३८ पत्रकारसहित जनप्रतिनिधि र कर्मचारीको कोरोना बिमा



न्युज अफ नेपाल, तनहुँ ।

कोभिड १९ को संक्रमण फैलिएसँगै जिल्लाका क्रियाशील पत्रकारको कोरोना बिमा गरिएको छ । व्यास नगरपालिकाले कोभिड १९को संक्रमणमा जोखिम मोलेर अग्रपंक्तिमा बसी काममा खटिने क्रिायशील पत्रकारको कोरोना बिमा गरेको हो ।

शुक्रबार नगरपालिकाले ओरियन्टल जनरल इन्स्युरेन्स कम्पनीसँग ३८ पत्रकारको बिमा गरिएको नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले बताउनुभयो । मेयर न्यौपानेका अनुसार आफ्नो ज्यानै जोखिममा राखेर सूचना प्रवाहमा खटिएका पत्रकारको एक/एक लाखको कोरोना बिमा गरिएको हो । ‘स्थानीय तह सबैको अभिभवाक हो, विशेष गरी पत्रकार जोखिम अवस्थामा पनि पत्रकारको संरक्षणमा अभिभावक जिम्मेवारी लिनुपर्ने हुन्छ, उनीहरुको सुरक्षा गर्नु हाम्रो दायित्व हो,’ उहाँले भन्नुभयो ।

पत्रकारका साथै नगरपालिकाका स्वास्थ्य, सुरक्षा, सरसफाईका कर्मचारी, चालक र जनप्रतिनिधिको बिमा गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जनप्रतिजिनिधिले व्यक्तिगत बिमा गरेका छन् भने पत्रकार, स्वास्थ्य, सुरक्षा, सरसफाईका कर्मचारी र चालकको नगरपालिकाको कोषबाट बिमा गरिएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष ओमकार आचार्यले सदरमुकाममा रही खटिएका ३८ पत्रकारको व्यास नगरपालिकाले बिमा गरेको बताउनुभयो । ‘जिल्लाका क्रियाशील पत्रकारको बिमा गर्ने तयारी भइरहेको छ, सबै पत्रकारको सुरक्षाका लागि पनि बिमा आवश्यक हुन्छ,’ अध्यक्ष आचार्यले भन्नुभयो ।

३८ पत्रकार, नगरपालिकाका ७२ जनप्रतिनिधि, स्वास्थ्यकर्मी १००, नगर प्रहरी र सरसफाईका कर्मचारी २०/२०, सवारी चालक ५ जना गरी २५५ जनाको बिमा गरिएको नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्