‘कोरोनासँगै जण्डिस पनि निको भए हुन्थ्यो’



मोतीराम तिमल्सिना,काभ्रे ।

‘हामी अचम्मित भएका छौं । कसरी श्रीमतीलाई कोरोना संक्रमण भयो ? हामी मात्रै हैन, स्वास्थ्यकर्मी र छिमेकीहरु पनि अचम्मित भएका छन् । सामान्य परिवारका हामी कोरोना शुरु भए देखि नै घर बाहिर गएको छैन । रोपाईको चटारो छ । आफ्नो सके पछि अरुको पनि जानु प¥यो । उनी त्यसमा ब्यस्त भएकी थिईन् ।

बेलाबेलामा उनलाई पेट दुख्थ्यो । पटक पटक जण्डिस भएर निको भएकाले त्यहि कारण हो कि भन्ने थियो । घरेलु औषधी खाएर निको पनि भएको थियो तर च्याप्दै गए पछि परिक्षण गर्न जाने सल्लाह अनुसार २०७७ बैशाख २१ गते बनेपा अस्पतालमा पेटको अल्ट्रासाउण्ड गरे पछि पित्तथैली नजिकैको नली पत्थरीले ब्लक भएको थाहा भयो ।

अप्रेसन गर्नै पर्ने भएकाले उनलाई अन्यत्र जान भनिएको थियो । औषधी सेवन गरेर कम भएकाले घरमै थिईन् । एक्कासी फेरी पेट दुखेपछि उनलाई अस्पताल लैजाने तयारी भएको थियो ।’ ‘सोमबार जेठ १९ गते उनलाई असाध्यै पेट दुख्यो । भोलीपल्ट मंगलबार धुलिखेल अस्पताल जाने कुरा भयो ।

उनैले मंगलबारको सट्टा बुधबार जाने बताईन् । उनलाई बाईकमा राखेर बुधबार २१ गते अस्पताल लगियो । त्यहाँ सामान्य चेकजाँच पछि डाक्टरले अल्ट्रासाउण्डको रिर्पोट हेर्दै एमआरआई गर्न भने । उनी खाली पेटमा थिईन् । जण्डीस भएकाले बाहिरको खाना, चिल्लो, पिरो र अमिलो समेत खाएकी थिईनन् ।

जुस, काक्रो, मुला, गाजर काटेर लगिएको थियो । एमआरआई सकिए लगत्तै उनलाई जुस र विस्कुट खुवाईयो । डाक्टरले जेठ २९ गते विहिबार नलीमा रहेको पत्थरी इण्डोस्कोपीको माध्यमबाट निकाल्ने बताउँदै तत्कालका लागि कोरोना, एचआईभी लगायतका अन्य थुप्रै परिक्षण गर्न लगाए ।

अस्पतालले भने जति सबै परिक्षणका लागि रकम तिरेर उनिहरु घर फर्किए । रिपोर्ट केहि दिनमा आउँछ भनिएको थियो शुक्रबार विहान ११ बजे कोरोना संक्रमण भएको खवर आयो । हामी सबै छाँगाबाट खसे झै भयौं ।’ ‘कोरोना सक्रमणका कारण मुलुक लकडाउनमा जानु अघि ठेक्का गर्ने गरेको थिएँ । लकडाउन पछि म कतै गएको पनि छैन र काम पनि गरेको छैन । घरमा ६५ बर्षिय पिता मुटुको भल्व ४ वटा फेरिएको अवस्थामा तर स्वस्थ हुनुहुन्छ ।

आमा ६१ वर्षको, श्रीमती ३९ वर्ष, म आफै ३९ बर्ष, जेठी छोरी २१ बर्ष, कान्छि छोरी १९ वर्ष र छोरा ८ बर्षका छन् । सबै हामी स्वस्थ नै थियौं । आजसम्म परिवारका कसैलाई पनि हाछ्यौं समेत आएको थिएन र छैन पनि । तर कसरी उनलाई कोरोना संक्रमण देखियो ? हामी अचम्ममा परेका छौं ।

रिपोर्ट आए लगत्तै हाम्रो घरमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली आयो । पछि जनप्रतिनिधिहरु पनि आउनु भयो । हामीलाई सबै कुराको जानकारी लिनु भयो । हामीले भएको सबै कुरा बतायौं । हामी सुरक्षित रुपमा घरमै क्वारेन्टाईनमा बसेका छौं । बस्तुभाउ, खेतिपाती सबै हेर्नु छ ।

उनलाई एम्बुलेन्स मार्फत भक्तपुर अस्पताल पु¥याईएको छ । उनी ठिक छु भन्छिन् । विहान मासु, भात खान दिएको रहेछ । उनलाई जण्डिस भएकाले उनले सामान्य खाना मात्रै खाईन् । हामी चिन्तामा भएको लागेर होला उनले आफुलाई केहि नभएको र छिट्टै घर फर्कने बताईन् ।

पत्थरीको अप्रेसन अस्पतालमै बसेको समयमा गरिदिन पाए उनलाई थप जण्डिस हुनबाट बचाउन सकिन्थ्यो कि ?’ ‘यतिखेर समाजले हामीलाई के भन्छ ? कस्तो ब्यवहार गर्छ भन्दा पनि हामी कसरी यो भाईरसबाट उन्मुक्ति पाउने ? कसरी यो भाईरस हामीसम्म आईपुग्यो ? आत्मबल बढाउँदै कोरोना विरुद्धको अभियानमा जुटेका छौं ।

अस्पतालको नाम सुन्नै मन छैन । कोरोना रोग लुकाएर लुक्ने पनि हैन । हामी अस्पताल बाहेक अन्यत्र गएका पनि छैनौं । यस्तो अवस्थामा नभएको पैसा ऋण गरी गरी उपचारका लागि गयौं संक्रमण त्यहिबाट भएको हो कि भन्ने शंका उत्पन्न गराएको छ । अनुसन्धान, परिक्षणबाट सबै कुरा आउला ।

कसैलाई दोष दिने पक्षमा हामी छैनौं । घरमा सबै परिवार सुरक्षित बसिरहेका छौं । छिमेकमा पनि जाँदैनौं । अरुलाई पनि नआउन भनेका छौं । सबै भगवान भरोसा ।’ (पनौती नगरपालिका ८ मल्पिमा शुक्रबार कोरोना संक्रमण देखिएकी महिलाका श्रीमानसँग गरिएको कुराकानी ।)

प्रतिक्रिया दिनुहोस्