आईओएमको निमित्त डिनमा प्राडा राजेन्द्र गुरागाईं



न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिन पद खालिभएसँगै संस्थानका सहायक डिन प्रा.डा.राजेन्द्र प्रसाद गुरागाईलाई निमित्त डिनका रुपमा जिम्मेवारी दिईएको छ ।

त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले डा गुरागाईंलाई निमित्त डिनको जिम्मेवारी दिनुभएको हो । डा गुरागाईं त्रिवि शिक्षण अस्पताल नाक, कान, घाँटी विभागका प्रमुख नाक, कान, घाटी रोग विशेषज्ञ समेत हुनुहुन्छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा जगदिशप्रसाद अग्रवालको उमेर हदका कारण स्वेच्छिक अवकाश पाएपछि डिनको पद खाली रहेको थियो ।

साढे तीन वर्षअघि आईओएमको नेतृत्व सम्हाल्नुभएका डा.अग्रवालको ६३ वर्षको उमेर हदका कारण बुधवार देखि कार्यकाल सकिएको हो । उहाँलाई २०७३ साल मंसीर १८ गते ४ वर्षका लागि आइओएमको डीनमा नियुक्त गरिएको थियो ।

उहाँलाई वरिष्ठताका आधारमा सरकारले डिन नियुक्त गरि डा.गोविन्द केसीलाई अनसन तोडाएको थियो । त्यतिबेला डा.केसीले चिकित्सा शिक्षा र जनस्वास्थ्य सुधार लगायत आईओएमको डिन वरिष्ठताको आधारमा नियुक्त गर्नुपर्ने माग राख्दै आमरण अनसन गरिरहनुभएको थियो ।

डा.अग्रवालले पनि डिन कार्यालयमा आयोजित विदाई कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वरिष्ठताका आधारमा डीन नियुक्त गर्न त्रिवि नेतृत्व समक्ष आग्रह गर्नुभएको थियो ।

डा.अग्रवालले २०४६ साल असोजमा आइओएमबाटै सेवा शुरु गरि ३० वर्ष निरन्तर सोही संस्थानमा काम गरि अवकाश पाउँनुभएको हो । शैक्षिक संस्थाबाट अवकास पाए पनि आफ्नो सकृय जीवन बिरामीको सेवामा विताउने डा.अग्रवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्