झापामा प्रहरीकै मिलेमतोमा तस्करी



न्युज अफ नेपाल, भद्रपुर ।

स्थानीय प्रहरीको मिलेमतोमा झापाका विभिन्न नाकाबाट तस्करी मौलाएको छ । नेपाल भारत सीमा नाका बन्द भएपनि भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ र रजनीगंन्धा नेपाल छिर्नु भनेको प्रहरी र कारोबारीबिचको मिलोमतोमा तस्करी भइरहेको हो । भद्रपुरको मेची पुल, घोडामारा, गणेश मन्दिर, देवीवस्ती, मसानघाट, चाचा बगान, डाँगीबारी , मेचीपारि , हल्दीबारीको राजगढ ,जलथल लगायतको क्षेत्रबाट तस्करी मौलाएको स्थानीयवासीको दाबी छ । सो क्षेत्रका प्रहरीलाइ खुसी पारेर सामान नेपाली बजारमा भित्रइरहेका छन् ।

वडा प्रहरी कार्यालय भद्रपुरको प्रत्यक्ष निगरानीमा रहेका भद्रपुर क्षेत्रका केही नाकाबाट भित्रिएको सामान जिल्ला प्रहरीको टोलीले दुइदिन अघि बरामद गरेपछि स्थानीय प्रहरीकै सेटिङमा तस्करी भइरहेको पुष्टि भएको हो । नाकामा डियुटीमा खटिएका सशस्त्र र जनपथ प्रहरीकै सेटिङमा सामान भद्रपुर बजार आएको पाइएको छ ।

नेपाली बजारमा सुर्ती अभाव भएपछि कारोबारी समूहले अहिले अन्य धन्दा छाडेर सुर्तीजन्य पदार्थ र रजनीगन्धा प्रहरीकै सेटिङमै धमाधम भित्राइरहेका छन् ।

स्थानीय प्रहरीको मिलोमतोमा तस्करी भइरहेको गुनासो आएपछि प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले सुर्तीजन्य पदार्थ र रजनीगंन्धाको कारोबार गर्ने व्यक्तिको एक हप्ता यता देखि खोजी शुरु गरेका थिए । केहिदिनको सुराकपछि प्रहरीले बिहीबार ठुलो परिमाणमा सुर्तीजन्य पदार्थ, रजनीगंन्धासहित लत्ताकपडा बरामद गर्न सफल भएको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

विशेष सुराकीको आधारमा प्रहरीले गोदाममा छापा मार्दा बिलबिजक नभएको ठुलो परिमाणको लत्ताकपडा भद्रपुर ६ को गोदामबाट रजनीगन्धा, तुलसीसहित २१ बट्टा र ६ रोल थान कपडा र भद्रपुर ५ स्थित बसपार्क नजिकैको गोदामबाट पाँच पोका कपडा बरामद गरेको थियो ।

बरामद गरिएका रजनीगन्धा र तुलसी ३९ हजार ६९० रुपैयाँ र विभिन्न किसिमका कपडा ३ लाख ८७ हजार ६ सय मूल्य तोकेर कारोबारी असोक सहनीलाई समेत भद्रपुर भन्सार कार्यालय बुझाएको छ । त्यसैगरी जलथलबाट एकथान मोटरसाइकल सहित वावा खैनी समेत इलाका प्रहरी कार्यालय सुरुङ्गाले बरामद गरिसकेको छ ।

प्रहरीले कारोबारी सहनीसहित ४ लाख २७ हजार मूल्य तोकेर सामान बुझाएको भद्रपुर भन्सारका कर्मचारी विकास दाहालले जानकारी दिनुभयो ।

यता भन्सारले सामानको विषयमा सहनीमाथि छानबिन सुरु गरेको छ । सहनीमाथि दुई वटा मुद्दामा अनुसन्धान भइरहेको कर्मचारी दाहालले बताउँनुभयो । प्रतिबन्धित भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ र रजनीगंन्धाको एउटा मुद्दा र अवैध कपडाको अर्को मुद्दा दर्ता गराई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्