स्वदेश फर्किए ७ मकवानपुरे



न्युज अफ नेपाल,हेटौंडा ।

कोरोना संक्रमणको त्रासका कारण भएको लकडाउनका कारण विदेशमा रहेका मकवानपुरका ७ जना हेटौंडा आइपुगेका छन् । नेपाललाई चिनाउन फागुन ७ गते हेटौंडाबाट विश्व साइकलयात्रामा निस्किएका हेटौंडाका चर्चित युवा कोरियोग्राफर विक्रम भारतीसहित स्वदेश फर्किएको हो । सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेपछि म्यानमार र युएईमा रहेका उनीहरु अन्य देशमा रहेका भन्दा पहिले स्वदेश फर्किन पाउने भाग्यमानी बनेका थिए ।

कोरोना भाइरसका कारण भएको लकडाउनले विदेशमा फसेका नेपालीको उद्धार गर्ने क्रममा म्यानमार र युएईबाट उनीहरुसहित नेपाली स्वदेश फर्किएको हो । भारतीको टोली ४ हजार १ सय किलोमिटर दुरी पूरा गरी म्यानमार पुगेको थियो । म्यानमार पुगेपछि कोरोना महामारीका कारण उनीहरु म्यानमारको रंगुनमा थिए ।

भारतीले कोरोना महामारी सकिएपछि आफूको साइकलयात्रा जारी रहने बताउनुभयो ।  झण्डै १० महिनामा १३ राष्ट्र घुमिसक्ने लक्ष्यसहित उनीहरुले यात्रा सुरु गरेका थिए । उनीहरुले पहिलो चरणमा हेटौंडाबाट भारत हुँदै, बंगलादेश, म्यानमार, लाओस, थाइल्याण्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया, टिमोर लेस्टे, जापान र कोरिया यात्रा गर्ने लक्ष्य बनाएका थिए ।

पहिलो चरणमा सरकारले शुक्रबार म्यानमारमा रहेका नेपालीहरुलाई उद्धार गरेको हो । म्यानमारमा रहेका २६ नेपाली म्यानमार सेनाको एयरफोर्समार्फत् शुक्रबार काठमाडौं आइपुगेका हुन् । सरकारले बनाएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्धार गरेर ल्याइएका सबैलाई वसुन्धरामा रहेको यति पार्टी प्यालेसमा रहेको होल्डिङ सेन्टरमा राखिएको छ ।

उनीहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टिनमा पठाइने बताइएको छ ।युएईबाट नेपाल आएकामध्ये ६ जना मकवानपुरे शनिबार हेटौंडा आइपुगेका छन् । आएकामध्ये २ जना हेटौंडा उपमहानगरपालिकाका तथा मकवानपुरगढी, थाहानगर, मनहरी र भीमफेदी गाउँपालिकाका एक/एक जना छन् ।

शुक्रबार नेपाल आइपुगेका उनीहरु शनिबार हेटौंडा आइपुगेका हुन् । उनीहरुलाई हेटौंडा तथा आफ्नो स्थानीय तहको क्वारेन्टिनमा राखिने भएको छ । हाल उनीहरुलाई हेटौंडा–१०, गोरक्षेश्वरमा रहेको क्वारेन्टिनपरिसरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्