बेनी नगरपालिकामा सञ्चालित योजनाको अनुगमन जारी



प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका अन्तर्गत विभिन्न वडामा सञ्चालित योजनाहरुको स्थलगत अनुगमन जारी रहेको छ । यसैक्रममा शुक्रबार बेनपा–३, भकिम्ली र ४ नम्बर वडा सिङ्गाको विभिन्न स्थानमा चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका विकासे योजनाको स्थलगत अनुगमन गरिएको छ ।

नगर प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सन्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीसहितको एक टोलीले वडा तहमा सञ्चालित योजनाहरुको अनुगमन गरेको बेनी नगरपालिकाले जनाएको छ । उक्त टोलीमार्फत खरको छाना विस्थापन योजना थामडाँडा, आमा समूह भवन निर्माण, थामडाँडा सोता माटरबाटो, राखु भकिम्ली सडक योजना तथा सिङ्गामा सञ्चालित खोप कार्यक्रमको अनुगमन गरेको हो ।

सिङ्गामा मात्रै २२ विपन्न घर परिवारको खरको छाना विस्थापन गरी जस्तापाताले घर छाउने कार्यक्रमलाई तीव्र रुपमा अगाडि बढाइएको छ । यसैगरी बेनपा–३, भकिम्लीको राखु क्षेत्रमा उत्पादित सुन्तला बजारमा ढुवानी गर्नका लागि सडकको स्तरोन्नति गर्न चालु वर्षमा पाँचलाख रुपैयाँको काम भैरहेको छ । बेनी नगरपालिकामार्फत वडा तहमा सञ्चालित पूर्वाधार निर्माणतर्फका योजनाहरुको कार्यान्वयनको अवस्थाबारे जानकारी लिने उद्देश्यले स्थलगत अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।

अहिले राखु–भकिम्ली सडकखण्डको भिरालो ठाउँमा ग्याबिन जाली लगाउने, घुम्तीमा ढलान गर्नेलगायत सडक स्तरोन्नतिको काम अघि बढेको बेनी नगरपालिकाका असिस्टेन्ट सव–इन्जिनियर चन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ । सिङ्गाको थामडाँडा क्षेत्रमा बालुमखोला सिँचाई आयोजनाको काम पनि भैरहेको छ । बेनी नगरपालिकाले वडास्तरमा जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतासहित भौतिक पूर्वाधार निर्माण र विकासमा जोड दिएको छ ।

बेनपाको सिंगा र भकिम्ली क्षेत्रमा गरिएको स्थलगत अनुगमन कार्यक्रममा बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतम, सिङ्गाका वडा सदस्इ देवबहादुर घले तथा पत्रकारसहितको सहभागिता रहेको थियो । अनुगमन टोलीले मङ्गलबार बेनपा–१, रत्नेचौर क्षेत्रमा सञ्चालित विकासे योजनाहरुको समेत स्थलगत अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्