मालिक र ऊ



-दीपक खनाल

 तीन कान्लाको बीचमा
मालिक र उसको घर छ
मालिक ‘उच ‘
उसको ‘नीच ‘थर छ

मालिक ‘जात’

ऊ ‘कुजात’
मालिकलाई उसको आउन कुनै रोक छैन
उसलाई मालिककहाँ जान सधैँ रोक छ ।

आफ्नै तानामा
भोकको रनामा
यात्रारत यात्री
मालिककोमा दिनहुँ भातको भात छ ।

उसको पेटमा सधैँ छेपारो नाच्छ
एक गाँस आँटोका लागि
एक सरो भोटोका लागि

मालिककै बारीमा रगत, पसिना पोख्छ
रुखो माटो मलिलो पार्छ
तर
मालिककोमा खीरै खीर पाक्दा
उसको मनमा पीरै पीर पाक्छ ।
मालिककोमा भोगविलासको जुलुस लाग्दा
चिन्तै चिन्ताको बादलले उसको भने झुपडी ढाक्छ ।

बालुवामा उम्रिएर पनि
दर्शनढुंगाहरुको कापमा
चेपिएरै फुल्न नपाएको फूल ऊ
जसको गाला चाउरिएको छ यौवनमै
जसको छाला दाउरिएको छ जोवनमै
बन्दगी राखेर जिन्दगी बाँचिरहेछ ।

जसको आफ्नै हाँसो छैन
पीडा पीडैमा हाँसिरहेछ ।
मानौँ, दाम्लो हो ऊ
जसले जहाँ पनि बाँधे हुन्छ ?

मानौँ, स्वीच हो ऊ
जतिखेर पनि अन अफ गरे हुन्छ ?

त्यसैले
तुरुन्त बोल
ए संविधानवादी असंवैधानिक मालिकहरु
छिटो मुख खोल
ए धर्मभीरु अधर्मी पण्डितहरु
आफ्नै मुक्तिका लागि ऊ जुट्छु भन्नु
कुन खालको आतंकवाद हो ?

आफ्नै उन्मुक्तिका लागि ऊ उठ्छु भन्नु
कस्तो प्रकारको अपराध हो ??

रचनाकाल, २०५६ साल वैशाख, भद्रबन्दी

प्रतिक्रिया दिनुहोस्