुल्दै जानेछ ।’, उहाँले भन्नुभयो । मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरमा बनेको चक्रवातको कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएका थियो ।

आइतबारदेखि स्थानीय वायुको कारण केही ठाउँमा छिटपुट पानी परे पनि देशैभर एकैसाथ पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार देशका धेरै स्थानमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै सोमबार देशका धेरैजसो स्थानमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णली, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्