स्थगित इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक



लन्डन, एजेन्सी ।

कोरोना भाइरसका कारण गत मार्च महिनादेखि स्थगित इंग्लिस प्रिमियर लिग फुटबलको बाँकी म्याचहरुको खेल तालिका सार्वजनिक गरिएको छ ।

योसँगै इंग्ल्यान्डमा तीन महिनापछि फुटबल हुने निश्चित भएको हो । जसअनुसार जुन १७ मा दुई वटा म्याच हुने भएको छ । पहिलो खेलमा साविक विजेता म्यानचेस्टर सिटी र आर्सेनलबीच तथा दोस्रो खेल एस्टोन भिल्ला र सेफिल्ड युनाइटेडबीच हुनेछ ।

त्यस्तै, जुन १९ मा टोटनह्याम हट्सपरले म्यानचेस्टर युनाइटेडकोे सामना गर्नेछ । त्यसैगरी लिग लिडर लिभरपुलले जुन २१ मा एभर्टनसँग खेल्नेछ । म्यानचेस्टर सिटीले ९ दिनका बीचमा तीन खेल खेल्ने तालिका छ । सिटीले जुन १७ मा आर्सेनलसँग खेल्नेछ। त्यस्तै, जुन २२ मा बर्नली र जुन २५ मा चेल्सीसँग तेस्रो म्याच खेल्ने तालिका रहेको छ ।

हालको अवस्थामा दोस्रो स्थानको म्यानचेस्टर सिटीले लिग लिडर लिभरपुलभन्दा एक म्याच कम खेलेकाले सोही अवधिमा अन्य टिमले तीन म्याच खेल्दा सिटीले भने चार म्याच खेल्नेछ । सिटीले जुलाई २ तारिखमा लिग लिडर लिभरपुलसँग खेल्ने तालिका छ ।

लिग तालिकामा अनुसार लिभरपुल २९ खेलपछि ८२ अंक जोडेर शीर्ष स्थानमा छ । त्यस्तै, २८ खेलबाट ५७ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । यदि लिभरपुलले अबका दुई खेल मात्र जितेपनि प्रिमियर लिग च्याम्पियन बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्